Comments Add Comment

समीक्षाः आईबी राईको निधन एउटा युगको पटाक्षेप


ठूलो कदका साहित्यकारको निधनमा “एउटा युगको अवशान” भनेर आत्मगत अथवा भावुक प्रतिक्रिया लेख्ने चलन छ । तर सधैँ, कुनै साहित्यकारको निधनले युगको अन्त्यलाई इङ्गित गर्दैन । धेरै दशकमा, आधा शताब्दीमा अथवा एक शताब्दीमा एउटा साहित्यकारको उदय हुन्छ, जसले युगको निर्माण गर्छ । र त्यस्तो कदको साहित्यकारको निधनले युगको अवशानको सङ्केत गर्दछ । नेपाली साहित्यको हकमा इन्द्रबहादुर राईको निधन एउटा युगको अवशान हो ।

यसो भन्नुका धेरै आधारहरू छन् । जब एउटा लेखक फगत लेखकमात्रै रहँदैन र ऊ एउटा साझा सांस्कृतिक विम्बमा रूपान्तरित हुन्छ, ऊ युगनायक बन्दछ । दक्षिण एसियाली सन्दर्भमा इन्द्रबहादुर राईको कदका म अन्य दुई साहित्यकार सम्झन्छु, जो साहित्यकारमात्रै रहेनन्, संस्कृति बने । पहिलो हुन् रबिन्द्रनाथ ठाकुर, र दोस्रो नजरुल इस्लम । रबिन्द्रनाथ कथा र कविता हुँदै सङ्गीतको बाटो बङ्गाली सभ्यताभित्र हरेक घरमा, र हरेक जीवनमा प्रवेश गरे । भारत होस् कि बङ्गलादेश, अथवा एसिया बाहिर छरिएको बङ्गाली डायस्पोरामाझ होस्, ठाकुर घरघरको कथा हुन्, हर जीवन प्रवाहमा एउटा बलियो प्रभाव हुन्, जुन देवकोटा पनि विभिन्न कारणले बन्न सकेनन् । बङ्लादेशमा नजरुल इस्लामको स्थान त्यही हो ।

विविध कारणले भानुभक्तको आलोचना हुने गरेको छ, र जातीय विभाजनसँगै उनको स्थानमा पनि विभाजित हुन पुगेको छ, नेपाली भाषीहरूबीच, जो दुर्भाग्यपूर्ण हो । देवकोटा उँचो कदमा लेखक जरुर हुन् र गुणवत्तामा अद्वितीय हुन्, तर अनुयायीहरूका लागि स्पष्ट र पृथक मार्ग निर्धारण उनले गरेनन्, जसमा टेकेर एउटा युग खडा भयो । तर, इन्द्रबाहादुरको सम्पूर्ण जीवनको योग सदैव नयाँ आयामहरूको निर्माण, विस्तार र प्रबद्र्धनमै व्यतीत भयो, जसले उनलाई अनेक वैचारिक युगहरूको सिङ्गो रूपक अलङ्कार बनाइदियो समयले । उनी व्यक्तिबाट संस्कृति बनेका छन् ।

भारतीय नेपाली साहित्यको इतिहासमा सन् १९६१ देखि १९७४ सम्मको कालावधिलाई इतिहासकार डा. गोमादेवी शर्माले आयामेली काल भनेकी छिन्, जसको एमामात्र तार्किक सत्यापनको आधार इन्द्रबहादुर राई हुन् । अथवा भनौँ, यस युगको प्रस्थान विन्दु हुन् इन्द्रबहादुर राई ।

यो आयामिक काल आफैँमा बहुआयामिक थियो । यसमा समालोचना र रचनाको समानान्तर विकास भएको पाइन्छ । यो त्यही काल हो, जसले तेस्रो आयाम र लीला लेखनको विकासको पृष्ठभूमि तयार गर्‍यो  । त्यसलाई मलजल गर्‍यो  र विकासित पनि तुल्यायो, र अध्ययन विधि बनायो । यसले पाश्चात्य समालोचनाबाट मौलिक नेपाली समालोचनाको केही पुष्ट आधार तयार गर्‍यो र नेपाली साहित्यलाई एउटा दुर्लभ उचाइसम्म डोर्‍यायो । पश्चिमको प्रतिभासवादबाट पृथक, विसङ्गतिवादबाट पृथक, विनिर्माणवादबाट पनि पृथक पूर्वेली आद्यचिन्तन र विश्वदृष्टिको अन्तर्घुलनबाट लेखन र अध्ययन विधि बनायो, जसले हामीलाई नेपाली साहित्यको विशिष्ट र मौलिक पहिचान हो भनेर गर्व गर्ने र गरिरहने एउटा बहिलो आधार दिएको छ ।

सन् ६० को दशकमा के थियो दार्जीलिङमा, जसले इन्द्रबहादुर राईलाई यस्ता नवीन आयामहरूका बारेमा चिन्तनशील बनायो ? यसको उत्तर दुई वैचारिक घटनाक्रमहरूको जगमा खोजिनु पर्छः

पहिलो, सन् साठीको दशक पश्चिमा मुलुकहरूमा शब्दभीरू, उच्च परिष्कारवादी, निराशावादी तथा केन्द्रभीरू साहित्यको अवशानको समय हो । साहित्य क्रमशः तरल र केन्द्रत्यागी हुँदै उत्तरआधुनिक युगमा प्रवेश गर्दै गरेको अवस्था हो । अङ्ग्रेजी साहित्यका ज्ञाता इन्द्रबहादुर राई त्यसको स्वाभाविक प्रभावमा परे । तर, उनमा प्रभाव रैखिकमात्रै थिएन । उनी पश्चिमा चिन्तनबाट नेपाली चिन्तनले कसरी आफ्नो पृथकता स्थापिन गर्न सक्तछ, त्यसको खोजीमा पुगे । उनको बिसौनी पूर्वीय मिथकीय परम्परा बन्न पुग्यो, जसबाट उनले लीला चिन्तनको विकास गरे ।

दोस्रो, साठीको दशकमा दार्जीलिङमा भाषा आन्दोलन सुरु भयो, जसले तीन दशक दार्जीलिङलाई तताइरह्यो । भारतीय संविधानमा नेपाली भाषाले भारतीय भाषाका रूपमा मान्यता पाउनुपर्ने माग त्यो बेला थियो । तीव्र भाषिक र सांस्कृति चेतना भएका इन्द्रबहादुर राई त्यस आन्दोलनको हिस्सा बने र नेतृत्व पंक्तिमै खडा भए । यस भाषिक गौरवको बोधेले पनि उनलाई चिन्तनशील बनायो ।

समालोचक लक्खीदेवी सुन्दास सम्मेलन कविता सङ्ग्रहको भूमिकामा लेख्छिन्, “हामी दार्जीलिङे नेपालीहरू पनि ६० को दशकलाई विशेषरूपले स्मरण गर्छौँ । यसै वर्ष दार्जीलिङका समग्र नेपालीहरूले नेपाली भाषाको मान्यताको निम्ति पहिलोपटक आन्दोलन चलाए । फलस्वरूप दार्जिलिङका तीन पहाडी महकुममा नेपाली भाषाले राजकीय भाषा हुने मान्यता पायो ।”

यस आन्दोलनमा इन्द्रबहादुर राईको महत्त्वपूर्ण योगदान थियो । र, यस सफलताले सबैभन्दा अग्रणी भूमिकामा उनैलाई उतार्‍यो । नेपाली भाषाका साथसाथै साहित्यलाई पनि अग्रगति दिने जिम्मेवारी उनका काँधमा थियो । जसका कारण उनी आयामेली चिन्तनको जग बसाल्न अग्रसर भए ।

इन्द्रबहादुर राईको नेतृत्वमा सुरु भएको आयामेली आन्दोलनका अरु पनि कारक थिए ।

सन् १९७२ मा सिक्किम भारतको हिस्सा बन्यो । एक वर्षअगाडि अर्थात् सन् १९७१ मा अखिल भारतीयस्तरमा भाषा समितिको गठन भयो । नेपाली भाषालाई राष्ट्रिय भाषा मान्नुपर्ने आन्दोलन थप उत्कर्षमा पुग्दा नेपाली साहित्यको स्तरमा पनि समानान्तर विकास हुनुपर्ने आवश्यकता साहित्यकारहरूले महसुस गरे । किनकि, नेपाली भाषालाई भारतभित्र पनि एक उन्नत, विकसित र साहित्यिक भाषाको रूपमा चिनाउनुपर्ने चुनौती उनीहरूका समुन्ने खडा भयो ।

सन् १९७७ मा भारतको राष्ट्रिय संस्थान साहित्य अकादमीले नेपाली भाषाका पुस्तकहरूलाई वार्षिक रूपमै पुरस्कृति गर्न थालेपछि नेपाली साहित्यको स्तरमा अद्वीतीय विकास भएर गयो । र, यस विकासका योजनाकार थिए इन्द्रबहादुर राई । अनि यसको इन्धन थियो– उनको आयामेली चिन्तन र भु्रणको अवस्थामा रहेको लीलावादी सोच ।

हिन्दी साहित्यमा समानान्तर रूपमा क्रियाशील भोको पिँढी, अस्वीकृत जमात, दलित पन्थर, एङ्ग्री यङ मेन आदिको प्रभाव पनि नेपाली साहित्यमा परेकै हो । यस्ता अफबिट अर्थात् पृथक धारका आन्दोलनहरूले भारतभरि नै अकविता र अउन्यास नाम दिएर परिष्कारवादी आधुनिक साहित्यको विरोधमा प्रयोगवादी साहित्यको सिर्जना गरे ।

नेपाली साहित्यमा यस्तै पृष्ठभूमिको जगमा इन्द्रबहादुर राईले आज रमिता छ र कठपुतलीको मनजस्ता रचना तयार गरे, जसले आख्यानको माध्यमबाट उनले विधागत परम्परालाई भञ्जन गरिदिए । र, एउटा नयाँ कालखण्डको सुरुवात गरिदिए ।

जानकारहरू भन्छन्– यस आयामिक प्रयोगवादमा त्योबेला नेपालमा चलिरहेको राल्फाली आन्दोलनको पनि आंशिक प्रभाव छ । तर, सबैभन्दा ठूलो प्रभाव भनेको पश्चिममा विकास हुँदै गरेको उत्तरआधुनिक चिन्तन नै हो, जसलाई इन्द्रबहादुर राईले नेपाली परिवेशमा अनुकूलन गरे ।

इन्द्रबहादुर राईको नेतृत्वमा चलेको तेस्रो आयामको प्रभाव आजपर्यन्त छ नेपाली साहित्यमा । यसै चिन्तनको जगमा ईश्वरबल्लभ र बैरागी काइँलाका कविता आए । बल्लभ र काइला दुबै आधुनिक नेपाली कविताका मानक प्रभाव हुन् । उनीहरूको विषय र शैलीका अनुयायीहरूको लामो श्रृङ्खला आज पनि विद्यमान छ नेपाली कविताको मार्गचित्रमा ।

इन्द्रबहादुर राईले तेस्रो आयामको सैद्धान्तिक बीज चित्रकलाबाट उठाए, विशेषरूपमा क्युबिज्मबाट, जसले चित्रकारिताको इतिहासमा पहिलोपल्ट लम्बाइ र चौडाइका अतिरिक्त गहिराइको परिकल्पना गरेको थियो ।

राईले साहित्यमा त्यस गहिराइको कल्पना गरेका हुन् । चन्द्रेश्वर दुबेले तेस्रो आयामको शवपरीक्षणमा लेखेका छन्, “वस्तुहरूको दुई आयाम लम्बाइ र चौडाइ हामी कुनै प्रयासबिनै देख्न सक्छौँ । कुनै पोखरीको लम्बाइ र चौडाइ लेख्न सजिलो हुन्छ । तर यसको गहिराइ पानीमा ओर्लेपछि वा कुनै यन्त्रको मद्दतदेखि ज्ञात हुन्छ । साहित्यमा यसै गरिहराइको स्पष्टीकरणको आग्रह तेस्रो आयामले गर्दछ ।”

यो धारणा आफैँमा जटिल र अमूर्त पनि छ । तर, पूर्वीय र पश्चिमा साहित्य दुवैको राम्रो अध्ययन भएका राईले यसको प्रयोगविधि आफैँ बनाए । आख्यानमा आफैँले कलम उठाए, कवितामा साथीहरू खटाए । उनको आयामेली मान्यता स्थापित भएपछि साहित्यको बाटो नै मोडियो । सयौँ अनुयायीले यसको अनुशरण गरे, र एउटा युग नै खडा भयो, जसलाई साहित्यका इतिहासकाररू आज पनि आयामेली युग भन्छन् ।

इन्द्रबहादुर राई आफैँले भनेका छन्, “कथा वा कविता होस्, त्यो दुखीको मात्र कथा–कवितामा सीमित रहनुहुँदैन । त्योभन्दा माथि उठ्नुपर्छ । त्यो सानो कुरापछाडि एउटा विशाल विचार निहीत होस्, माथि दर्शनको आकाश टाँगिएको होस् । त्यस सानो कुरामा राजनीति सामिल होस्, ऊ एउटा समाािजक भाष्य बनोस् । यतिमात्र नभएर अरु थुप्रै कुराहरू यसमा देखियोस् । यै आधिक्य हो तेस्रो आयाम ।”

इन्द्रबहादुर राईले जीवनपर्यन्त आफ्नो एउटा भनाइ दोहो¥याइरहे जुन उनले तेस्रो आयाम अंक १ मा भनेका थिएः केही नयाँ गर्नुपर्छ, केही विद्रोह गर्नुपर्छ । उनी भन्थे, “आधुनिक कसरी बन्न सकिन्छ, त्यसको उपाय खोज्नुपर्छ । साहित्यमा हेरौँ, विज्ञानमा हेरौँ, दर्शनशास्त्रलाई सोधौँ कि नवीनभन्दा नवीन दर्शनशास्त्रमा के हुँदैछ, कला जगतमा हेरौँ के नयाँ हुँदैछ ? रिलेटिभिटी सापेक्षतावाद विज्ञानको क्वान्टम थ्योरी, दर्शनमा अस्तित्ववाद, विज्ञानमा जो कार्य भएको छ, हालमा ज्ञानको अन्तिम प्राप्ति जो छ, त्यसको बराबरी त्यसैको तुल्यतामा त्यसैको इक्युभेलेन्ट नेपालीमा हामी अनुवाद गरौँ ।”

यी भनाइहरूले साहित्यको जुन राजमार्ग बनाए, त्यसमा राईले नै निर्धारण गरेका केही कोशेढुङ्गाहरू मापक रहे । ती थिएः सम्पूर्णता, वस्तुता, घनत्ववाद, भविता, नवीनता वा आधुनिकता, स्वायत्तात्मकता, तथा क्रमभङ्गता ।

राईको अर्को विशाल आविष्कार लीला लेखन हो, जसको प्रभाव नेपाली साहित्यमा अपरिमेय छ । नेपाली वाङमयलाई इन्द्रबहादुर राईले दिएको यो अर्को बौद्धिक नासो हो, जुन अभूतपूर्व त छ नै, आफैँमा मौलिक र विशिष्ट पनि छ ।

साहित्यकार लक्खीदेवी सुन्दासको ठहर छ, लीलालेखन राईको “झ्याल” कथाको लेखनबाट सुरु भएको हो । लीलाका बारेमा डा. गोमादेवी शर्मा भन्छिन्, “हामी आज जुन वस्तुलाई राम्रो वा श्रेष्ठ मान्छौं, भोलिको परिप्रेक्ष्यमा यसको मान्यता कम नै हुन्छ । यसरी नै समाजमा हिँजो जुन वस्तुलाई अनुचित मानिन्थ्यो आज त्यही प्रासङ्गिक बन्न सक्छ । साहित्यको माध्यमबाट यही देखाउनु लीलालेखनको उद्देश्य हो, अर्थात् वस्तु–तथ्यलाई नवीन परिस्थिति अनुसार पुनर्मूल्याङ्कन गर्न अनिवार्य हुन्छ । यसो नभए त्यसको मान्यता समाप्त हुन सक्छ ।”

इन्द्रबहादुर राईले यो मान्यता नेपालका कथाकार गुरूप्रसाद मैनालीको कथा “परालको आगो” को विपठन गरिएको रचना “कठपुतलीको मन” को माध्यमबाट सुन्दर ढङ्गले प्रस्तुत गरेको सबै पाठकलाई थाहै छ । त्यो लीला लेखनको एउटा नमुना हो । लीलाका अनुयायी आज पनि नेपाल र भारतभरि छरिएका छन् नै । “कठपुतलीको मन” मा आधुनिक भाववोध युक्त नयाँ कथाहरू समावेश छन् ।

आफ्ना कथाको माध्यमबाट इन्द्रबहादुर राईले साठोत्तरी कथा साहित्यमा एउटा नवीन क्रान्ति ल्याउन सफल भए ।

विभिन्न विधामा छरिएको इन्द्रबहादुर राईको भव्यता व्याख्यातीत छ । उनलाई समग्रतामा खोज्नुपर्छ । उनलाई उनैले छोडिगएका मौलिक र सम्पादित कृतिहरू टिपेका टिप्पणीहरू, पहेंलो दिन पाँच प्रश्न लेखनाथको उत्तर नौवटा प्रश्न महानन्दज्युका, तेस्रो आयाम विपना कतिपय, आज रमिता छ, कठपुतलीको मन । कथास्था, आज रमिता छ, टिपेका टिप्पणीहरू, नेपाली उपन्यासका आधारहरू, दियालो आदिमा उनी छरिएका छन् ।

पछिल्लो समय युवाहरूको एउटा समूहले इन्द्रबहादुर राईसँग केही विमत्ति राखे र खुलेरै पनि लेखे । उनको दार्शनिक र पूर्वीय चिन्तनको विरोध माक्र्सवादीहरूबाट यदाकता हुँदै आएको पनि हो ।

पछिल्लो समय, हस्तक्षेप आन्दोलनसँग जोडिएका युवाहरूले उनको आयामेली र लीला चिन्तनले किनारीकृतहरूको मर्म र व्यथालाई न्याय नगर्ने निचोड निकालेका छन् । उनीहरू सोच्छन्, समाजलाई दासत्व र प्रभुत्वका माध्यमबाट कुण्ठित पारिरहने सामाजिक, राजनैतिक र वैचारिक सङ्कथनहरूको जालो तोडिनुपर्छ, जसका लागि सीधा र हस्तक्षेपकारी साहित्यको आवश्यकता छ ।

तर, पनि इन्द्रबहादुर नाम गरेको त्यस युगलाई कुनै इरेजरले मेटिने सम्भावन छैन । आफूपछि आउने युगका संवाहकले उनकै कुराबाट हटेर फरक बाटो अवलम्बन गरे भने पनि त्यसले क्रमभङ्गता र नवीनताको पक्षमा राई आफैँले गरेको दलिलको नै पुष्टि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment