Comments Add Comment

मलेठ पुगेर महतोले भने-५० लाखको बाचा बिर्सिएको छैन

२३ फागुन, सप्तरी । एक बर्षअघि पाँच जनाको ज्यान जाने गरी भएको मलेठ घटनालाई मधेस केन्द्रित दलका नेताहरुले सम्झेका छन् । उनीहरुले पार्टी एकतादेखि मधेस सरकार बन्नुसम्मको मुख्य श्रेय मलेठ घटना नै भएको बताउँदै सहिद परिवारलाई हरेक किसिमको सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

श्रद्वाञ्जलीसभामा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, अर्का नेता राजकिशोर यादव, प्रदेश २ का मन्त्रीहरु जितेन्द्र सोनल, शैलेन्द्र साह, नवलकिशोर साहसहित राजपा र फोरम नेपालका नेताहरुले सहभागिता जनाएका छन् ।

उनीहरुले मलेठ घटनाका साथै मधेस आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको परिवारको भरणपोषण, रोजगार दिने जिम्मेबारी आफूहरुको काँधमा आएको बताए । नेताहरुले संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहने पनि बताएका छन् ।

५० लाखको बाचा बिर्सेका छैनौं

कार्यक्रममा राजपा नेता राजेन्द्र महतोले जनता भावना अनुसार चल्दा मधेसी दलहरु प्रदेश २ मा सरकार चलाउन र केन्द्रमा २ तिहाईको निणर्ायक बनेको बताए । ‘जनताले एक हुन पहिलो संविधानसभाको निर्वाचनमा पनि भन्यो, दोस्रोमा पनि भन्यो, तर आफूहरु बिभिन्न खेमा भएर लडिरह्यौं’ उनले भने, ‘मलेठ घटनापछि भएको श्रद्वाञ्जलीसभामा जनताहरुले एक हुन दिएको म्यान्डेड पूरा गरेपछि अहिले राम्रो अवस्था आएको छ ।’

उनले मधेस आन्दोलनका सहिद परिवारको जिम्मेबारी प्रदेश सरकार र मधेशी दलहरुको भएको बताए । ‘न नियम, न कानुन, न कुर्सी टेबल केहि नभएको अवस्थामा पनि मधेश सरकारले पहिलो निर्णय नै शहीद परिवारको हकमा गरेका छन्’ महतोले भने, ‘यो भावना जाग्नु ठूलो कुरा हो । प्रदेश सरकार व्यवस्थित भएसँगै भरण, पोषण र बालबालिकाको शिक्षादिक्षाका लागि काम शुरु गर्छौं ।’

सहिद परिवारको हकमा शहीद परिवार कल्याण कोष स्थापना गर्ने बिषयमा छलफल भइरहेको बताए । उनका अनुसार कोषमा सांसद, मन्त्रीसहित लाभका पदमा जानेहरुश्रको पहिलो पारिश्रमिक लिएर अक्षय कोष स्थापना गरिने बताए ।

तत्कालिन मधेसी मोर्चाले घोषणा गरेको सहिद परिवारलाई ५० लाख दिने बाचा आफूले नबिर्सेको महतोले बताए । ‘५० लाखबारे मलाईलाई स्मरण छ’ उनले भने, ‘प्रदेश सरकार व्यवस्थित हुँदै गएपछि हामी त्यो कुरा पनि कार्यान्वयन गर्‍छौं ।’

गल्ती सुधार्ने मौका यही हो

नेता महतोले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २ तिहाई नभएको भन्दै संविधान संशोधनमा लाचारी देखाएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाई पुर्‍याउन समस्या नभएको भन्दै उनले भने, ‘ओलीजी २ तिहाई बहुमतको नजिक हुनुहुन्छ, हामी पनि सहयोग गर्‍छौं । संविधान संशोधन गरेर विगतका गल्ती, त्रुटीहरुलाई सच्चयाएर ओलीजीलाई देशलाई अगाडि बढाउनु आवश्यक छ ।’

मुलुकमा यसअघि ६ पटक संविधान बनेको चर्चा गर्दै उनले सातौं संविधानले पनि जनताको आवाजलाई सम्बोधन नगरेर फेल भएर जाने बताए ।

कार्यक्रममा राजपा नेता राजकिशोर यादवले मधेसवादी ६ दलको एकताको जस लिए । ‘एक बर्षअघि मलेठ घट्नाको श्रद्वाञ्जलीसभामा मैले जे बोलेको थिएँ, त्यो आज पूरा भएको छ’ उनले भने, ‘त्यही भन्न आज स-शरीर उपस्थित भएको छु ।’

सहिदको परिवारको भरणपोषण र स्मारकमा जोड

कार्यक्रमा प्रदेशका मन्त्रीहरुले मलेठ घटनासहित मधेस आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारको जिम्मा आफूहरुको भएको बताए । उनीहरुले सहिद परिवारका लागि गरिने कामहरुको आ-आफ्नो तरिकाले व्याख्या गरे ।

प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री जितेन्द्र सोनलले प्रदेशको पहिलो बैठकको पहिलो निर्णय नै शहीद परिवारका एक जनालाई रोजगारी दिने गरिएको बताउँदै त्यो चाँडै कार्यान्वयन गरिने बताए । ‘ऐन, नियम बनाएर चाँडै उक्त निर्णय कार्यान्वयन गर्‍छौं’ उनले भने, ‘सहिद र घाइतेका परिवारलाई कार्ड उपलब्ध गराइनेछ । त्यो कार्ड मार्फत् विशेष किसिमको सेवा प्रदान गरिनेछ ।’

मलेठमा ज्यान गुमाएकोहरुको स्मारक प्रदेश सरकारले बनाउने योजना पनि उनले सुनाए ।

भूमिव्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साहले सहिद प्रतिष्ठान बनाउने उद्घोष गरे । सहिद र घाइतेहरुको सूची बनाएर जीवनयापनका लागि सरकारले काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment