Comments Add Comment

प्रदिपको जवाफः ‘अनुपको सिफारिशदेखि पहिरनको ट्रोलसम्म’


नायक प्रदिप खड्का अहिले सर्वाधिक माग भएका कलाकार हुन् भन्दा फरक पर्दैन । प्रदिपले बोलेका कुराहरु मिडियामा महत्वका साथ समाचार बन्छन् । चलचित्र ‘लिलिबिली’सँग जोडिएपछि आयोजित विभिन्न कार्यक्रममा प्रदिप एकपछि अर्को रुपमा विवादित बने ।

पहिलो पत्रकार सम्मेलनमा बडिगार्डसहित उपस्थित भएपछि विवादमा मुछिएका प्रदिप अर्को पत्रकार सम्मेलनमा हिरोइनहरुको बारेमा बोलेपछि बढी विवादित बने । यसैले, चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा प्रदिप केहि सम्हालिए । विवादबाट टाढा बस्न नै उत्तम हुन्छ होला भनेर उनले सम्हालिएको जवाफ दिए ।

प्रदिपले पत्रकार सम्मेलनमा सोधिएका ५ प्रश्नमा दिएको जवाफ यस्ता छन्ः

१. प्रश्नः तपाई चलचित्रमा अरु हिरो भएको खण्डमा काम नै गर्दिन भन्नुहुन्थ्यो, यसपटक त २ हिरोहरुको इन्ट्री भएको छ, कसरी काम गर्नुभयो ?

प्रदिपको जवाफः मैले कहिल्यै पनि अरु नायकसँग काम गर्दिनँ भनेकै छैन । तपाइलाई जानकारी होला, सविन श्रेष्ठ दाई भोजपुरी चलचित्रका लागि बेलायतमा हुनुहुन्थ्यो । मैले नै उहाँलाई काम गराउनुपर्छ भनेर दबाब दिएको थिएँ ।

हामीले, अर्कै कलाकार राखेर केहि दृश्य खिचिसकेका थियौ । तर, मेरै आग्रहमा उहाँले काम गर्नुभएको हो । यस्तै, नायक अनुप विक्रम शाहीलाई पनि मैले नै, काम गराउनुपर्छ भनेर भनेको हुँ । यो रोलमा अनुप दाई बाहेक अरु फिट नै हुँदैन भनेर मैले नै भनेको हुँ । दुबै नायकलाई चलचित्रमा मैले नै सिफारिश गरेको हुँ । यसैले अरुसँग काम नै गर्दिन भन्ने त कुरै आउँदैन ।

२. प्रश्नः के तपाइले सोचेजस्तो ‘लिलिबिली’को ट्रेलर बनेको छ ?

प्रदिपको जवाफः हामीले जुन सोचले कथा तयार पारेका थियौ, त्यो स्तरको चलचित्र बनेको छ । ट्रेलरले त दर्शकलाई चलचित्रप्रति उत्साहित बनाउने हो । हाम्रो सबै टिमले निकै मिहिनेत गरेको छ । म खुशी छु । ट्रेलरले दर्शकलाई कति आकषिर्त गर्छ भन्ने भोलीका दिनमा थाहा होला ।

३. प्रश्नः चलचित्रमा अनुपविक्रम शाही भएको खण्डमा नायकहरु नै छायाँमा पर्छन् भनिन्छ, के तपाई त्यो चुनौती महशुश गर्दै हुनुहुन्छ ?

प्रदिपको जवाफः तपाइहरुलाई थाहा नै होला, साउथको चलचित्रमा खतरनाक भिलेन हुन्छन् । तर, अन्तिममा जित्ने त भिलेनले नै हो । त्यसैले फाइदा मलाई नै छ । यसैले छानी छानी राखेको ।

४. प्रश्नः चलचित्रको गीत सार्वजनिक भएपछि तपाइको पहिरनलाई लिएर ट्रोल नै बन्यो, के पहिरन एउटै थियो ?

प्रदिपको जवाफः त्यो फरक पहिरन थियो । फेरि, ड्रेस डिजाइनरले जे गर्नुभयो त्यसमा मैले हस्तक्षेप नै गरिनँ । मेरो चलचित्रमा पृष्ठभूमी खासै छैन । यसैले, मेरो पहिलेको हिट चलचित्रसँग जोड्दा चलचित्रलाई नै फाइदा होला भनेर ‘प्रेमगीत’को पहिरन शैली ल्याउन खोजिएको हो ।

५. प्रश्नः तपाइले नायिकाहरुको बिषयमा दिएको एउटा बयानले बिबाद खडा गर्‍यो, साच्चै तपाइले कुन नायिकालाई भन्न खोज्नु भएको थियो ?

प्रदिपको जवाफः मैले भने नी, म पहिरनमा त हस्तक्षेप गर्दिनँ, नायिकाको त कुरै नगरौ । मेरो काम आफूले पाएको भूमिकालाई राम्रोसँग निर्वाहा गर्ने हो । त्यो बाहेक अन्य कुरामा ध्यान त दिन्छु, तर हस्तक्षेप गर्दिनँ भन्न खोजेको थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment