Comments Add Comment

वैदेशिक रोजगारीमा ठगियो ५८ करोड, पीडितलाई १३ करोड मात्र !

म्यानपावरबाट ठगिएका एक कामदार

२५ फागुन, काठमाडौं । संसद वा कुनै पनि राजनीतिक मञ्चमा भाषण गर्ने नेताहरुले नेपाली युवा विदेशिनु परेको कथा हाल्न छुटाउँदैनन् । तर, वैदेशिक रोजगार विभागमा पछिल्लो ७ महिनामा परेका उजुरीहरुको सूची हेर्दा त्यहाँ ६२८ जना दलालविरुद्ध ठगीको उजुरी परेको देखिन्छ । यो तथ्यांकले नेपालमा युवाहरुको बिक्री गरेर ठगीधन्दा चलाउनेहरुको गुणात्मक वृद्धिलाई स्पष्ट पार्छ ।

वैदेशिक रोजगार विभागमा पछिल्लो सात महिनाको अवधिमा ५८ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ । विभागमा ठगीका १२१४ वटा उजुरी दर्ता हुँदा पीडित युवाले आफूसँग ५७ करोड ९४ लाख रुपैयाँ ठगिएको दाबी गरेका छन् ।

चालु आर्थिक वर्षको माघ महिनासम्म विदेश पठाउने नाममा ठगी गर्ने ६२८ जना दलालविरुद्ध विभागमा उजुरी परेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

उनीहरुसँग पीडित कामदारले ४२ करोड ३८ लाख रुपैयाँ बिगो असुल उपर गरिदिन विभागसँग पीडितले माग गरेका छन् ।

त्यसैगरी माघ महिनासम्म विभिन्न म्यानपावर कम्पनीविरुद्ध ५८६ वटा उजुरी विभागमा परेका छन् । पीडित युवाले म्यानपावरसँग १५ करोड ५५ लाख रुपैयाँ उठाइदिन माग गर्दै उजुरी दिएका अधिकारीले जानकारी दिए ।

कुल ५७ करोड रुपैयाँ बिगोमध्ये विभागले कामदारलाई १३ करोड ६६ लाख रुपैयाँ रकम फिर्ता गरएको छ । दलालहरुले ठगेको १० करोड २६ लाख रुपैयाँ कामदारले फिर्ता पाएका छन् भने म्यानपावरले ३ करोड ३९ लाख रुपैयाँ मात्रै फिर्ता दिएका छन् ।

म्यानपावरलाई हाइसञ्चो

विभागले ७ महिनामा ७१२ वटा उजुरी आपसी सहमतिमा रकम लेनदेन गराएर फरफारक गरेको छ । विभागले यसबीचमा म्यानपावरविरुद्धको एउटै मुद्धा वैदेशिक रोजगार न्यायधीकरणमा दर्ता गरेको छैन भने दलालहरुविरुद्ध भने १४३ वटा मुद्दा दर्ता भएका छन् ।

विभागले ठगी गर्ने म्यानपावरविरुद्ध एउटै मुद्धा न्यायधिकरणमा लैजाने गरेको छैन । कामदारलाई १० हजारको बिल थमाएर लाखौं ठगी गर्दै आएका म्यानपावरविरुद्ध मुद्दा लड्न अहिले कामदारलाई प्रमाणको अभाव हुने गरेको छ ।

यो वर्ष पनि कामदारले बिगो दाबी गरेको झण्डै १२ करोड रुपैयाँ म्यानपावरले त्यसै पचाएका छन् । म्यानपावरविरुद्धका ६१९ मु्द्धा फस्र्योट गर्दा विभागले ३ करोड मात्रै बिगो भराएको छ ।

विभागले फितलो अनुसन्धान गर्ने र म्यानपावरहरुलाई उन्मुक्ति दिने गर्दा पनि पीडितले ठगिएको रकम फिर्ता पाउने अवस्था छैन । विभागका अधिकारीहरु म्यानपावरको आर्थिक प्रभावमा पर्ने भएकाले म्यानपावररुले ठगेपछि त्यो रकम कुनै हालतमा फिर्ता लिन नसकिने पीडितहरुको गुनासो छ ।

अहिले विदेश पठाउने बाहनामा ठगी गर्न दलालको गिरोह नै सक्रिय छ । आफू म्यानपावर सञ्चालक भएको दावी गर्दै ठग्नेहरुले पनि ठूलो रकम फिर्ता गरेका छैनन् ।

७ महिनाकाबीचमा पीडितले दाबी गरेको झण्डै ३२ करोड रुपैयाँ दलालबाट विभागले फिर्ता गराउन सकेको छैन । यो वर्ष दलालहरुविरुद्ध १८ करोड ३७ लाख रुपैयाँको बिगो दावी गर्दै न्यायधीकरणमा मुद्धा लगेको छ ।

‘धेरै पीडितले उजुरी नै गर्दैनन्’

न्याय नपाइने भएपछि अहिले पनि वैदेशिक रोजगारीका क्रममा हुने ठगीका अधिकांश पीडित विभागमा उजुरीका लागि जाँदैनन् । विदेशिने बाहनामा ठगिएका अधिकांश युवाले त उजुरी नै दिने गरेका छैनन् ।

धेरैजसो विदेशबाट फर्किएका युवाले विभागमा ठगिएको भन्दै उजुरी दिने गरेको प्रवक्ता अधिकारी बताउँछन् ।
तत्काल न्यायको आशा नै नहुने अवस्थामा मुद्धा मामिलामा थप रकम खर्च हुने भन्दै उनीहरु पीडितहरु चुप बस्ने गरेको वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन् ।

‘हतारमा विदेश जान लाग्दा ठगिएकाहरु थप लफडामा नपर्ने भन्दै फेरि विदेश जान अर्को प्रक्रिया थालिहाल्छन् । त्यसैकारण धेरै ठगीका घटना सरकारको जानकारीमा आउँदैन,’ पण्डित भन्छन् ।

विभागले ठगी गर्ने म्यानपावरविरुद्ध न्यायधीकरणमा मुद्दा नहालेको वर्षौं बितिसक्यो । ठगी गर्ने केहीमाथि समान्य विगो भराएर थप ठगी गर्न प्रोत्सहान गरिएको आरोप पीडितहरुको छ । कति पीडितको मुद्धालाई विभागले त्यसै ‘डिसमिस’ गराएको पीडित युवाहरुको आरोप छ ।
ठगी गर्नेलाई त्यसै उन्मुक्ति दिइरहँदा म्यानपावर ठग्नकै लागि थप प्रोत्साहित हुने विज्ञहरु बताउँछन् । विभागमा परेका उजुरीको फस्र्यौट गर्न ढिलाइ गर्दा ठगिएकाले थप निराशा भोग्नुपरेको छ ।

लेनदेनमै मिल्छ, कारवाही हुँदैन

तथ्यांकलाई आधार मान्दा विदेश पठाउने नाममा ठगी भएका अधिकांश उजुरीहरु विभागमै पीडितको ठगिएको रकममध्ये केही अंश दिलाएर मिलाइन्छ । ठग्नेहरुलाई कुनै कारवाही नै गरिँदैन । ठेगेपछि उजुरी परेहाले पनि थोरै कम दिएपछि विभागले नै कुरा मिलाइदिने गरेको छ ।

विभागबाट ठगी गर्नेमाथि कुनै कानुनी कारवाही पनि नहुने भएपछि दलाल तथा म्यानपावरलाई पनि ठगी गर्न थप अग्रसर हुने गरेको श्रम तथा रोजगार मन्त्रालयकै अधिकारीहरु स्वीकार्छन् ।

फरार रहेका दलालहरुविरुद्ध भने मुद्धा न्यायधीकरणमा पुगेको देखिन्छ । तर, सरकारले म्यानपावरबाट हुने ठगीलाई भने ‘अनदेखा’ गरिदिने गरेको तथ्यांकबाटै स्पष्ट हुन्छ ।

गत आर्थिक वर्ष ०७३/७४मा पनि म्यानपावरले ठगी गरेको भन्दै एउटा पनि मुद्धा विभागले अदालत लगेको थिएन ।

बिगत तीनवर्षदेखि विभागले ठगी गर्ने म्यानपावरविद्ध एउटा पनि मुद्धा न्यायाधीकरणमा दर्ता गरेको छैन । त्यसअघि पनि निकै कम मात्रामा यस्ता कसुरका म्यानपावरविरुद्ध मुद्धा दायर भएका थिए ।

सरकारले वैदेशिक रोजगारीमा काकदारलाई रोजगादाताले नै निःशुल्क भिसा र टिकेटको नीति लिएको छ । तर, म्यानपावर ब्यवसायीले यसलाई पालना नगरिदिँदा ठगीको समस्या झनै मौलाएको छ । ठगी गर्नेलाई कारवाही गर्न सरकार उदासीन हुुँदा पीडित कामदारको संख्या बढेको बढ्यै छ ।

गत आर्थिक वर्षमा पनि विभागमा २ हजार ३ सय ८३ वटा उजुरी दर्ता भएका थिए । पीडितले ७५ करोड ७८ लाख बिगो दावी गरेपनि विभागले १५ करोड ९४ लाख रुपैयाँ मात्रै फिर्ता गराएको थियो ।

यो वर्षको अन्तसम्म ठगीको यो गत वर्षभन्दा बढी हुने निश्चित रहेको विभागका अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment