सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

मुजुर पनि मुग्लान पसे कति दिन रहन्छ नेपाल ?

इन्द्रबहादुर राईको ‘आज रमिता छ’ उपन्यासको अंश

Suzuki
अनलाइनखबर


‘आज रमिता छ’ इन्द्रबहादुर राईको पहिलो उपन्यास हो । यो उपन्यास सन् १९५४ देखि सुरु गरेर र १९५८ सालमा लेखिसकेको लेखकले उल्लेख गरेका छन् । यो उपन्यास लेखिनुअघि दार्जीलिङमा सामान्य खालका उपन्यासको बिगबिगी थियो । त्यसले पठन संस्कृति त बढाएको थियो, तर पाठकहरुले उत्कृष्ट उपन्यास पढ्ने अवसर पाएका थिएनन् । दार्जीलिङमै छापिएको यो उपन्यास नेपालमा पनि यति चर्चित भयो कि ०३२ सालमा साझा प्रकाशनले यसलाई पुनः छाप्यो । यो पुस्तक अहिले त्रिभुवन विश्वविद्यालयको मूल पाठ्यक्रममा समावेश छ ।

उपन्यासभित्र उल्लेखित भारत–नेपाल सीमानेर भएको एउटा सानो घटनासम्बन्धी आख्यान यस्तो छः

नेपाल–तराईमा शालको वन छिचोलिनासाथ भारत सुरु हुन्थ्यो । बूढाखाडाहरुलाई पछि पारेर जनक र सीता अघि–अघि हिँड्न लागेका छन् । भरियाहरु अझै पछि थिए । स्वर्णिम पङ्खा फिँजाउँदै एउटा भाले मुजुर अघिदेखि बाटो देखाउँदै झैँ हिँडिरहेको छ । पाँच कोस बाटो हिँडिसकेर पनि त्यो यताउताको बाक्लो वनमा पस्दैन । खसिराखेको बाटोको थुर टिपेर जनकले झटारो हानेझैँ गर्‍यो । भाग्दैन । निर्भय छ त्यो मुजुर यात्रीहरुदेखि; सायद क्लान्त पथिकहरुको ममतासँग त्यो परिचित छ । भारतको भू–भाग सुरु भयो ।

जनक दगुरे एक्कासि । सीता छक्क परिन् । हेर्दाहेर्दै जनक देखिएनन् ।

पछिएका सबै आइपुगे । कसैले भन्यो, “नेपाल–राज सकियो; अब पक्रँदैन भनेर मुजुर समात्न दुगुरेको ।”

धेरैबेरपछि स्याँ–स्याँ भएर फर्के जनक । मुजुरसुजुर केही थिएन ।

सबका आँखाले तिनलाई प्रश्न गरे ।

“त्यो मुजुर, देख्नुभो, कस्तो दुष्ट !” अझ रनक्क रिसाउँदै भने जनकले,

“हामी त पस्यौँ–पस्यौँ स्वदेश छोडेर, त्यो मुजुर पनि हामीजस्तै मुग्लान पस्न लागेको ! खूब चक्कर लाएर खेदेँ । देखेरै पनि फेरि नेपालभित्रै हालिराखेको छु । कडा चेताउनी दिएर छोडेको छु । हामी मान्छे त प्रवास पस्यौँ–पस्यौँ, वनको पशुपक्षीले पनि यसरी स्वदेश छोड्न थाले कति दिन रहन्छ नेपाल ?”

जातिप्रति जनकको प्रथम सेवाकार्य यही थियो ।

वीरमानले चौकीमा बसेको जनकलाई भन्यो, “हिजै मात्र हजुर कलकत्ताबाट फिर्नुभएको र मैले भनिनँ ।”

“आजु भन् न त ।”

“सपना पनि…” वीरमान बूढाथोकीले बसेको पिराबाट पनि अलिकति तल सुल्किएर भन्यो, “सपना पनि नराम्रै–नराम्रै मात्रै देख्छु । अस्ति महाकाल डाँडा गएँ । सप्रेन सपना । अघि कहिले मलाई यस्तो भा’ थिएन, हजुर ! धुलौटो पनि कोराइहेरेँ बजारमा…”

“झुट्टा हजुर ।”

“कसरी झुट्टा हजुर ! गाईको मासु खाने हुँला । देख्नेछन् ।”

“म त गाईगोरु सबको मासु करापकुरुप खाइदिन्छु ! घरमा पो भाउज्यूले ल्याउन दिँदैन ।… अँ, तेरो कुरा झुट्टा कसरी भने, अचेलको ज्योतिषीले माटोमा धुलौटो कोर्दैन, खातैमा लेख्छ पेन्सिलले । मैले देखेको छु । मिन्सिबिलले बजारमा छापेको अलकत्रा र सिमेन्ट धुलौटो कोर्न कसैले उप्कायो भने पक्रिन्छ पो पुलिसले !”

“उई कुरो त हो नि खातामा लेखे पनि ।” वीरमानने हाँस्तै भन्यो र मालिकसँग साहस अझै अलिकति कुरा खोल्यो, “यसो फेरफारे आफैँलाई पनि बनाउनुपर्ने हजुर ! फेरि फरियाहरु इता किन्दा सस्तो पर्छ ।”

“के भन्छ यल्ले ?” चौकीमा घुमेर वीरमानलाई हेर्दै सोधे जनकले, “बिहा गर्न आँटिस् कि के हो ?”

“धत्तेरी हजुर ! यस्तो लफङ्गाले बिहा गरेर के जात्रा देखाउनुथ्यो र ?….

अस्तिदेखि भनूँ भनेको हजुरलाई, मुखै लागेन ।”

अधीर भएर जनक रिसाए, “भन्ने कुरा झट्सँग भनिहाल् न !”

यो हकारले झन् वीरमानको वाग्धारा हिउँदोको पनेरो जस्तो सुक्यो दुई साससम्म फेर्न डराई त्यसै अलमलियो ।

जनकलाई उठेर जान लागेको देखेर मात्रै तुरुक्क बोल्यो, “बिहान दिदीलाई पनि भनेथेँ ।”

“के भनेको थिइस् ? तेरो टाउको ??”

उत्तर झन् छैन । चूर, शीर झारेर ।

“पैसा चाहियो ?”

किञ्चित् वीरमान चलमलायो ।

“घर जान मन लाग्यो कि ?”

चुप ।

बिहान धाराबाट पानी ओसारिसकेपछि सीतासँग वीरमानले घर जाने कुरा गरेको थियो ।

“वीरमान, तँ यस्तो कुरा नगर् है ! म यो जाडोमा पानी भर्न सक्तिनँ ।”

कराउँदै सीताले हप्काइन् ।

“दस–बाह्र दिन त हो दिदी, म आइपुगिहाल्छु नि !”

“मलाई तँ लाटी ठान्छस् ?” सीता जङ्गिइन् ।

“यताकी ठान्छस् मलाई ? जा, जान्छस् भने, दिव्याका बाबासँग भन् मलाई नभन् ।”

पल्लो झ्यालबाट पुष्पाकी आमाले सानी छोरीलाई बोकेरै वादविवाद सुन्दै थिइन् । तिनलाई पनि सहयोगी बनाउँदै भनिन् सीताले, “सुन्नोस्, बैनी, यो वीरमानको कुरा…..। घर जाने अरे ! सङ्क्रान्ति कति दिन छ अब भनेर हिजो होइन तैँले गन्दै गरेको ? तँ गैहालेर खसी कसले बनाउँछ ?”

आफ्नो भावनालाई सीताले तर्क मानिन् ।

“सक्रान्ति मानेर जानू नि ? दिदीले भनेपछि…” बाबुनी पुष्पाकी आमाले मेलको सूत्र प्रस्ताव गरिन् । वीरमानलाई एकपल्ट सानो काम अराउँदा, एक आनाको चिनी किन्न पठाउँदा बाबुनी र सीताको बोलचालै कति दिन बन्द भएको थियो । अहिले त्यो दुवैले विर्सिसकेका छन् ।

टल्कने कालो वीरमानले पाकेटबाट छोटो हरियो काङ्ग्यो निकालेर कपाल कोर्दै भन्यो, “घर भनेपछि हामीलाई पनि माया लाग्छ नि हो भाउज्यू ! दाजै कसरी घर आउँछन् घरीघरी घर आउँछन्, घरको मायाले ?”

बाबुनीलाई कुन्नि कहाँनेर छोयो, रातो भइन् ।

“तँ तेस्तो नक्कले, पहाडमा टिक्नु मत्तै !” भनिन् तिनले ।

“ठिक पनि यो वीरमान पहाड बिहा गर्नु जाँदै होला । हेर है, हामी आइमाईले भनेको ठीक पो हुन्छ !”

“भाउज्यूको आशीर्वाद नै लागोस् । थेङ्क्यु !”

वीरमानले पहाडबाट यहाँ आई मानिसहरुलाई जातले बोलाउन छोडी साईनो लगाई बोलाउन सिकेको थियो औ दोस्रो कुरा सिकेको थियो ‘थेङ्क्यु’ भन्न ।

“ए, त म दुई मन र पनि चौँतीस सेर रै’छु हो !–थेङ्क्यु !” ‘कालो भा’ पनि सुहाइलो छु नि ?–थेङ्क्यु !”

०००

तीन वर्षअगि वीरमानलाई बाबुले तीनकन्याको थानमा भाकल पुज्न, परेवाको जोडी उडाउन पठाएको थियो । चार कोसको बाटो । वीरमान बाटो लाग्यो र पन्ध्र दिनपछि कहाँबाट कहाँ बत्तिएर झापा बजारमा आइपुगेर होचो पाल टाँगेको दोकानमा लामो काठको बेन्चमा बसी बिहानै फिका चिया खाइसकेको थियो । “आसाम जान्छु, ” भन्थ्यो त्यो, बाटोमा सोध्नेहरुलाई । एक दिनभरि पैदल र एक रात सतारहरुको गाडामा यात्रा गरेपछि सत्रौँ दिनको दिउँसो एक बजेतिर वीरमानले मुक्तिको मेची त¥यो ।

त्यसले दुई महिना बाघडुग्रामा बितायो । इँटा बनाएर । सिलगडीको सिख हुटेलमा नौ महिना बस्यो । प्लेट धोएर ।

रिक्सा कुदायो बीस दिन ।

चार महिना औलोले थलियो ।

जनककहाँ आएको दिन त्यो मदिसेले दौरा–सुरुवाल लाएको जस्तो थियो ।

दार्जीलिङको जलवायुले त्यसलाई छ महिना पुरानै वीरमान बनायो । फेरि त्यसले नराम्रो भएर बस्नै पाएन । जनकले दिएन ।

“हरेकलाई सुकिलो भएर बस्न कर लाग्छ दार्जीलिङमा, जबसम्म यहाँको सडकमा अलकत्रा छापिन्छ औ हावापानी सुन्दर रहन्छ ।” जनक, आफू ता लुगौटे छैन, बारम्बार यसो भन्छ ।

मालिकको कथनलाई वीरमानले आफूमा यति चरितार्थ गर्‍यो कि जम्मै बिल्डिङभरिको मैला लुगा त्यसले धोइदिन थालेको थियो ‘चुरोट’ खाने पैसामा । चाल पाएर जनकले पिट्यो । छेउघरकी श्रीमती दास बराबर रोइन् ।

“एउटै मात्र चक्र छ मेरो, हेर्नोस् भाउज्यू ?” वीरमानले हातमा जम्मै औँला फारेर दिउँसो घाममा बाबुनीलाई देखाउँथ्यो ।

“यस्तो मान्छे कि ता राजा हुन्छ अरे कि साधु ।” अर्थ लाइदिन्थिन् सीताले ।

“साधु हुन मन लाग्दैन, राजा हुन सकिँदैन !”

“राजासमान हुन्छस् भनेको पो त, तँलाई तँ राजै हुन्छस् कसले भन्यो ?”

“साधुसमान त ऐले छु !!”

सीता र बाबुनी दुवै हाँसे, एउटी त सर्किइन् पनि ।

“यो देब्रे चोरको कुराले पनि देब्रे मात्रै खेद्छ हो ! तँ नजा नेपाल अब । तेरो चक्र देखेर काट्छ तँलाई ।”

“पक्रियो भने ‘म साधु हुन्छु नि’ भन्छु नि !”

वीरमानलाई एकपल्ट अजोय दासले देब्रे हात चल्नेको छोराछोरी जम्ले जन्मन्छ भनेर भन्दिएको थियो । बङ्गालीहरुले पढेको हुन्छ र जान्दछ भन्ने विश्वासको वीरमानलाई त्यो एकदम गाडेको छ ।

दार्जीलिङको आकाशमा चाँदी जस्तो हावाजहाज कहिलेकहीँ आवाज गर्दै घुम्न आउँदा सरस्वतीपूजाको लस्करमा बाटोभरि नाच्ने वीरमान जहाँबाट भए पनि दगुरेर छानो चढ्छ । अनि आकाशतिर फर्की चिच्च्याउँदै सधैँ हावाजहाजहाजलाई कराउँछ ।

त्यसको अनुभव र बुद्धिले अति नै मार्मिक ठानेको ठट्टा गर्छ ।

“ए हावाजहाज !” कैले देख्थिस् तैँले मलाई, तेरो ससुरालाई ! तँलाई म मार्छु हेर, झार्छु बन्दुक हानेर, हेर है….!”

बन्दुक पक्रेझैँ हात बनाई, औँला अङकुसे पारी एक आँखा चिम्म गरी ताकी उड्दो हावाजहाजलाई एकदम वीरमानले गोली लाउँथ्यो “प्वाँक् !”

हावाजहाज पखेटामा गोली लागी, धूवाँ र आगो सल्कँदै, टुक्रा–टुक्रा भई खस्यो अरे वीरमानको कल्पनामा ।

बाघडुग्रामा दुई महिना छँदा राति हवाईअड्डाको बत्ती घुमेको देखी वीरमान मिर्गले जस्तो हेरेको हेरेकै हुन्थ्यो । बेलुकातिर मैदानमा बात गर्दै जस्तो बसिरहेका हावाजहाजहरुको वरिपरि त्यो वीरमान अर्को एउटा साथीसँग जान्थ्यो, घुमेर हेथ्र्यो, अरुले नदेखीकनै हावाजहाजलाई छुन्थ्यो । दुईटा हावाजहाजमा, एक–एक–वटा बाँडेर, त्यसको साथी र वीरमानले आफ्नो–आफ्नो नाममा पनि लेखेका थिए ।

तस्वीर– कुमार आले

२०७४ फागुन २६ गते ९:०० मा प्रकाशित (२०७४ फागुन २७ गते १४:००मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • Bikash लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १३:१०

    हामी नेपाली हरु ले , नेपाली लेखक को बिषयमा पद्न छारे जस्तो छ !
    हि पाप- र -रक मा भुलिएर, जति र भाषा बिर्सिए जस्तो छ !
    आखा बाट असू खस्यो ! नारायण
    किन भयॊ हाम्रो एस्तो चलन !!!

    2
    0
    Share

  • Krishna Raj Bhetuwal लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १६:५०

    Kabar rajnitik matra hudainan ni hoina ra? Eauta sarhaniya kadam!

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this