Comments Add Comment

ओली र प्रचण्ड बाहेक अन्य पदाधिकारी नरहने !

बिष्णु पौडेल भन्छन्-अब एमाले र माओवादीबीच प्रतिशतको भागबण्डा हुँदैन

२७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्षबाहेक अरु पदाधिकारी नरहने भएका छन् । बहुपदीय प्रणाली व्यवहारिक पनि नभएको र नेताहरुको व्यवस्थापनमा पनि समस्या हुने देखिएपछि अध्यक्ष बाहेक अरु पदाधिकारी नरहने गरी विधान मस्यौदामा छलफल शुरु भएको छ ।

पार्टी एकता प्रक्रियाको शुरुवातदेखि नै सुत्रधारका रुपमा काम गरेका एमाले उपमहासचिव तथा बिधान मस्यौदा कार्यदलका सदस्य बिष्णु पौडेलले एकीकृत पार्टीमा पदाधिकारीहरु नरहने सम्भावना व्यक्त गरे । उनका अनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षको हैसियतमा रहनेछन् भने अरु पदाधिकारी नरहन सक्छन् ।

दुवै अध्यक्षलाई सघाउने र दैनिक कार्य सञ्चालन गर्ने प्रयोजनका लागि सानो सचिवालय टिम बन्ने सम्भावना छ । दुवै पार्टीका सिनियर नेताहरु समेटेर स्थायी कमिटी गठन हुनेछ । बहुपदीय अभ्यासका बारेमा एमालेभित्रै समीक्षा भइरहेको पौडेलले बताए । उनले भने-हामीले बहुपदीय अभ्यास गर्‍यौं । तर, हिजो मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव हुँदाको जस्तो अवस्था रहेन ।

कार्यदलमा वर्षमान पुन र बेदुराम भुसालले प्रस्ताव गरेको अन्तरिम विधान मस्यौदामाथि दफावार छलफल शुरु भएको छ । चाँडै नै अन्तरिम विधानमा सहमति जुटाएर शीर्ष नेतालाई बुझाउने तयारी रहेको कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण विष्टले बताए । पदाधिकारी नराख्न माओवादी पक्षले औपचारिक प्रस्तावनै गरे पनि एमालेले केही बोलेको छैन ।

‘दुई अध्यक्ष, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको अवधारणाबाट छलफल अघि बढेको छ’ कार्यदलमा रहेका माओवादी नेता जनार्दन शर्माले भने ‘सायद अन्य पदाधिकारीहरु रहने छैनन्’ ।

पार्टी एकता प्रक्रियामा पौडेल एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट र शर्मा माओवादी अध्यक्ष प्रचण्डको तर्फबाट शुरुदेखि नै खटिएका थिए । अहिले एमालेमा बहुपदीय प्रणाली रहे पनि माओवादीमा अध्यक्षमात्र छन् । यदि एकीकृत पार्टीमा बहुपदीय व्यवस्था नभएको खण्डमा एमालेका अहिलेका पदाधिकारीहरु स्थायी कमिटी सदस्यमात्र हुने सम्भावना छ ।

एकीकृत पार्टीको केन्द्रीय कमिटी कति सदस्यीय हुने भन्ने बारेमा अहिलेसम्म छलफल नै नभएको पौडेलले बताए । माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरको अन्तर्वार्ता मार्फत माओवादीको केन्द्रीय कमिटी ९९ सदस्यीय नै हुनसक्ने बताएकी थिइन् । यसको अर्थ एकीकरणका क्रममा माओवादीले ९९ वा त्यसेको हाराहारीमा केन्द्रीय सदस्यको विवरण बुझाउनेछ ।

माओवादीले ९९ केन्द्रीय सदस्यको कुरा गर्नु पार्टी एकताका लागि एक स्टेप सहज भएको पौडेलले प्रतिक्रिया दिए । उनले भने-हामीले केन्द्रीय कमिटीको संख्याबारे अहिलेसम्म व्यक्तिका मन मनमा रहे पनि मुख खोलेको अवस्था छैन । माओवादीले आफ्नो ९९ सदस्यीय केन्द्रीय कमिटी भनेको हो भने त्यो सकारात्मक कुरा हो । त्यसैबाट छलफल गर्न सहज हुन्छ ।

एमालेको २०७ सदस्यीय केन्द्रीय कमिटी छ । एमाले र माओवादीबीच संगठनात्मक एकीकरणका क्रममा कति प्रतिशत बाँडफाँड गर्ने भन्ने टुंगो लागिसकेको छैन । उपमहासचिव पौडेलले भने अब पार्टी एकताका क्रममा प्रतिशतको बाँडफाँड नहुने बताए ।

पौडेलले भने-एमाले र माओवादीबीच एकपटकमात्र ६०/४० प्रतिशत तोकेर लिखित सम्झौता भएको हेा । त्यो भनेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सिट बाँडफाँटका लागि थियो । अब प्रतिशतका आधारमा होइन आवश्यकता, औचित्य र सहमतिका आधारमा हुन्छ । प्रतिशतको कुरा गर्दा थोरै प्रतिशत पाउने पक्षले अपमानित महशुस गर्ने भएकाले त्यसमा हामी जान्नौं ।

दुई पार्टीबीच नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन २२ अपि्रल अर्थात वैशाख ९ गते पार्टीको औपचारिक एकीकरण घोषणा गर्ने तयारी भइरहेको पौडेलले बताए ।

सबैभन्दा पहिले पार्टीको केन्द्रीय कमिटी एकीकरण हुने र त्यसपछि क्रमशः अन्य कमिटी र जनसंगठनहरुको एकीकरण हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment