Comments Add Comment

इन्द्रबहादुर राई : जसले भारतलाई नेपाली भाषा सिकाए


हन हौ, धेरैले पो फोन गर्नु भो । साहित्यकार पनि सेलिब्रेटी भएछन् ।’

मंगलबार साँझ चर्चित साहित्यकार इन्द्रबहादुर राईको देहावसान भएपछि उनका सहकर्मी एवं ‘तेस्रो आयाम’ आन्दोलन मध्येका एक मात्र जीवित श्रष्टा बैरागी काँइलालाई पत्रकारले लगातार फोन गरे ।

दार्जीलिङसँग सम्बन्ध स्थापित नभएका सञ्चारकर्मी र नेपाली साहित्यकारका लागि इन्द्रबहादुर राईका विषयमा बोल्ने एकमात्र स्रोत थिए बैरागी काइँला । सामाजिक सञ्जालमा आएका खबर पुष्टि गर्न पनि नेपाली साहित्यले काइँलाकै भर परिरहेको थियो ।

‘तेस्रो आयाम’ का प्रणेतामध्ये दोस्रो प्रणेताको पनि निधन भएको खबर सामाजिक सञ्जालमा आउने वित्तिकै विश्वभरका नेपालीभाषी प्रेमीले श्रद्धाञ्जली व्यक्त गरे ।

नेपाली साहित्यका सामान्य पाठकदेखि साहित्यकारसम्मको श्रद्धाञ्जलीले सामाजिक सञ्जाल भरिएका बेला भारतका धेरैजसो राज्यबाट पनि राईले नेपाली भाषा र साहित्य लगाएको गुनको विषयमा चर्चा भयो ।

पश्चिम बंगालको विश्वविद्यालयमा पढाएका कारण राई धेरै भारतीय विद्यार्थीका गुरु पनि थिए । उनीहरुबाट पनि आफ्नो पि्रय गुरुको सम्झना भयो । त्यति मात्र होइन, विश्वभरि छरिएका नेपालीहरुले पनि राईलाई श्रद्धाञ्जली दिए ।

ट्विटरमा त तेस्रो आयाम ट्रेन्डमा समेत पर्‍यो । राईको सम्झनामा श्रद्धाञ्जली आउने क्रम अहिलेसम्म जारी छ ।

‘इन्द्रबहादुर राई मेरा लागि सामान्य साहित्यकार दाजु मात्र हुनुन्थेन, मेरा लागि प्रेरणा र अभियन्ताका कडी पनि हुनुहुन्थ्यो ।’ बैरागी काइँला भन्छन्, ‘तेस्रो आयामले नेपाली साहित्यमा के भूमिका खेल्यो, त्यसको ब्याख्या भइरहनेछ, तर आज म जे छु, त्यसमा उहाँको योगदान निकै ठूलो छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भैसकेका बैरागी काँइलाले समेत इन्द्रबहादुरका विषयमा यस्तो धारणा राख्छन् भने अरु साहित्यकारले उनको योगदानको चर्चा गर्नु अस्वभाविक होइन । तर, पनि इन्द्रबहादुर राईलाई यति धेरै सम्झना गरिनुका पछाडि कारण के छ, यसको पनि खोजी गर्नु आवश्यक छ ।

भारतीय नेपाली साहित्यकारसँग समेत नजिक रहेका अविनाश श्रेष्ठ भन्छन्, ‘इन्द्रबहादुर राईसँग मेरो ४० वर्ष पुरानो सम्बन्ध छ र उहाँका उतारचढाव मैले अनुभव गरेको छु । खासमा उहाँ अंग्रेजी भाषाका प्रोफेसर भएका कारण उहाँका हजारौं विद्यार्थी छन् । भारतमा नेपाली साहित्यको कलम चलाउने, भारतमा नेपाली भाषालाई मान्यता दिलाउन नैतिक लडाईं लड्ने र नेपाली साहित्यमा गम्भीर कृति सिर्जना काममा एकसाथ लाग्नुभएको थियो । त्यति मात्र होइन, साहित्यलाई विज्ञानका स्तरमा पुर्‍याउनु पर्छ भनेर उहाँले विभिन्न सिद्धान्तको प्रतिपादन गर्नु भएको थियो । संयोगवस ती सबै सिद्धान्तको प्रयोग नेपाली भाषामा भयो । यी सबै कारणले उहाँलाई धेरैले सम्झना गरेका हुन् ।’

सन् १९२७ सालमा दार्जीलिङको सामान्य मजदुर परिवारमा जन्मिएका इन्द्रबहादुर राई नेपाल र भारतमा समेत नेपाली साहित्यलाई नयाँ दिशा दिने श्रष्टा हुन् ।

सामान्य परिवारमा जन्मिए पनि दार्जीलिङको वातावरणमा उनले राम्रो शिक्षा लिने अवसर पाए । जुनबेला नेपाली साहित्यले आधुनिक गोरेटो समात्दै थियो, दार्जीलिङमा उनी विश्व साहित्यमा आएका नयाँ शैली भित्राउन लागिपरेका थिए ।

सन् १९६१ मा ‘विपना कतिपय’ कथा संग्रहबाट उनले साहित्यमा नयाँ स्वाद पस्किए । त्यसको तीन वर्षपछि आएको उपन्यास ‘आज रमिता छ’ ले नेपाली आख्यानमा नौलो स्वाद पस्कियो । भाषा, शैली र प्रस्तुतिमा भिन्न स्वाद पस्किएको यो उपन्यासलाई मञ्जुश्री थापाले अंग्रेजीमा अनुवाद गरेकी छन् ।

त्यसपछि कठपुतली मन -१९८९) निबन्ध संग्रह, सेतो ख्याकको बनोट र बुनोट, समालोचना, कथास्था (कथा संग्रह), पहाड र खोलाहरु, निबन्ध संग्रह, लीला प्रस्तावना जस्ता पुस्तक लेखे ।

यीबाहेक उनका आधा दर्शन समालोचनाका पुस्तक पनि प्रकाशित छन् । उनका कतिपय कृति अझै प्रकाशनको संघारमा छन् ।

‘इन्द्रबहादुर राई सामान्य साहित्यकार होइनन्, नेपाली साहित्यका संस्था अझ भनौं खम्बा हुन् ।’ प्राध्यापक एवं समालोचक महेश पौडेल भन्छन्, ‘सामाजिक सञ्जालमा उनका विषयमा जति चर्चा भए, भइरहेका छन्, त्यसका पछाडि म तीनवटा कारण देख्छु ।’

महेश पौडेलका विचारमा भारत, नेपाल र विश्वभरि छरिएका नेपाली भाषीले इन्द्रबहादुर राईको सम्झना गर्नुको पहिलो कारण उनको जेष्ठता हो । ९० वर्ष पुगिसक्दा इन्द्रबहादुरको प्रभावमा परेर हजारौं साहित्यकारले तेस्रो आयामको प्रभावमा साहित्य कोरे ।

यस्ता लेखक नेपाली भाषी नभएर गैरनेपालीभाषी साहित्यकार पनि थिए । जेष्ठता र श्रेष्ठताका कारण इन्द्रबहादुर राईको निधनमा एकसाथ सामाजिक सञ्जाल शोकाकूल भएको छ ।

इन्द्रबहादुर राईको निधनमा कविले आफ्नो अभिभावक गुमेको महसुस गर्‍यो । किनभने, उनले नेपाली कविताको समालोचनामा यस्तो दृष्टिकोणमा दिएका छन्, जसले कविता लेख्नेहरुले आफ्नो लेखनको मार्गदर्शन पाउँछन् ।

इन्द्रबहादुरको निधनमा कथा लेखकले आफ्नो अभिभावक गुमेको महसुस गरेका छन् । उनका विपना कतिपय, कथास्था जस्ता कथा पढेर हुर्केका पुस्ताले राईलाई आफ्नो मोडल मानेर अघि बढेको थियो ।

इन्द्रबहादुरको निधनमा उपन्यासकारहरुले आफ्नो अभिभावक गुमेको महसुस गरे । उनका ‘सपना कतिपय’ एउटै तर धेरैका लागि मानक उपन्यास हो ।

इन्द्रबहादुरको निधनमा समालोचकहरुले पनि आफ्नो अभिभावक गुमेको महसुस गरे । उनका आधा दर्जन जति समालोचनाका कृतिले समालोचना गर्ने ढंग दिएर गएका छन् ।

इन्द्रबहादुरको निधनमा नेपाली-अंग्रेजी साहित्यका शिक्षकहरुले पनि अभिभावक गुमेको महसुस गरे । उनका कृति अध्ययन गरेर आफ्नो जागीरे जीवन व्यतीत गरेका शिक्षकहरुको समवेदना पढ्दा यो स्पष्ट हुन्छ ।

सबैभन्दा ठूलो जमात उनका पुस्तक पढ्ने पाठक र विश्वविद्यालयका विद्यार्थीहरु थिए । लाखौं विद्यार्थीले इन्द्रबहादुर पढेर आफ्नो लेखनी सुधारेका छन् ।

दार्जीलिङ बसेर उनले नेपाली भाषा र साहित्यका लागि गरेको कामका लागि पनि उनलाई सम्झनेहरु धेरै छन् । त्यति मात्र होइन, विश्वभरि छरिएर रहेका नेपालीहरुले समेत उनलाई कालजयी श्रष्टाका रुपमा सम्झिएका छन् ।

‘नेपाली साहित्यमा नयाँ धार ल्याउने, स्थापित गर्ने र प्रचार गर्ने काम पनि उनले गरे । महेश पौडेल भन्छन्, ‘तेस्रो आयाम’ हुँदै लीला लेखनसम्म उनको योगदान नेपाली साहित्यले सधैँ सम्झिरहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment