Comments Add Comment

वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले टोपबहादुरको उद्दार गर्न नसक्ने, यूएईका नेपालीहरू पहल गर्दै

११ मार्च,अबुधाबी । नेपाल सरकारको आधिकारिक निकाय वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले ब्लडमनी जुटाउन नसकेर यूएई समस्यामा परेका चितवन खैरेनीका टोपबहादुर बिकलाई सहयोग गर्न नसकिने आशयको पत्र नेपाली दूतावास अबुधाबीलाई पठाएको छ ।

उक्त पत्र सार्वजनिक भएपछि यूएईको नेपाली समुदायमात्रै नभएर सरोकारवालावीच बोर्डले विदेश जाने हरेक कामदारबाट वैदेशिक रोजगार कल्याणकारी कोषको नाममा विदेश जान श्रम स्वीकृति लिने बेलामा उठाउँदै आएको १५००-२५०० सय (यसभन्दा अगाडि १०००) रुपैयाँको औचित्यमाथि विभिन्न मञ्चबाट प्रश्न उठाउन थालेका छन् ।

सामाजिक संजालहरुमा यस बिषयमा खुल्ला बहस शुरु भएको छ । बोर्डमा असिमित रकम जम्मा भएको र अदृश्य रूपमा भ्रस्टाचार भइरहेको धेरैको भनाइ छ ।

बोर्डका कर्मचारी, सांसद, नेता तथा मन्त्रीहरुलाई विदेश भ्रमण गर्न र पार्टीका कार्यकर्तालाई बाँडन पैसा हुने तर विदेशमा अलपत्र नेपालीहरुको उद्दार गर्न किन नमिल्ने भनी प्रश्न पीडित पक्षले उठाउन थालेका छन् ।

नेपाल पत्रकार महासंघ यूएई शाखाका सचिव मेघराज सापकोटाले बोर्डले नेपाली दूतावास अबुधाबीलाई पठाएको पत्र सार्वजनिक गरिदिएपछि यहाँको नेपाली समुदायमा कल्याणकारी कोषको औचित्यमाथि बहस शुरु भएको छ ।

यसैबीच मृत्युदण्डको सजायबाट मुक्ति पाएर यूएईबाट नेपाल फर्किसकेका अनिश खालिङ राई र उनकै नाममा स्थापना भएको ट्रस्टमा रहेको रकम अनिसको जस्तै समस्यामा परेका नेपाली श्रमिकहरुको उद्दारका लागि खर्च गर्नुपर्ने आवाज युएईको नेपाली समुदायमा उठन थालेको छ ।

अनिशको उद्दारको लागि यूएईबाट मात्रै २५ हजार दिराम संकलन भएको तत्कालीन लेखा प्रमुख हाल एनआरएन यूएईका महासचिव कृष्ण पौडेलले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

अनिशकै सहयोगका लागि विभिन्न देशहरूबाट ३ करोड १७ लाख रुपैया संकलन भएको थियो । उक्त रकम मध्ये २ करोड ३० लाख रुपैयाँ अनिशकै नाममा स्थापना भएको कोषमा रहेको छ । तर, अनिश जस्तै वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले स्थापित यो कोष यूएईमै ब्लडमनी तिर्न नसकेर बिचल्लीमा परेका टोपबहादुर बिक, लोकेस खतिवडा र कृष्णप्रसाद प्रसाईको विषयमा मौनता साधेर बसेको छ ।

टोपबहादुरको सहयोगका लागि यूएईका नेपालीले सहयोग गर्ने

यसैबीच यूएईमा रहेका नेपालीले आर्थिक संकलन गरेरै भए पनि टोपबहादुर बिकलाई नेपाल फिर्ता पठाउन कम्मर कसेका छन् । यसका लागि एनआरएन यूएईको संयोजकत्वमा यहाँ क्रियाशील सबै सामाजिक संस्थाहरुले सहयोग संकलन अभियान सुरू गरेका हुन् ।

यूएईको राजधानी अवुधाबीस्थित नेपाली दुतावासमा मार्च ९ शुक्रबार छलफल गरेर आर्थिक संकलन अभियान सुरू गर्ने निर्णय गरेका हुन् । एनआरएन यूएईको संयोजकत्वमा भएको छलफलले बिकको उद्दारका लागि आर्थिक सहयोग संकलन अभियान चलाउने निर्णय गरेको एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

उक्त सहयोग संकलन समितिमा युएईका सक्रिय सामाजिक संस्थाहरु नेपाली समाज यूएई, जनसम्पर्क समिति, प्रवासी मंच, जनप्रगतिशील मञ्च, जनजाति महासंघ, चितवन समाज र विश्वकर्मा समाज उप-संयोजक तथा युएईमा रहेका सबै नेपाली संघसस्थालाई पदेन सदस्य तोकीएको छ । समितिले मार्च १६ शुक्रबार सबै सस्थाका प्रमुखहरूसंग दुबईमा छलफल गरी समय सीमा तोकी आर्थिक संकलन गर्ने निर्णय गरेको छ ।

चार वर्षअघि कार्यस्थलमा भएको दुर्घटनामा दुई जना थाल्याण्डका नागरिकको मृत्यु भएपछि विश्वकर्मासहित एक पाकिस्तानी नागरिकलाई दोषी ठहर गर्दै अदालतले ब्लडमनी भुक्तानको सजाय सुनाएको थियो ।

अदालतको फैसला अनुसार विश्वकर्माले एक लाख दिराम (करिब २९ लाख नेपाली रूपैयाँ) तिर्नु पर्ने हुन्छ । दुर्घटना हुदा टोपबहादुर क्रेन अपरेटरको हेल्परको रूपमा काम गरेका थिए भने क्रेन पाकिस्तानी नागरिकले चलाएका थिए। क्रेनको बकेट खसेर थाईल्याण्डका दुई नागरिकको मृत्यु भएको थियो ।

सहयोगको अपील गर्दै पटक-पटक दुतावास धाएका टोपबहादुरको उद्दारका लागी आवश्यक ब्लडमनि सहयोग गर्न नेपाली दुतावास अवुधावीले बैदेशिक रोजगार प्रवर्द्वन बोर्डलाई पत्राचार गरेको थियो ।

बोर्डले ब्लडमनी बापतको रकम सहयोग गर्न कानूनी व्यवस्था नरहेको भन्दै सहयोग गर्न नसकिने व्यहोराको जवाफ पठाएको छ । टोपबहादुरको सहयोगका लागि एनआरएन आईसीसीले ब्लडमनीको दश प्रतिशत रकम (करिब २ लाख ८० हजार रुपैयाँ ) सहयोग गर्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।

लोकेस र कृष्णप्रसादलाई कसैले सम्झेनन्

नेपाली दूतावास परिसरमै आयोजना भएको छ्लफल कार्यक्रममा १ लाख दिराम ब्लडमनी तिर्न नसकि अन्योलमै बस्न बाध्य ताप्लेजुङका लोकेश खतिवडा र उस्तै प्रकृतिको समस्या झेलिरहेका झापाका कृष्णप्रसाद प्रसाईलाई कसैले सम्झेनन ।

यी दुबै केस बारे नेपाली दूतावास अबुधाबी अनभिज्ञ पनि छैन । दुबै जना सबैको सहयोगको याचना गरिरहेका छन् । झापाका कृष्णप्रसाद प्रसाईलाईं पनि यहाँको अदालतले पीडित पक्षलाई २ लाख दिराम ब्लडमनी तिरेर जेलमुक्त हुन सक्ने फैसला गरेको छ ।

अति निम्न आर्थिक अवस्थाका खतिवडा र प्रसाईंका नेपालमा रहेका श्रीमतीहरुले नेपाली दूतावास अबुधाबी र यूएईमा क्रियाशील जिम्मेवार सामाजिक संस्थाहरुलाई सहयोग गरिदिन अपील गरेका छन् ।

अनिसको नाममा उठाइएको रकमको खोजी शुरु

यूएईको जेलमा रहदा मत्सपोखरी संखुवासभाका अनिस खालिङ राईको उद्दारका लागि विश्व भरिबाट संकलन भएको करिब तीन करोड १७ लाख रुपैयाँको खोजी शुरु भएको छ ।

अनिस खालिङ ट्रस्टको नाममा रहेको करोडौं रकम अनिसका काका मूल समितिका तत्कालीन अध्यक्ष नारद राई र अनिसको श्रीमतीको नाममा ग्लोबल आईएमई बैंकको चावहिल शाखामा रहेको र उक्त रकम ब्लडमनी तिर्न नसकी यूएईमै बिचल्लीमा परेका खतिवडा र प्रसाईंहरुको लागि प्रयोग गर्नुपर्ने जोडदार माग यूएईका सामाजिक अभियन्ताहरुले उठाउन थालेका छन् ।

अनिसकै उद्दारका लागि यूएई पठाइएको र उक्त रकम तिर्न नपरेपछि नेपालको परराष्ट्र मन्त्रालयमै फिर्ता भएको करिब ८० लाख रुपैयाँको पनि यूएईका सामाजिक अभियन्ता कृश घिमिरेले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment