Comments Add Comment

बैंकर महिलाः जोसुदादेखि अनुपमासम्म


२४ फागुन, काठमाडौं । अन्य क्षेत्रमा जस्तै नेपाली बैंकिङ क्षेत्रमा पनि पुरुषकै बर्चश्व छ । बैंकिङ इतिहास खोतल्दा केही वर्षअघिसम्म एक मात्र महिला नेतृत्वमा थिइन्, जोसुदा सैंजु ।

कुनै पनि बैंकको प्रमूखको जिम्मेवारी सम्हाल्ने उनी एक्ली महिला थिइन् । एच एन्ड बी डेभलपमेन्ट बैंकमा प्रमूख कार्यकारी अधिकृतको रुपमा रहेकी उनलाई गभर्नरदेखि अन्य बैंकरहरुले ‘आइरन लेडी’ कै उपमासमेत दिएका थिए ।

तर, बैंकको कुलेश्वर शाखामा भएको घोटला प्रकरणमा मुछिएसँगै उनको बैंकिङ करियरमा पनि पूर्णविराम लाग्यो ।

अहिलेको कुरा गर्दा बैंकिङ क्षेत्रमा प्रमुखको रुपमा एक मात्र महिला छिन्, मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली ।

२०४८ सालमा ग्रिण्ड लेज बैंक (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम थालेकी खुँजेली स्थापनाकालदेखि नै मेगा बैंकमा छिन् । बैंकमा यसअघि अनिल केशरी शाह प्रमूख हुँदा उनले महाप्रबन्धकको जिम्मेवारी सम्हालेकी थिइन् ।

बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा शाह रहँदा नै उनको विकल्पको रुपमा समेत खुँजेलीलाई हेर्न थालिएको थियो । यो पदको पूर्ण जिम्मेवारी पाएमा उनी नेपालको इतिहासमा नै वाणिज्य बैंकको प्रमुख हुने पहिलो महिला बन्ने छिन् ।

२०/३० वर्षअघिसम्म नेपालमा बैंकहरु स्थापना हुने क्रम चलिरहँदा महिला प्रतिनिधित्व निकै कम देखिन्थ्यो । तर, पछिल्लो समय परिस्थिती फेरिएको छ ।

बिगत २५ वर्षदेखि नै यो क्षेत्रमा केही महिला लागेका थिए, र आज उनीहरु व्यवस्थापनको मुख्य जिम्मेवारीमा रहेका छन् । प्रमुखकै जिम्मेवारीमा भने खुँजेली बाहेक अन्य महिला बैंकर देखिएका छैनन् ।

‘अहिलेसम्म कुनै पनि बैंकको सञ्चालक समितिमा महिला उपस्थिति छैन, नीतिगत तहमा महिला नहुँदा पनि यो अभाव देखिएको हो,’ खुँजेली भन्छिन् ।

तर, आगामी एक दशकमा प्रमूख वा बैंकको उच्च तहमा प्रशस्त संख्यामा महिलाहरुलाई देख्न सकिने उनको ठम्याई छ । उनी आफुलाई पनि सञ्चालकहरुले विश्वास गरेकै कारण विकल्प खोजी नभएको बताउँछिन् ।

हाल २८ वाणिज्य बैंकमा शाखा कार्यालय प्रमुखबाहेक केन्द्रिय कार्यालयको व्यवस्थापनको महत्वपुर्ण पदहरुमाकरिब ५४ महिलाले प्रतिनिधित्व गरिरहेका छन् ।

कर्जा जोखिम व्यवस्थापनको प्रमुख, निक्षेप व्यवस्थापन, कपोरेट अफेयर्स लगायतका महत्वपूर्ण जिम्मेवारी उनीहरुले सम्हाल्दै आएका छन् । यी महिलाहरुमध्ये कतिपय प्रमुख कार्यकारी अधिकृत हुने सम्मको सामर्थ्र्य राख्छन् ।

करिब १५ वर्षदेखि बैंकिङ क्षेत्रमा रहकी उमंग शर्मा हाल सिटिजन्स बैंकको प्रमुख प्रशासकीय अधिकृत छिन् । यता, ११ वर्षदेखि बैंकिङ क्षेत्रमा रहेर काम गरिरहेकी रितु श्रेष्ठ न्याछोयन जनता बैंकमा मानव संशाधन बिभागकी प्रमुख छिन् । तर, दशकभन्दा कम अवधिको अनुभव भएका महिलाहरु पनि बैंकिङ क्षेत्रको सिढीको माथिल्लो तहमा भने पुगिरहेका छन् ।

बैंकर महिलाहरुमा रहेको सक्षमताले नै उनीहरुलाई त्यो स्थानमा पुर्‍याएको छ । यसैका उदाहरण हुन्, नेपाल बैंककी प्रमूख प्रबन्धक समता पन्त, नबिल बैंककी केन्द्रीय सञ्चालनमा रहेकी अनिता गिरी, जोखिम व्यवस्थापनमा इकाईमा रहेकी निलम तुलाधरदेखि हिमालयन बैंकको जोखिम व्यवस्थापन विभागमा रहेकी सिसम प्रधानांग लगायत ।

तर, अहिले पनि पुरुषको तुलनामा बैंकिङ क्षेत्रमा रहेका महिलाहरुको यो क्षेत्रबाहिर खासै चर्चा हुने गरेको पाइदैन् । अपवादमा रहेकी मेगा बैंककी नायब महाप्रबन्धक रबिना देशराज श्रेष्ठ बाहेक । बैंकिङ क्षेत्रकी एक मात्र महिला सेलिब्रेटी देशराजले भने मिडियामा राम्रै कभरेज पाउँछिन् ।

नेपाली बैंकिङ क्षेत्र पारिश्रमिक, भविष्यको सुनिश्चितताको आधारमा भरपर्दो क्षेत्र मानिन्छ । तर पनि पारिवारिक सहयोग, संस्थागत विश्वास लगायतको कारण पनि महिला सहभागिता अपेक्षाकृत रुपमा बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment