२७ फागुन, डोटी । डोटी पूर्वीचौकी गाउँपालिका घर भएका महेश बोहरा (नाम परिवर्तन) आइतबार बिहानै पाँच वजेतिर जिल्ला सदरमुकाम सिलगढीको एक नीजि घर आँगनमा झाडु लगाउँदै गरेका देखिए ।
उमेरले १४ वर्ष मात्रै पुगेका उनी बत्तीको उज्यालोमा झाडु मार्दै थिए । एक वर्ष अगाडिदेखि स्थानीय एक व्यापारीको घरमा काम गर्दै आएका उनको दिनचर्या प्रत्येक दिन बिहान पाँच बजे आँगन सफाइबाटै सुरु हुन्छ ।
झाडुसँगै पानी भर्ने, भाँडा धुने, लुगा धुने लगायतका कामहरु सकेर मात्रै उनी करिब १०.३० बजे स्थानीय पद्म पव्लिक मुक्तीनारायण माबिमा अध्ययन गर्न जान्छन् ।
विद्यालय छुट्टी नहुँदै उनी फेरि घर फर्केर नियमित काममा लाग्छन् । गर्दागर्दै उनी १० बजे राति मात्रै सुत्न पाउँछन् ।
‘बिहानै उठ्न अल्छी लाग्छ, अलि ढिलो उठ्यो भने बाजेले -घर मालिक) गाली गर्नु हुन्छ,’ महेश भन्छन्, ‘दिउसभरी काम गर्दा राती थकाइ लाग्छ ।’
घरायसी कामका कारण नियमित रुपमा गृहकार्य पनि गर्न नसक्ने अवस्था रहेको उनी बताउँछन् । ‘पढ्न त धेरै रहर लाग्छ तर के गर्नु समयनै हुँदैन’ उनले गुनासो गरे ।
आर्थिक अवस्था कमजोर भएका कारण काम गर्दै पढ्दै गर्ने सपना बोकेर जिल्ला सदरमुकाम आएका उनी भन्छन् ‘कहिलेकाँही राती निन्द्रा खुलेपछि उठेर गृहकार्य गर्छु ।’ आफू कसैसँग यस्ता कुरा गरे साहुँले गाली गर्ने गरेको समेत उनको भनाइ छ ।
यस्तै पीडा छ साविकको बगलेक गाबिसका अर्का १५ वर्षीय एक बालक अरुण (नाम परिवर्तन) को । करिब ८ महिना अगाडि घर छोडेर जिल्ला सदरमुकाममा एक पसल धनीको घरमा काम गर्दै आएका उनी भन्छन् ‘आण्टी (घरधनी) ले बिहानै उठ् भन्दा घरको याद आउँछ ।’
घरमा बिहान ७/८ वजेसम्म सुत्ने गरेको सम्झदैँ सिलगढी आएदेखि कुनै दिन पनि निन्द्रा नपुगेको उनी वताउँछन ।
महेश र अरुणको मात्रै कुरा होइन, जिल्ला सदरकाममा यस्ता धेरै महेशहरु र अरुणहरु पढाई दिने वहानामा बालश्रमिक बस्न बाध्य छन् ।
निजी घर र पसलमा काम गर्दै पढ्दै गरेका बालबालिकाहरुको अवस्था समान छ । सरकारी कर्मचारीहरु, सामाजिक संघसंस्थामा कार्यरत अधिकारकर्मीहरु र नागरिक समाजका अगुवाहरुले समेत घरघरमा बालश्रमिक राखेका छन तर यसको नियमन हुन सकेको छैन ।
बालश्रमिक राख्ने तरिका फेरिएको छ । बिगतको जस्तै सोझै श्रमिक भनेर नराख्ने भएपनि पढाइ दिने बहानामा बाल श्रमिक राख्ने गरिएको छ ।
गैरसरकारी संस्था महासंघ डोटी शाखाका अध्यक्ष रघु कठायत भन्छन् ‘पढाइदिन्छौं भन्ने बहाना मात्रै हो तर यो बालश्रम नै हो ।’
आफूलाई सामाजिक कार्यकर्ता हौं भनेर चिनाउनेहरुले समेत बालश्रमिक राखेकोमा उनी दुःख व्यक्त गर्छन । भन्छन् ‘मञ्चमा अधिकारका कुरा गरेर थाक्दैनन् तर घर बालश्रमिक राखेर श्रम शोषण गरिरहेका हुन्छन् ।
बालश्रम उन्मुलन गर्न नसक्नु सामाजिक संस्थाहरुको पनि कमजोरी रहेको स्वीकार गर्दै कठायत भन्छन्, ‘सरकारले कडाईका साथ प्रस्तुत हुने हो भने गैरसरकारी संस्थाहरुको तर्फबाट हामी सहयोग गर्न तयार छौं ।’
तरिका फेरेर बालश्रमिक राख्ने गरेको स्वीकार गर्छिन निमित्त महिला विकास अधिकृत सबिना श्रेष्ठ । उनी भन्छिन,् ‘कतिपय सरकारी कर्मचारीहरुले समेत यसरी बालश्रमिकहरु राखेको देखिएको छ ।’
पढाइ दिने बहाना वनाएर कानुनलाई समेत छल्न खोजेको श्रेष्ठको बुझाइ छ । ‘बालबालिकाहरुको बृत्ति र विकासमा बाधा पर्ने गरी काममा लगाइनु बालश्रम हो,’ उनी भन्छिन्, ‘यस्तो गर्नु अपराध हो ।’
जम्मा बालबालिका संख्याको करिब पाँच प्रतिशत बालबालिकाहरु श्रमिक भएर काम गरिरहनु परेको उनी बताउँछिन् ।
घर र पसलमा मात्रै होइन, होटेल, निर्माण र यातायातका साधनहरुमा समेत बालश्रमिकहरु छन् । बालश्रम -निशेष तथा नियमन गर्ने) ऐन, २०५६ अनुसार १४ वर्षमुनीका बालबालिकाहरुलाई कुनै पनि प्रकारको श्रममा लगाउन नपाईने व्यवस्था छ ।
यस्तै १४ वर्षमाथिका बालबालिकाहरुलाई दैनिक ६ घण्टा र साप्ताहिक ३६ घण्टाभन्दा बढी काममा लगाउन नपाइने व्यवस्था छ तर पढाई दिने बहानामा बिहान पाँच बजे देखि राति १० बजेसम्म बालबालिकाको श्रम शोषण भइरहँदा पनि सम्वन्धित निकाय मौन छ ।
जिल्ला बाल कल्याण समितिका अध्यक्ष समेत रहेका डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री बहाना बनाएर बालश्रमिकहरु राख्ने गरेको कुरा स्वीकार गर्छन ।
‘यसलाई नियमन गर्नु पर्ने त हो तर कर्मचारीहरुलाई स्थानीय तहमा पठाउनु पर्दा जनशक्ति अभावका कारण अनुगमन प्रभावकारी हुन सकेको छैन,’ प्रजिअ खत्री भन्छन् ‘अहिलेसम्म बालबालिका सम्वन्धी काम महिला तथा बालबालिका कार्यालयले गरिरहेको थियो, अव नयाँ संरचना अनुसार उक्त कार्यालय रहने वा नरहने भन्ने पनि स्पट भएको छैन ।’
जिल्लास्तरका सरकारी कार्यालयहरुले गर्ने काम स्थानीय तहमा गइसकेका कारण बालश्रम निशेष र नियमन गर्ने जिम्मेवारी स्थानीय तहको पनि भएको खत्रीको भनाइ छ ।