Comments Add Comment

पोखरा र निजगढ विमानस्थलले बजेट खर्च गर्न सकेनन्


२४ फागुन काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामा परेका निजगढ विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले यस वर्षका लागि सरकारले विनियोजन गरेको रकम नै खर्च गर्न सकेका छैनन् । दुवै आयोजनाका लागि छुट्टाएको लगभग ६ अर्ब ५० करोड बराबरको रकम खर्च नभई बसेको छ ।

अर्थ मन्त्रालयले बुधबार आर्थिक वर्ष ०७४/०७५ को अर्ध वार्षिक समिक्षा गरेको छ । जसमा यी दुईवटै विमानस्थलका लागि छुट्टाएको बजेट खर्च हुन नसकेको उल्लेख गरिएको छ ।

‘दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थलको प्रारम्भीक काम नै सुरु नभएका कारण बजेट खर्च हुन सकेको छैन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा जग्गा प्राप्तीको समस्या छ जसका कारण बजेट खर्च हुन नसकेको देखिएको छ । ’ बजेट अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको छ ।

बैकल्पिक अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थलले पर्यटन क्षेत्रलाई माथि उठाउने विश्वासका साथ निर्माण गर्न लागिएको हो । तर, अहिलेसम्म यसको निर्माणमा खासै प्रगति हुन सकेको छैन ।

चालु आर्थिक वर्ष ०७४/०७५ मा यस आयोजनाका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, बजेट विनियोजन भएको ६ महिनासम्म कुनै पनि रकम खर्च हुन सकेको छैन ।

निजगढ विमानस्थलका लागि अहिले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) को काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै यसका लागि आवश्यक १ सय १० बिगाहा जमीन अधिग्रहणको पनि प्रक्रिया अघि बढाइएको छ । डिटेल डिजाइन तयार गर्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट कार्य पनि प्रक्रियामा नै रहेको छ ।

साथै यस आयोजनाले अहिलेसम्म वन क्षेत्रको रुख कटान गर्नको लागि अनुमति पाएको छैन । जसका कारण पेरिमिटर सडक निर्माण पनि अघि बढ्न सकेको छैन ।

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलका लागि यो वर्ष सरकारले छुट्टाएको ५ अर्ब रकम पनि खर्च हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामा राखिएको यो आयोजना सरकारले सन् २०२१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । सन् २०११ मा नै यो आयोजनाको सुरुवात भए पनि अहिलेसम्म कुनै भौतिक प्रगति हुन सकेको छैन । यस आयोजनाका सरकार र चीनवीच ऋण सम्झौता भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय बिमानस्थलले भने चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब खर्च गरेको छ ।

सन् २०१५ मा आयोजना निर्माणको काम सुरु गरेर सन् २०१७ को डिसेम्बरसम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, आयोजना निर्माणको काम अहिलेसम्म सकिएको छैन । चिनीयाँ ठेकेदार नर्थ वेस्ट सिभिल कम्पनीको ढिलासुस्तीका कारण काम अघि बढ्न सकेको छैन ।

यो वर्ष यस आयोजनाका लागि ७ अर्ब २२ करोड रुपैयाँ विनियोजन भएकोमा विनियोजित बजेटको २७ दशमलव ७० प्रतिशतले हुन आउने २ अर्ब रकम खर्च भएको छ । १ सय ४० बिघाह जग्गाको मुआब्जा बितरण सुृरु भइसकेको छ भने थप २ सय ८८ बिगाह जग्गाका लागि पनि आयोजनाले प्रक्रिया अघि बढाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment