Comments Add Comment

वीपी राजमार्गमा प्रतिवन्धित सवारीको रजगज, उच्च जोखिममा सडक

यातायात विभाग र प्रहरी आरोप-प्रत्यारोपमा उत्रिए


२६ फागुन, काठमाडौं । बीपी राजमार्गमा पछिल्लो समयमा अनाधिकृत रुपमा सवारी चलाउने क्रम तीव्र भएको छ । यातायात व्यवस्था विभाग र राजमार्गमा खटिएका जनपथ प्रहरी र ट्राफिक प्रहरीसँगको सेटिङमा राजर्मागमा दैनिक सयौं अनाधिकृत सवारी चलिरहेका छन् ।

तर, दुबै निकाय एकअर्कालाई आरोप लगाउँदै त्यसलाई नियन्त्रण्मा उदाशीन बनेका छन ।

आर्थिक चलखेलका आधारमा सिन्धुली-खुर्कोट खण्डमा प्रतिवन्धित ठूला र मालबाहक सवारीलाई आवात-जावत गर्न दिइँदैछ । जसले बीपी राजमार्गको अस्तित्व नै संकटमा पार्ने अवस्था आएको सडक विभागकै अधिकारीहरु बताउँछन् ।

‘प्रहरी र यातायात विभागको सेटिङमा ठूला र मालबाहक सवारीलाई आउन-जान दिइँदैछ । विभाग पनि नियमित अनुगमनमा जाँदैन’ सडक विभागका एक अधिकारी भन्छन्,’नमूना राजमार्गमा रुपमा बनाइएको बिपी हाइ-वेको भविष्य दीगो नहुने अवस्था आइसक्यो ।’

विभागको स्वीकारोक्ती, ट्राफिकको अापत्ति

यातायात व्यवस्था विभागमा महानिर्देशक रुपानारायण भट्टराई पनि यो कुरा स्वीकार्छन् । उनले विभागले एक वर्षका बीचमा वीपी हाइ-वेमा अनाधिकृत रुपमा चलेका १ हजारभन्दा बढी सवारीलाई कारवाही गरिएको बताउँछन् । ५ सयभन्दा बढीको रुट इजाजत खारेज गरिएको उनको दावी छ ।

‘हामीले कारवाही गरेपछि सेटिङमा राजमार्गमा ती गाडी चलिरहेकै छन्,’ भट्टराई भन्छन,’हामी रोक्न सँधै राजमार्गमा बस्न सक्दैनौं । त्यसको फाइदा प्रहरी र व्यवसायीले उठाइरहेका छन् ।’

तर, ट्राफिक प्रहरी यसलाई स्वीकार्दैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख सहायक निरीक्षक चन्द्र श्रेष्ठ यातायात व्यवस्था विभागको दोहोरो भूमिकाका कारण समस्या सिर्जना भएको बताउँछन् ।

‘सिन्धुलीमाडीसम्म जत्रा पनि गाडी आउन पाउँछन् । एउटै गाडीलाई तराईबाट सिन्धुलीसम्मको र खुर्कोटबाट काठमाडौंसम्मको पनि रुट इजाजत दिइएको छ,’ श्रेष्ठ भन्छन्,’यात्रु लिएर सिन्धुली आएको गाडीसँग खुर्कोटबाट काठमाडौं जाने रुट इजाजत पनि हुन्छ । यस्तो अवस्थामा बीचको बाटोमा गाडीलाई उडेर जानुस् भन्न मिल्दैन । यात्रुलाई ओरालेर अलपत्र पार्न पनि मिलेन ।’

उनले दुई स्थानमा गाडीको तौल जाँच्ने काँटा नराखेसम्म मालबाहक सवारीलाई पनि नियन्त्रण गर्न नसकिने बताए । विभागले राजमार्गमा निषेध गरेको सवारीको मापदण्ड पनि अब्यवहारिक भएको भन्दै सहायक निरीक्षक श्रेष्ठले कतिपय अवस्थमा व्यवहारिक पाटोलाई हेर्नुपर्ने अवस्था पनि रहेको बताए ।

‘पुनर्निर्माणको कामका लागि सामाग्री ल्याउँदा हामीले रोक्यौं, त्यसमा व्यवसायी र पीडित नै हामीविरुद्ध उत्रिए,’ श्रेष्ठ भन्छन्,’ विभागले विनाआधार ट्रक र टि्रपरलाई पनि इजाजत दिएको छ । हामीलाई दोष लगाएर विभाग आफू उम्किन खोजेर मात्रै हुुँदैन ।’

यो राजमार्गमा रुट इजाजत नलिएका र सो राजमार्गमा चल्न नपाउने ठूला क्षमताका सवारी नियमित चलिरहेका छन् । १८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध लगाइएको खुर्कोट-सिन्धुली खण्डमा ठूला बस चलिरहेका छन् ।

तर, ४० सिटसम्मका बस पनि राजमार्गमा चलिरहेको विभागको स्वीकारोक्ती छ । यातायात ब्यवस्था विभागले पछिल्लो समयमा बिपी राजमार्गमा रातको समयमा सार्वजनिक सवारी चलाउन पनि रोक लगाएको छ । यो राजमार्गमा १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्था पनि छ ।

जोखिममा जापानले बनाएको सडक

तर, नियमलाई उल्लंघन गरी ठूला यात्रुबाहक बस र ट्रकहरु चलाइँदैछ । यो राजमार्गले पूर्वको १५ जिल्लासँगै तराईका सात वटा जिल्लालाई राजधानीसँग जोड्छ । साँघुरो भएकाले यो राजमार्गको उच्च भारबहन क्षमता छैन ।

विपी राजमार्ग जापान सरकारको अनुदानमा निर्माण भएको हो । राजधानीबाट बनेपा, सिन्धुली हुँदै बर्दिबास जोड्ने विपी राजमार्ग ०५२ सालमा निर्माण सुरु गरिएको थियो । यसलाई काठमाडौं-पूर्वी तराई जोड्ने वैकल्पिक राजमार्गका रुपमा लिइन्छ ।

एक सय ६० किलोमिटर लम्बाई रहेको यो राजमार्ग करिव २० वर्ष लगाएर निर्माण गरिएको थियो । यो राजमार्गमा २६ अर्ब जापानी येन लगानी भएको थियो । यो राजमार्गलाई व्यवसायिक बनाएर ठूला सवारीसाधन सञ्चालन गर्न दिइरहेमा छिट्टै ध्वस्त हुने सरकारको प्राविधिक परीक्षणले देखाइसकेको छ ।

तर, आर्थिक प्रलोभनका आधारमा बीपी राजमार्गको ‘दोहन’ लगातार भइरहेको छ । जसमा कारण राजमार्गका विभिन्न भागहरु वर्षेनी भासिने घटना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment