Comments Add Comment

जब रञ्जित गजमेरलाई लिएर शम्भु प्रधान प्रहरी कार्यालय पुगे

वयोवृद्ध संगीतकार रञ्जित गजमेर शुक्रबार दिउँसो टेकुस्थित महागनगरीय प्रहरी परिसरमा देखिए । कुनै जमानामा नेपाली फिल्म संगीतका पर्यायका रुपमा रहेका गजमेरसँग थिए पुराना निर्देशक शम्भु प्रधान ।

निर्देशक र संगीतकारको यो जोडीले विगतमा धेरै फिल्ममा सहकार्य गरेको थियो, जसमध्ये एउटा फिल्म थियो ‘सम्झना’ । सोही फिल्मको लोकपि्रय गीत ‘उकालीमा अघिअघि’ लाई अनाधिकृत रुपमा फिल्म ‘कृ’ मा चोरी गरिएको भनेर उजुरी गर्न उनीहरु त्यहाँ पुगेका हुन् ।

यस विषयमा उजुरी दिन निर्माता प्रधान केही दिनअघि एक्लै टेकु पुगेका थिए । तर, प्रहरीले संगीतकारको पनि बयान लिनुपर्ने बताएर उजुरी दर्ता गर्न मानेको थिएन । दार्जिलिङवासी संगीतकार गजमेर संयोगले यति नै बेला काठमाडौं आएका थिए । उनी पनि आफ्नो सिर्जना बिना अनुमति प्रयोग गरिएकोमा खिन्न भए र प्रधानसँग प्रहरी कार्यालय जान राजी भए ।

गीत चोरीका सम्वन्धमा प्रहरीले आज गजमेरको बयान लिएको छ । संगीतकार गजमेरले उक्त गीतको रचना र संगीत आफ्नो भएको बताउँदै यसको सम्पूर्ण अधिकार भने फिल्म निर्माता शम्भु प्रधानसँग रहेको बताए ।

त्यसपछि प्रहरीले ‘कृ’ फिल्मका निर्माताहरुको बारेमा सोधखोज गरेको थियो । प्रधानले आफ्नो उजुरीमा निर्माताद्वय भुवन केसी र सुवास गिरीको नाम उल्लेख गरेका छन् । उनले प्रहरीलाई फिल्मको पोष्टरसमेत देखाए । तर, फिल्ममा अरु पनि धेरै निर्माताहरु रहेको चर्चा भएपछि प्रहरीले चलचित्र विकास बोर्डलाई चिठी लेखेको छ । चिठीमा कृका सम्पुर्ण निर्माताहरुको नाम खुलाइदिन आग्रह गरिएको छ ।

प्रहरीले विकास बोर्डको जवाफ आएपछि निर्माताहरुविरुद्ध जाहेरी दर्ता गर्ने बताएको प्रधानले अनलाइनखबरलाई जानकारी दिए ।
‘जाहेरी दर्ता गर्ने प्रक्रिया आरम्भ भएको छ,’ उनले भने, ‘अब हामी पछाडि हट्दैनौं ।’

निर्माता प्रधानले कृले गरेको व्यापारको ५० प्रतिशत आफूले क्षतिपूर्तिका रुपमा पाउनुपर्ने मागदावी गरेका छन् । साथै उनले फिल्मको प्रदर्शन रोक्न पनि माग गरेका छन् ।

कृका निर्माता सुवास गिरीले भने प्रधानलाई एक लाख दिएर सहमति गर्ने प्रयास गरेका थिए । तर प्रधानले मानेनन् ।

फिल्मका अर्का निर्माता भनिएका भुवन केसी भने अहिले देशबाहिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment