Comments Add Comment

मोबाइल पैसामा ब्याज दिन भुक्तानी प्रदायक इच्छुक

 


२५ फागुन, काठमाडौं । हाल बैंकिङ प्रणाली बाहिरका भुक्तानी सेवा प्रदायकहरुले पनि ग्राहकबाट जम्मा हुने रकममा ब्याज दिन चाहेको बताएका छन् ।

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर)को रुपमा अनुमति पाएका आइएमइ पे जस्ता संस्थाहरुले ग्राहकलाई ब्याज दिन चाहेको शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताएका हुन् ।

‘भुक्तानीको लागि हाम्रो मार्फत मोबाइलमा पैसा राख्ने ग्राहकहरुलाई पनि ब्याज दिने हाम्रो इच्छा छ, तर हालसम्म यस्तो व्यवस्था भने छैन,’ आइएमइ पेका ड्यानिअल डी श्रेष्ठले भने ।

बैंक खाता नहुने ग्राहकहरुले पनि आइएमइ पे जस्ता प्रदायकबाट भुक्तानी सेवा लिन मोबाइलमा रकम जम्मा गर्ने गर्छन् । उनीहरले हालसम्म मोबाइलमा रहने पैसाको व्याज पाउने गरेका छैनन् । आइएमइ पे ले ग्राहकबाट उठाएको रकम राफसाफ बैंकहरुमा राख्ने गर्छ । राफसाफ बैंकको काम वाणिज्य बैंकहरुले मात्र गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

अहिले विश्वमा बैंकसँग आबद्ध भएर वा आबद्ध नभईपनि भुक्तानी सेवा सञ्चालनमा ल्याउने बिभिन्न संस्थाहरु सञ्चालनमा छन् । तिनले ग्राहकलाई थोरै रकमको कर्जा र निक्षेपमा सामान्यदरमा व्याजदर समेत दिने गरेको पाइन्छ ।

बैंक भर्सेस दूरसञ्चार कम्पनीः चुनौती बन्दै मोबाइल बैंकिङ

नेपालमा बैंक र भुक्तानी प्रदायकबीचको भिन्नतालाई अझै स्पष्ट पार्नुपर्ने उनीहरुको तर्क छ ।

दैनिक तीन अर्बसम्मको विद्युतीय कारोबार

पछिल्लो समय ग्राहकले एउटा बैंकको चेक अर्को बैंकमार्फत पनि क्लियरिङ गर्न पाउने, एउटाको खातामा रहेको रकम अर्को खातामा पठाउन पाउने सुविधा पाइरहेको छ ।

यस्तो कारोबारमा पनि वृद्धि भएको छ । ‘गत आव अन्त्यमा चेक क्लियरिङको संख्या २ सय २५ प्रतिशतले बढ्यो, दैनिक ४०/४५ हजारको संख्यामा हुनेगर्छ,’ नेपाल क्लियरिङ एण्ड हाउस लिमिटेडका प्रमूख निलेश मान सिंह प्रधानले भने ।

उनका अनुसार अहिले यसरी हुने अन्तर बैंक रकम ट्रान्सफर रकम दैनिक तीन अर्ब रुपैयाँसम्म पुग्ने गरेको छ ।

नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागर आगामी वर्ष प्रविधिको माध्यमबाट मुलुकका सबै जिल्लामा बैंकहरु पुग्ने विश्वास व्यक्त गर्छन् ।

हाल बैंक तथा भुक्तानी सेवा प्रदायकहरु मोबाइल, विद्युत्, खानेपानीको बिल भुक्तानी जस्ता सेवामा सिमित भएकोले पनि बैंकिङ प्रविधिले फड्को मार्न नसकेको सरोकारवालाहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment