Comments Add Comment

इतिहासमै पहिलो पल्ट ४४ घण्टामा सेयर बाँडफाँट, २७ हजारले पाए आरम्भ माइक्रोको सेयर


२३ फागुन, काठमाडौं । नेपाली इतिहासमै पहिलो पटक ४४ घण्टामा सेयर बाँडफाँट भएको छ ।  आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर सबैभन्दा कम समयमा बाँडफाँट गरेर नयाँ रेकर्ड कायम गरिएको हो ।  कम्पनीको फागुन २१ गते (बैंकिङ समय पश्चात  ) सेयर निष्कासन बन्द भएको हो । बुधवार एक बजे सेयर बाँडफाँट भएको हो ।

अनिवार्य सी आस्वा (बैंक खातामा रहेको निक्षेपबाटै सेयरमा आवेदन गर्न सकिने प्रणालीलाई एकिकृत गरिएको व्यवस्था) को कारण यो सम्भव भएको छ ।

‘पहिले सेयर बाँडफाँट प्रक्रियामा ६ महिनासम्म लाग्ने गरेको थियो, अहिले हामीले भारतमाभन्दा पनि छिटो सेयर बाँडफाँट गर्न सम्भव भएका छौं,’ धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले भने । भारतमा ६ दिनमा सेयर बाँडफाँट हुने गरेको छ ।

नेपालमा आस्वा प्रणाली आएपछि बाँडफाँट अवधि घटेर करिब ३ महिनाको अवधिमा झरेको थियो । अहिले भने सेयर जारी बन्द भएको दुई दिनभित्रै बाँडफाँट गर्न सकिने भएको हो ।

कम्पनीको सेयर २७ हजार ४८ जनाले मात्र पाउने भएका छन् । उनीहरुले १० कित्ताको दरमा सेयर पाएका छन् । उनीहरु लटरी प्रथाबाट छानिएका हुन् । धितोपत्र बोर्डले सेयरमा लगानी गर्ने सबैले कम्तिमा १० कित्ता पाउनुपर्ने व्यवस्था गरेको छ । तर, कम्पनीले जारी गरेकोभन्दा ४३.८३ गुणा धेरै रकमको आवेदन परेको थियो ।

कम्पनीले एक सय अंकित मूल्यका दुई लाख ९४ हजार कित्ता सेयर जारी गरेको थियो । यसमध्ये १४ हजार सात सय कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने आठ हजार आठ सय २० कित्ता कर्मचारीको लागि थियो ।

सर्वसाधारणको लागि बाँकी रहेको दुई लाख ७० हजार कित्ता सेयरमा एक करोड १८ हजार कित्ता सेयर माग भएको थियो । एक लाख ८५ हजारले सेयर माग गरेकोमा तीन सय ८५ जनाबाट दोहोरो माग परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment