Comments Add Comment

यस्तो व्यक्ति, जसलाई चिप्स खाँदा नशा लाग्छ


रक्सी तथा नशालु पदार्थहरु खाँदा मानिसलाई नशा लाग्नु त स्वभाविकै हो । तर यो दुनियाँमा एकजना यस्ता मान्छे छन् जसलाई चिप्स खाँदा नै मात चढ्छ अर्थात् नशा लाग्छ ।

बेलायतका निक हेसलाई नशा लाग्नका लागि रक्सी खानु पर्दैन, चिप्स खाए पुग्छ । हेस अटो ब्रुअरी सिन्ड्रोम नामक रोगबाट ग्रसित छन् ।

यो यस्तो रोग हो जसका कारण कार्बोहाइड्रेटयुक्त जुनसुकै खानेकुरा खाँदा पनि पेटमा गएर रक्सी बन्दछ । पेटमा फर्मेन्टेसन गर्ने ढुसीको अत्यधिक संक्रमण भएका कारण यस्तो हुन्छ । यस्तो समस्या भएका मानिसलाई खानेकुरा खाएपछि रक्सी पिएजस्तै नशा लाग्दछ ।

निकले जब आलूको चिप्स तथा आलूबाट बनेका उच्च कार्बोहाइड्रेटयुक्त खानेकुरा खान्छन् तब उनलाई कडा नशा लाग्दछ । एउटा आलुचिप्स खाँदा उनको रगतमा सात पेग रक्सी खाएजति अल्कोहल मात्रा बन्दछ । बेलुका यस्तो खानेकुरा खाएर सुतेपछि उनलाई यतिधेरै नशा लाग्दछ कि बिहान उठेर बान्ता नगरी हुँदैन ।

निकले अहिले दिनहुँ कम कार्बोहाइड्रेडयुक्त खानेकुरा खाने गर्दछन् भने नियमित रुपमा एन्टी फंगल औषधि पनि सेवन गरिरहेका छन् ।

रोचक कुरा त के भने निकलाई यस्तो समस्या रहेको कुरा सुरुमा उनकै पत्नीलाई पनि पत्यार भएन । सामान्य खानेकुरा खाँदा पनि रक्सी झैँ लागेको भन्ने कुरा पत्याउन सकिनन् उनले । निकले लुकीलुकी रक्सी पिएको हुनसक्ने शंका उनले गर्थिन् । कतै निकले रक्सीका बोतल लुकाएका छन् कि भनेर घरमा यताउति खोज्थिन् । तर अन्तिममा अस्पतालमा गएर चेकजाँच गराउँदा यस्तो समस्या देखिएपछि बल्ल उनलाई आफ्नो पतिको रोगको बारेमा एकिन भयो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment