सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

प्रकाश कोविद खोज्दा आईबी राईसँग जम्काभेट

इन्द्रबहादुर राईका कारण दार्जीलिङको जागिर चट्

Suzuki
अश्विनी कोइराला

०४८ सालको कुनै महिना, गर्मी सुरु भैसकेको तर बर्खा सुरु नभएकाले जेठ–असार हो कि भन्ने अञ्दाज गर्न सक्छु ।

प्रजातन्त्रपछिको पहिलो निर्वाचनका कारण हाम्रो गाउँ दुई भागमा विभक्त भएको थियो । एकथरि मानिस ‘कम्निस्ट’ भएका थिए, जो कांग्रेसका घरमा पस्न पनि रुचाउँदैन थिए । अनि एक थरि ‘कांग्रेस’ थिए, जो कम्युनिस्टलाई देखी सहन्न थिए ।

‘ठूलाले गर्दछ जे…’ भने झैं यो रोग हामी केटाकेटीलाई पनि सरेको थियो । भलिवल र लाइब्रेरीको काम छाडेर हामी पनि त्यही झगडाको खेल खेल्न थालेका थियौं ।

खास कारण स्वघोषित मेरी प्रेमीका थिई । जसले घरिघरि मलाई ‘तिमी कम्निस्ट कि कांग्रेस ?’ भनेर मेरो परीक्षा लिइरहेकी हुन्थी । मलाई थाहा थिएन, ऊ कांग्रेस थिई कि कम्युनिस्ट थिई । ऊ कांग्रेस हो जस्तो लागेका बेला म आफू काग्रेस हुँ भनिदिन्थेँ । ऊ रिसाएको थाहा पाउनेवित्तिकै भन्थेँ, ‘होइन होइन, कम्सम म पनि तिमीजस्तै कम्निस्ट हुँ ।’

त्यसपछि ऊ झन मज्जाले रिसाउँथी ।

एक दिन सायद, यस्तै कुरामा मैले कम्युनिस्ट भन्नुपर्नेमा कांग्रेस भनेँ कि ? अथवा कांग्रेस भन्नुपर्नेमा कम्युनिस्ट भनेँ, त्यति यकिन छैन । ऊ ठुस्किएर हिँडीदिई । बोलचाल नै बन्द भयो । उ रिसाएपछि मेरो त्यो गाउँ, गाउँ जस्तै लागेन र डरलाग्दो जंगलमा परिणत भइदियो ।

उठ्दा–बस्दा, हिँड्दा–खाँदा कसैगरी पनि ‘त्यो झुसी गाउँमा बस्ने इच्छा भएन । तर, कक्षा ९ को विद्यार्थी, एसएलसीको फर्म भर्ने बेला । यति सामान्य कुराले यति मन पोल्यो, आमासँग फर्म भर्न पैसा लिएँ र गाउँ छाडेँ ।

अँ, हिँड्ने बेलामा मैले उसको नाममा ‘दर्दनाक र धम्कीपूर्ण पत्र’ भाइको हातमा राखिदिएँ । मेरी स्वघोषित प्रेमिकाले पार्टीको वा कुनै पनि नाममा झगडा गर्ने छैन भन्दै कमस खाएर फकाइछ भने मात्रै गाउँ फर्कन्छु भन्ने थियो ।

तर, काँकरभिट्टाको गाडी चढुञ्जेलसम्म पनि मलाई फर्काउन कोही आएन ।

पछि थाहा भयो, सधैँजस्तो यसपटक पनि मैले लेखेको पत्र पढेर अच्युतले मज्जा लिएछ र पढेपछि नजिकैको नालामा गंगा स्नान गराएछ ।

गाउँ छाड्दा मसँग अरु दुई साथीहरु पनि थिए, आफ्नै उमेरका एकजना मामा र लगौंटिया साथी लभकुमार भुजेल । हामी लाहुरे बन्न चाहन्थ्यौं । दार्जीलिङमा नेपाली केटालाई आर्मीमा भर्ती लिन्छ भन्ने सुनेका थियौं ।

उनीहरुका अगाडि दार्जीलिङका विषयमा जान्नेसुन्ने मै थिएँ । किनभने प्रकाश कोविदका उपन्यासमा दार्जीलिङका चोक–चोकका वर्णन हुन्थे । ती पुस्तक पटक–पटक पढेका कारण सिलिगुडीदेखि खरसाङसम्मका चोक, सिनेमा घर, छुक्छुके रेल र चियाबगान सबै कण्ठस्थ थिए । कतिसम्म भने ती उपन्यासका पात्रहरु पनि सपनीमा आइरहन्थे ।

दार्जीलिङ पुगेपछि मलाईजस्तै उनीहरुलाई पनि थाहा भयो, पुस्तकमा वर्णन गरेजस्तो दार्जीलिङ रहेनछ । बिराटनगरबाट दार्जीलिङ पुग्न जति सजिलो थियोे, त्यहाँ खान बस्न र भर्ति हुन उत्तिकै गाह्रो ।

पैसा सकिन थालेकाले त्यहाँ पुगेको भोलिपल्टैदेखि १५–१६ वर्षको किशोर बिरानो देशमा जसरी आत्तिन थाल्छ, हामी फरक भएनौं ।

त्यो सानो सहरमा नेपालदेखि आएका केटाहरु अल्मलिएको कुरा वरपर जानकारी नहुने कुरै थिएन । केही मान्छेहरुले हाम्रो बारेमा सोधपुछ सुरु गरेका थिए । तीमध्ये एउटा मान्छेले सुटुक्क लभकुमारलाई फकाएछ । केही दिनमै सानो होटेलमा हामीलाई राखेर ऊ लापत्ता भयो ।

दार्जीलिङको सानो बजारमा दुई दिनसम्म खोज्दा पनि उसलाई फेला पार्न सकेनौं । हामीभन्दा बलियो लभकुमार नै हराएपछि हाम्रो भर्ती हुने कलिलो रहर धर्मरायो । तैपनि आशा मामासँग थियो । उनी मभन्दा केही बलिया नै थिए । १५ दिन नपुग्दै उनी पनि घरतिर फर्कन्छु भनेर गनगन गर्न थाले । चियाकमान र चौरास्ताको चक्कर लगाएर केही गर्न सकिँदैन भनेर सम्झाउन थालें । मैले घर फर्किन मरिगए पनि मानिनँ । अन्ततः त्यो पहाडी सहरमा, नेपालीभाषी भए पनि विदेशमा, मलाई एक्लै छाडेर मामा पनि घर फर्किए ।

स्वघोषित प्रेमिकालाई त्यत्रो धम्कीपूर्ण पत्र लेखेर हिँडेको मान्छे, लाहुरे नबनी कसरी फर्कने ? लाहुरे बन्न नसके पनि दुई–चार पैसा नकमाइकन, केही नबनिकन कुन मुखले फर्कने ? ‘मरिगए पनि फर्कन्न ।’ मेरो मनले यस्तै सोच्यो ।

कांग्रेस जन्माउने वीपी र कम्युनिस्ट जन्माउने पुष्पलालले सुदुर भविष्यमा हाम्रो कारण यसरी गाउँ विभाजित हुन्छ र यही निहुँमा एउटा कलिलो प्रेमी विदेशिनुपर्छ भन्ने कल्पना पनि गरेका थिएनन् होला । उनीहरुले कल्पना नगरेर के हुन्थ्यो, १६ वर्षे जोवनमा दार्जीलिङेका सडकहरुमा भोकभोकै भौंतारिने म अझै जीवित छु ।

००००

‘यो दार्जीलिङभरिमा कोही चिनेको छ ?’

‘छैन ।’

‘त्यसोभए कसोरी दिने त । बस्ने जग्गा पनि छैन ।’

‘यही दोकानमा सुत्छु नि त ।’

‘चोर्यौ भने ?’

‘चोर्दिनँ । चोरजस्तो देखिन्छु र ?’

‘एउटा बंगालीलाई राखेको थिएँ । चोर थिएछ । थाहै भएन । नचिनेकोलाई राख्दिनँ । जमानी बस्ने मान्छे खोज ।’

अहिले सम्झन्छु, भानुभक्तको सालिकको पछाडितिर एउटा प्रिन्टिङ प्रेस थियो । त्यो प्रेसलाई आवश्यक पर्ने सामग्रीहरु त्यो पसलमा बिक्री हुन्थ्यो । पसल र प्रिन्टिङ प्रेस सायद फरक मान्छेको थियो । किनभने प्रेसको मान्छेले त्यहाँका सामग्री पैसा तिरेर किनेको देखिरहेको थिएँ । केही दिन त्यहीँ वरपर घुमिरहँदा मलाई त्यो मान्छे असलजस्तो लागेको थियो र काम माग्न पुगेको थिएँ ।

गल्लीबाट निस्किएर पुनः भानुभक्तको पूर्णकदको सालिकनेरको फल्याकमा बसिरहेको थिएँ । अचानक मलाई दार्जीलिङमा एकजना मान्छे चिनेको याद आयो । म हुर्रिएर पसले नजिक पुगें ।

ऊ प्याकेटबाट प्रेसका अक्षरहरु निकाल्दै स–साना काठका फल्याकमा मिलाएर राखिरहेको थियो । सिसाका ती अक्षर उल्टा थिए । केही दिनअघि नै ती अक्षर प्रेसमा छापिदाँ सुल्टिएर निस्कन्छन् भन्ने सुनेको थिएँ । यो कौतुहल मेटाउन प्रेसमा गएर निकैबेर उल्टा सिसाका अक्षर कसरी सुल्टा हुन्छन् भनेर हेर्दा प्रेसवालाको गाली पनि खाएको थिएँ ।

‘मैले एकजना मान्छे चिनेको छु, दार्जीलिङको ।’ म आत्तिरहेको थिएँ ।

‘को हो ? कुन जग्गामा बस्छ ?’

‘प्रकाश कोविद । तर, कहाँ बस्नुहुन्छ थाहा छैन । किताब लेख्नुहुन्छ ।’

‘चित्र बनाउने हो ? राई मास्टर हो ?’ उसले नाम सुनेपछि एकछिन सोचेजस्तो गर्‍यो ।

‘राई हैन होला । किताबमा प्रकाश कोविद लेखेको छ ।’

‘नाम जे लेखे पनि चिनेको भए हुन्छ । यहाँ कुन जग्गामा बस्नुहुन्छ ?’

‘थाहा छैन ।’

‘अनि कसरी चिनेको ?’

‘त्यही किताब पढेर ।’

ऊ मज्जाले हाँस्यो ।

जुन रफ्तारमा अनुहारमा आशाको ज्योती बलेको थियो, उसको खिसीटिउरी हाँसोले हुरी आए झैं त्यही रफ्तारमा त्यो निभ्यो । मैले पो मेरो प्यारो लेखकलाई पुस्तकमा पढेर चिनेको थिएँ । उनले मलाई कसरी चिन्नु ? उनी कहाँ बस्छन्, कसरी थाहा पाउनु ?

कोविदका पुस्तक पढ्ने बानी गराइदिने बाबुराज दाइले मात्र होइन, नेपाली पढाउने शास्त्री सरले पनि लेखकले छद्म नाममा पुस्तक लेख्ने गरेको बताउने गर्दथे । अझ मुखिया सरले त प्रकाश कोविदको पुस्तक पढ्छु भन्दा गाली नै गरेका थिए । यस्तो अवस्थामा यो बिरानो सहरमा मैले त्यो मान्छे कहाँ भेट्ने ?

‘म न्याउरो अनुहार बनाएर फेरि भानुभक्तको सालिककै छेऊमा फर्किएँ । एक्लो भएयताका तीन दिन त्यहीँ वरपरका केटाहरुसँग घुस्रिएर सुतिरहेको थिएँ ।

नेपाल र भारतका विभिन्न ठाउँबाट आएका भर्खरका केही केटाहरु दिनभरि काम गरेर त्यहीँ सुत्न आइपुग्थे । नयाँ मान्छेलाई बिना सोधखोज सुत्न दिने उनीहरुको अलिखित संविधान थियो क्यारे । तर, उनीहरुको फोहोरी र गन्हाउने शरीर मलाई पचिरहेको थिएन । यो चौथो रात पनि त्यहीँ बित्ने भयले म आक्रान्त थिएँ ।

दिनभरि खाली–खाली लाग्ने चौरास्ता चोक साँझ परेपछि गुल्जार हुन्छ । त्यहाँ नेपाली टोपी लगाएका मानिसहरुको यो विदेशी भूमिमा नेपाली भाषामै चर्को बहस सुरु हुन्छ । नौ कक्षासम्म पढेकाले उनीहरुका कुरा सबै नबुझे पनि उनीहरु स्वतन्त्रताका कुरा गरिरहेका छन् भन्ने लख काट्न थालिसकेको थिएँ । तर, छेऊछाउ बसेर एउटा अपरिचित केटोले कुरा सुनेको उनीहरुलाई सायद मन पर्दैनथ्यो । मलाई छेऊमा नआए हुन्थ्यो भन्ने भाव झल्किरहेको पाउँथे ।

त्यो दिन पनि साँझ नपर्दै मान्छे जम्मा भैरहेका थिए । म तटस्थ भावमा उनीहरुको गतिविधि नियाल्न थालेको थिएँ ।

‘ओ भाइ, लौ यता आऊ ।’ एउटा तिखो बोली मेरो कानमा पर्‍यो । बोलिरहेका मान्छेहरुले पनि फर्किएर आवाजतिर हेरेपछि मैले पनि हेरेँ ।

त्यो मान्छे, त्यही पसले थियो, जसले मलाई चिनेको मान्छे ल्याए जागिर दिन सक्ने सम्भावना थियो । ऊ अघि लागेर पसलभित्र पस्यो । म उसको पछिपछि पुगेँ ।

पसलभित्र एकजना चिम्सो आँखा भएको तर, चम्किलो मान्छे एउटा कुर्सीमा आराम साथ पत्रिकाको अन्तिम पातो पढ्दै थिए । छेऊमा भरिएको चिया ग्लासबाट बाफ आइरहेको थियो । मैले पत्रिकाको नाम पढेँ, ‘सुनचरी’ । नेपाली भाषामा भारतमा पत्रिका निस्कन्छ भन्ने मलाई त्यो बेलासम्म थाहा थिएन, अचम्म लाग्यो ।

‘उहाँलाई चिन्छौ ?’ पसलेले मलाई सोध्यो ।

म चुप लागेँ । यो अजनविज्ञ सहरमा कसैलाई चिन्न सक्ने कुरै थिएन ।

‘डा. साब, नेपालबाट आएको भनेको यही केटा हो ।’ पसलेले श्रद्धापूर्वक झुकेर त्यो मान्छेसँग भन्यो, ‘काम माग्दैछ । कोही मान्छे चिनेको छैन तर लेखक चिन्छु भन्छ ।’

‘नेपाल कुन ठाउँ बाबु ? कुन लेखक चिन्छौ ?’

‘विराटनगर हजुर । मैले चिनेको यहाँ कोही पनि छैन ।’

‘अनि किताब लेख्ने मान्छे चिन्छु भनेको होइन । उहाँ त हो नि किताब लेख्ने ।’ पसलेले त्यो व्यक्तिलाई प्रभावित बनाउने प्रयास गरेजस्तो लाग्यो ।

म छक्क परेँ । किताब लेख्ने मान्छे यस्तो प्रकृतिको हुन्छ भन्ने मेरो कल्पनामा पनि थिएन । सायद, म लेखकलाई मान्छेका रुपमा सोच्दिन थिएँ ।

‘को चिन्छौ लेखक ?’ लेखक भनिएका ती सुकिला मान्छेले सोधे ।

‘प्रकाश कोविद ।’ मैले सकेसम्म आदरपूर्वक आफूलाई मनपर्ने लेखकको नाम भनेँ ।

‘प्रकाश कोविद भनेको त्यही चित्र बनाउने होइन ? त्यो माथि स्कुलमा पढाउने ?’ पसले जिज्ञासु बनेर फेरि ती सुकिला मानिससँग झुक्यो ।

‘हो हो । त्यही राई साँहिला नै हो । उसले त धेरै लेख्यो नि हो । साह्रै पोपुलर पो थियो । विचरा ।’

‘अघि नै यो भाइले भन्दा उही हो भन्ने शंका त लाग्दै थियो’, यति भन्दै पसले मतिर फर्किएर भन्यो, ‘लौ प्रकाश कोविदले तिमीलाई जागिरमा राख भोन्नुभयो भने एउटा जग्गा तिमीलाई जसरी पनि मिलाउँछु । कि कसो डाक्टरसा’ब ?’

मेरो अनुहार उज्यालो हुँदै थियो । तर, सुकिला भरिला लेखकले तुरुन्तै भने, ‘हैन हैन, उनी त गए नि हौ । तीन महिना पो भैसक्यो । पित्त बिग्रिएको रैछ । बाँचेनन् त ।’

अचानक मेरा खुट्टा लुला भए । मनपरेको लेखक मरेको खबर सुनेर हो कि, पाउन आँटेको जागिर खुस्कियो भनेर । म लगलग काँपेर उभिरहेँ ।

००००

१२ वर्षमा खोला फर्कन्छ भन्ने नेपाली आहान छ । तर, मैले १० वर्षपछि दार्जीलिङ फर्कने अवसर पाएँ । अब म प्रेमिकाको रीसले होइन, पत्रकारको हैसियतले तलवी घुमन्तेका रुपमा त्यहाँ पुगेको थिएँ । मसँग वर्षभरि काम गरेपछि पाइने २४ दिनको विदा थियो ।

दसैं र तिहारको बीचमा हुने शुभ्र मौसममा दार्जीलिङ पुग्ने सूचना पाएपछि सम्पादकले त्यहाँका केही विशिष्ट व्यक्तिको अन्तरवार्ता पनि ल्याउन निर्देशन दिएका थिए ।

प्रकाश कोविद बाँचिरहेका भए सायद सम्पादकले नभने पनि उनको अन्तरवार्ता लिन्थेँ हुँला । मलाई पहिलोपटक कोही व्यक्तिसँग पत्रकारको रुपमा भेट्न नपाएकोमा चुकचुकी लागिरह्यो । यस्तो व्यक्ति, जसले म पत्रकार हुनुअघि नै संसार त्यागिसकेका थिए ।

पहिलोपल्ट दार्जीलिङ पुग्दा प्रकाश कोविद बाँचेका भए म कुनै न कुनै किसिमले उनलाई भेट्थेँ हुँला र उनको उपन्यासको प्रशंसा गर्दै जागिर माग्थेँ हुँला । उनकै जमानीमा जागिर पनि पाउँथे हुँला र, अझै पनि दार्जीलिङको त्यो प्रेस छेऊको पसलमा प्रेमिका सम्झँदै काम गरिरहेको हुन्थेँ हुँला । प्रकाश कोविदको मृत्युले त्यस्तो केही भएन र त्यो मूल कथा त्यहीँ सकिएजस्तो भयो ।

तर, जीवन त्यति सजिलो कहाँ छ र ? मान्छेले एउटा मूल कथा लेख्दै जाँदा भेटिने सहायक पात्रहरु कुनबेला शक्तिशाली भएर उदाउँछन् र जीवनमा नयाँ मोड ल्याइदिन्छन्, कसरी भन्न सकिन्छ र ? त्योबेला केटौले लहडमा लेखिएको दार्जीलिङको अपूरो कथाको च्याप्टर ८ वर्षपछि काठमाडौंमा अलिकति र १० वर्षपछि दार्जीलिङमा पुरै खुल्छ भन्ने कुरा सायद ईश्वरलाई मात्र (ईश्वर छन् भने) थाहा थियो ।

००००

प्रज्ञा प्रतिष्ठानमा एउटा साहित्यिक कार्यक्रम भएकाले पत्रकार र नेपाली साहित्यका विद्यार्थीको हैसियतले पुगेको थिएँ । कार्यक्रम के थियो, त्यो अहिले मरिगए पनि सम्झन सकिनँ । तर, प्रमुख अथितिका रुपमा माला र ब्याच लगाएर जो बसेका थिए, मैले उनीबाट मरिगए पनि आँखा हटाउन सकिनँ । अझ उद्घोषकले बारम्बार उनको महिमागान गाइरहँदा मलाई रुँलारुँला जस्तो भइरहन्थ्यो । उद्घोषक बेलाबेला भन्थे, ‘तेस्रो आयामका प्रणेता…लीला लेखनका अध्येता…समालोचना र निबन्धका आइस्टाइन…इन्द्रबहादुर राई… उनका कृतिका विषयमा, उनको आन्दोलका विषयमा जति बोले पनि कम हुन्छ …आजको युगमा यो उचाइको लेखक नेपाली भाषामा पाउनु गौरव मात्रै होइन, महा गौरवको कुरा हो..।’

अन्तिम सिटमा, दर्शकदीर्घाबाट म सकेसम्म अनुहार लुकाउने प्रयास गर्छु र डराउँछु, कतै मलाई उनले चिनिहाले भनेँ ? ८ वर्षपछि पनि उनी जस्ताका तस्तै थिए र उही शैलीमा मञ्चमा आसीन थिए । छक्क पर्छु, दार्जीलिङको चौरास्ता चोकबाट भित्र, भानुभक्त सालिक हुँदै छिर्ने गल्लीको भित्रतर्फ प्रेसको सामग्री बेच्ने दोकानको कुर्सीमा बसेर सुनचरी पत्रिकाको अन्तिम पाना पढ्दै गरेको सुकिलो चिम्सा अनुहार भएको व्यक्ति अरु कोही नभएर यिनै इन्द्रबहादुर राई पो रहेछन् ।

मैले प्रकाश कोविदको प्रशंसा गर्दा उनी तीन महिनाअघि नै बितेको खबर सुनाउँदै गर्दा राई दुःखी भएका थिए । त्यति मात्र होइन, आफू उँचो र प्रतिष्ठित व्यक्ति भए पनि आफूलाई नचिनाई प्रकाश लोकप्रिय लेखक भएको स्वीकार्ने उनी नै थिए ।

संसारका प्रशिद्ध कृति पचाएर विद्यावारिधि गरेर पाएको ज्ञान निचोरेर लेखेका उपन्यास र कथा नपढेर किन प्रकाश कोविदलाई पढ्यौ भन्ने भाव नल्याउने पनि उनै थिए ।

सबैभन्दा ठूलो कुरा, पढिरहेको मान्छे, किन परदेश आयौ ? नेपाल फर्किएर राम्रोसँग पढ, बरु काठमाडौं जाऊ । त्यहाँ मैले चिनेका मानिस छन्, चिठ्ठी लेखिदिउँला भनेर आश्वासन दिने पनि उनै थिए ।

००००

काठमाडौंमा उनलाई देखेको दुई वर्षपछि र दार्जीलिङबाट फर्किएको १० वर्षपछि म सिधै इन्द्रबहादुर राईको घर पुगेँ । होटलमा पनि नबसी लोचनगरस्थित कन्भेन्ट रोडमा बनेको पुरानो काठले बनेको कलात्मक घरमा बसिरहेका इन्द्रबहादुर राईलाई भेट्ने मेरो औडाहाको पछाडिको कथा मसँग यात्रारत भाइ (हाल नागरिक दैनिकका कला संयोजक) सामिप्यराज तिमल्सेनालाई थाहा थिएन । सोधखोज गर्दै म उनको घरमा यसरी बसेँ, मानौं वर्षौं विछोडिएको छोरो घर फर्किएको होस् ।

‘ए तिमी पो थिएछौ । मैले त बिर्सिपो सकेँ । बुढो भएँ नि त ।’

घरबाट भागेर पहिलोपटक दार्जीलिङ आएको र प्रकाश कोविदलाई खोज्दा उनलाई भेटेको कुरा सुनाउँदा उनी साच्चै नै खुसी भए । मानिसको मनमा बस्न प्रेम हुनैपर्छ भन्ने छैन, प्रेमपूर्ण घटना पनि काफी हुँदोरहेछ भन्ने कुरा आज पनि ती कुरा सम्झँदा महसुस गर्छु ।

तीन दिनसम्म उनको घरमा बसेर उनकी ममतामयी श्रीमती मायादेवी (थापा ) को हातको खाना खाएर दार्जीलिङ घुमियो । त्यहाँका प्रशिद्ध व्यक्तिलाई पनि भेटियो । तर, जुन आतिथ्य इन्द्र सरको घरमा थियो, त्यो कहीँ कतै पाइएन ।

सामीप्य अंग्रेजी साहित्यको विद्यार्थी भएका कारण इन्द्र सरसँग अझ बढी गफियो । मैले मायादेवीसँग बढी समय बिताए । फर्केर आउँदा मसँग उहाँहरु दुबैसँग खिचेका तस्वीर थिए । पत्रकारका रुपमा कुराकानी गरिएका अन्तरवार्ता थिए । सिलीगुडीमा रहेका नातिनातिनाका किस्साहरु थिए । डायरीमा टिपिएका तीमध्ये केही पत्रिकामा छापिए, धेरै हराए । आज उनका विषयमा स्मरण लेख्न बस्दा न तस्विर भेटिए न पुराना डायरी ।

काठमाडौंमा डेरा सर्दै जाँदा धेरै कुरा हराएका छन्, ती मध्ये नेपाली भाषालाई विश्वभर फैलाउन अहोरात्र खटिने इन्द्रबहादुर राईसँग खिचिएका तस्वीर र टिपिएका डायरीहरु पनि परेछन् । तैपनि उनले जीवन संगीनीका विषयमा गरेका कुराकानी, नेपाली साहित्यसँगको प्रेम र संसारभरि छरिएका नेपाली भाषीप्रतिको मोहका विषयमा यति लामा कुरा गरे, मेरो जीवन नै धन्य बन्न पुग्यो ।

त्योबेलाको बसाइको एउटा मात्र प्रमाण अहिले मसँग सुरक्षित छ । टेवल मुन्तिर अपहेलनामा परेर काठको चेपमा अल्झिएको एउटा सानो कागजको टुक्रा कविता, जसलाई मैले जतनसाथ पर्समा राखेको थिएँ । जुन दार्जीलिङतिरकै कुनै पत्रिकामा छापिएको हुनुपर्छ ।

‘…सुन्यौ ? तिमी काठमाडौंको भयौ रे

जन्मभूमिलाई भन्यौ रे,

म ता सधैं सधैंलाई यतै आए“

आज मध्य संघर्षमा

पङ्ति हाम्रो पातलिएको पाउ“दा

एकछिन

खिन्न बनेको क्षण छ

हतास बनेको क्षण छ…’

२०७४ फागुन २६ गते ८:५४ मा प्रकाशित (२०७४ फागुन २८ गते ९:४६मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • Bikash लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १३:०९

    हामी नेपाली हरु ले , नेपाली लेखक को बिषयमा पद्न छारे जस्तो छ !
    हि पाप- र -रक मा भुलिएर, जति र भाषा बिर्सिए जस्तो छ !
    आखा बाट असू खस्यो ! नारायण
    किन भयॊ हाम्रो एस्तो चलन !!!

    3
    0
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते १९:५५

    nikkai raamro laagyo IB sir prati tapaai ko shradaanjali

    5
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this