Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment

मिडियाले बिर्सेको शान्ति पत्रकारिता

प्रजातन्त्रको पुर्नस्थापनापश्चात मुलुकमा शान्ति, स्थिरता र विकासको लहर आउने स्वभाविक जनअपेक्षा थियो । बैदिक र बौद्ध दुवै किसिमवाट तपोभूमि कहलिएको नेपाल भूमिमा जनताले अपेक्षा गरेको राज्य व्यवस्थासँगै दीर्घकालीन शान्ति तथा समृद्धिको अपेक्षा नेपालमा मात्र नभई नेपालका शुभचिन्तक अन्य मुलुकवासीहरुले पनि गरेका थिए ।

तर, विडम्वना प्रजातन्त्रका लागि कठिन संर्घष गरेका नेताहरुकै अदूरदर्शिता र चरम सत्तालिप्साका कारण संसदीय व्यवस्था विरुद्ध सशस्त्र संर्घष सुरु भयो । सुरुमा संसदीय व्यवस्था विरुद्ध जस्तो देखिएको माओवादी हिंसा विस्तारै मुलुकको राज्य प्रणाली हुँदै इतिहास र संस्कृति विरुद्धसमेत जाइलाग्ने साथै प्रयोग हुने अवस्था आयो ।

दिल्लीमा भएको १२ बुदें सम्झौताले माओवादी संशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधानको वाटो पहिल्याएपनि त्यसपश्चात खोलिएको पाण्डोरा बाकसले एकपछि अर्को हर्कतसँगै नेपालीको जनजीवन अहिलेसम्म आईपूग्दा निकै त्राहित्राहि बनाएको छ । यस्तो घटनाक्रमका श्रृखलाहरुमा नेपाली नेताहरु जति आलोचित भए त्यतिनै मिडिया क्षेत्रले पनि आलोचना खेप्दै आयो ।

मिडियाप्रतिको जनआक्रोस मुख्यरुपमा घटनाक्रमहरुलाई मिहिनढङ्गवाट केलाई यर्थाथ विवरण जनतालाई दिन नसकेको र शान्ति र विकासका एजेन्डा भन्दा पनि युद्ध र द्वन्द्वका विषयमा बढ्ता चासो दिने र खेल्ने गरेको गम्भिर आरोप मिडियामाथि लाग्यो ।

यही सन्दर्भमै नेपाली मिडियामा शान्ति पत्रकारिताको अभाव खट्किएको महसुस गरी यसको उपादेयतावारे यस लेखमा चर्चा गर्न खोजिएको हो ।

समाजशास्त्री एवं प्रसिद्ध द्वन्द्व विज्ञ जोहान गाल्तुङ्गले (१९८०) मूलधारको पत्रकारिता भन्दा शान्ति पत्रकारिता संरचनागतरुपमै फरक हुने बताउँदै यसले गहन ढङ्गवाट समाजलाई शान्ति, सद्भाव र मेलमिलापतर्फ प्रेरित गर्ने तर्क गर्दछन् । शान्ति, सत्यता, गहनता, जनता र समाधान लक्षित शान्ति पत्रकरिता हुने बताउँदै उनले यसले समाजलाई स्थिरता र समृद्धितर्फ सदा मार्गदर्शन गरिरहने स्पष्ट पार्दछन् ।

यसैगरी द्वन्द्ध र शान्ति विषयका अध्येता एवं शान्ति पत्रकारिता पुस्तकका लेखक ज्याक लिन्च र म्याकगोल्डरिक (२००५) शान्ति पत्रकारितामा सम्पादक र रिर्पोटरले के समाचार बनाउने, किन बनाउने र कसरी बनाउने भन्नेमा स्वनिर्णय गरेर समाजलाई दीर्घकालीनरुपमा फाईदा हुने गरी समाचार तयार गरिने पद्धती हुने बताउँछन् ।

समाजमा मेलमिलाप, सद्भाव, प्रस्तुतीमा नरम र गहन शैली, पत्रकारिताका सिद्धान्त एवं सामाजिक मर्मलाई शान्ति पत्रकारिताले अपनाउने हुँदा यसले जनतामा मिडियाप्रतिको विश्वास बढाउने साथै राजनीतिक द्वन्द्व हल गर्न सहयोग पुर्याउने लिन्च र म्याकगोल्डरिकको तर्क छ ।

शान्ति पत्रकारिताको खास इतिहास पुरानै भएपनि यसवारे गहन अध्यन अनुसन्धान र सिद्धान्त निर्माणका कार्यहरुचाहिँ सन् १९६० को दशकवाट सुरु भएको हो । सोह्रौ शताव्दीवाटै विभिन्न किसिमका आन्तरिक विग्रह र वाह्रय लडाईमा रुल्मलिएका युरोपेली मुलुकहरुका अखवारहरुले अनौपचारिक वा विना कुनै तयारी शान्ति पत्रकारिताको अभ्यास गरेको इतिहास पाइन्छ ।

त्यसो त कागज र मसीको पहिलो पटक आविस्कार भएको देश चीनमा समेत १५ औं शताव्दीतिर पनि कन्फुसियस र लोओत्सेका दर्शनका कुराहरु अखवारमा राखेर शान्तिको सन्देश दिईएका कुराहरुपनि चिनिया इतिहासमा यदाकदा पढ्न पाईन्छ ।

जे होस आधुनिक छापाखानाको आविस्कार पश्चात विश्वभर नै तीव्र विकास हुन पुगेको पत्रकारिता जगतमा जुनकुनै ढङ्गले पनि शान्ति पत्रकारिताको अभ्यास भएको स्विकार्न कठिन छैन् । मुख्यगरी युद्ध र अशान्तिका घटनाहरुले गर्दापनि त्यसो भएको हो ।

झनै दोस्रो विश्व युद्ध अघिसम्म त शान्ति सम्वन्धि अभियान चलाउने संघसस्थाहरु एवं धार्मिक समूदायले शान्ति पत्रकारिताको प्रयास एवं महत्वलाई बढाउन ठूलो भूमिका खेलेको पाइन्छ ।

विश्वमा नवउदारवादी अर्थतन्त्रको एकछत्र राजसँगै मिडिया क्षेत्र पनि त्यसवाट अलग रहन सकेन् । मिडिया मालिकहरु आर्थिक स्वार्थका कारण ठालूहरुको चाहना अनुसार परिचालित हुन् पुग्दा मिडियाको मूल मर्म, दायित्व र चौथो अङ्ग हुनुको उपादेयता समाप्त हुन पुग्यो ।

अमेरिकी नीतिको कडा आलोचक नोम चोमस्कीका शव्द सापट लिनु पर्दा हालका मिडियाले आफ्नो विश्वसनियता अरुकसैवाट नभै आफ्नै कर्मद्वारा समाप्त पारेको बताउँछन् । समाजलाई जोड्ने भन्दा पनि तोड्ने कसरतमा ठूला मिडियाहरु लाग्ने गरेको चोम्सकीको आरोप छ ।

बाह्रबुँदे सहमति र त्यसको जगमा भएको शान्ति सम्झौतासँगै माओवादी सशस्त्र द्वन्द्वको औपचारिक अवसान भएतापनि त्यसले छोडेको भयानक अशान्ति र हिंसाको पान्डोरा बाकस खुल्न पुग्दा नेपालको राजनीतिकमात्र नभई सामाजिक स्थिति बढो डरलाग्दो किसिमले अगाडि बढेको छ ।

यस्तो अवस्थामा चौथो अङ्गकारुपमा रहेको मिडिया जगतले राजनीतिक समाधान र द्वन्द्व कम गर्ने किसिमका सामाग्रीहरु प्रस्तुत गरेर शान्तिको प्रयास गर्नुपर्ने हो । अझै पनि नेपाली मिडियाका समाचार प्रस्तुती शैली र संरचना हेर्दा मुलुकमा थप भयानक द्वन्द्वको सम्भावना रहेको प्रतित हुन्छ । भयानक, डरलाग्दा, चर्का, तीखा एवं संसयपूर्ण शव्दहरुको प्रयोग गरिएमात्र गतिलो पत्रकारिता हुने भ्रम नेपाली मिडिया जगतमा परेको छ ।

लामो हिंसाले होला पत्रकारका भावनाहरुपनि निकै असन्तुलित एवं हिंसाप्रिय जस्ता शब्दहरु रुचिकर लागेको भान हुन्छ । प्रसिद्ध मनोबैज्ञानिक एवं शिक्षाविद् पाउलो फे्रईरेले कुनै बेला भनेका थिए कि सञ्चार जगतले शान्ति र सद्भाव जस्ता कुरालाई महत्वदिने हो भने समाजका धेरै द्वन्द्वहरु समाधान हुन्छन् ।

द्वन्द्व र शान्ति सम्वन्धि अध्यन गर्ने साथै शान्ति पत्रकारिता सम्वन्धि विश्वव्यापी तालिम एवं शिक्षा प्रदान गर्ने जर्मनी संस्था जर्मन पीस काउन्ट्सले गरेको विभिन्न अध्यनहरुले पनि शान्ति पत्रकारिताको अभावले पनि मिडियाले समाजलाई आश्वस्त पार्न नसकेको र सामाजिक सद्भाव तथा मेलमिलाप कायम गर्न प्रेरित गर्ने सन्दर्भमा मिडियाको भूमिका निकै गौण रहेको देखाएको छ ।

ढिलै भएपनि नेपाली मिडियाले शान्ति पत्रकारितालाई मिसनको रुपमा अपनाउनु जरुरी भएको छ । बैदिक र बौद्ध भूमि नेपाल यतिखेर अनेक किसिमका द्वन्द्वमा रुल्मलिँदा जनताहरु आत्तिएको, विलखवन्दमा परेको र कतैबाट शुभसमाचारको पर्खाइमा रहेको अवस्था छ ।

घटनाक्रमहरुलाई अनावश्यक बढाईचढाई नगर्ने, कुनै पक्षकापनि भड्काव भनाईहरुलाई प्राथमिकता नदिने, शव्द चयनमा संयमता अपनाउने र प्रस्तुतीमा नरमता अपनाएर शान्ति पत्रकारिताको प्रारम्भिक धार अनुसरण गर्न सकिन्छ ।

यस्तै गरी समाचारमा गहनता र बस्तुपरकता, सन्तुलता, सत्यता एवं खोजविनद्धारा भित्रि कुराहरुलाई नियाल्ने प्रयास गरिनुपर्छ । यस्तै गरी सामाजिक सद्भाव, मेलमिलाप, सकरात्मक धारणा, प्रेरक प्रसङ्गहरु एवं सहकार्य र बन्धुत्वको मर्मलाई मिडियाले अपनाउनु पर्छ । चरम हिंसात्मक द्वन्द्वको अन्त्य भए पनि संरचनागत द्वन्द्वहरु यथावत रहेको नेपाली समाज राजनीतिक दूरदर्शीता र मार्गदशक नेतृत्वको अभावमा निराशामय भएको छ ।

जनताले आशा गर्ने विकल्पसमेत नदेखेको अवस्थामा मिडियाले जनतामाझ सकरात्मक कुराहरु प्रस्तुत गरेर संयमित बन्न र आफ्ना कार्यहरुलाई जारी राख्न आश्वस्त पार्न सक्नुपर्दछ । गाल्तुङ्गको भनाइ सापटी लियर भन्नु पर्दा शान्ति पत्रकारिता त्यहि हो जो हरबखत जनकेन्द्रीत हुने गर्दछ । जनतालाई जर्वजस्त समाचार थोपर्ने नभई जनताको चाहना र वास्तविक चासोलाई सम्वोधन गर्ने पत्रकारिता नै शान्ति पत्रकारिता हो ।

शान्ति सम्झौता पश्चात शान्ति पत्रकारिताको महत्व महसुस गरी केही विदेशी विज्ञहरुको सहयोगमा नेपाली पत्रकारहरुलाई प्रशिक्षण दिने कार्यहरुपनि छिटपुटरुपमा नभएकोचाहिँ होइन । तर समस्या कहाँनिर भयो भने न त त्यस किसिमका प्रशिक्षणहरुले खासरुपमा नियमितता पायो न त मूलधारका मिडियाले नै शान्ति पत्रकारिताको मर्मलाई आत्मसाथ गर्ने आँट गरे । अनि कुरा त्यही नै देखियो ।

ठूला शब्दमा रमाउने, नेताहरुका भड्कावपूर्ण भाषणवाजीलाई मात्र ठूला समाचार ठान्ने, चर्का कुराहरुलाई गतिलो समाचार मान्ने जस्ता चिन्तनहरु ठूला मिडियाका नेतृत्वमा हाविभयो । यो पक्तिंकारलाई विदेशमा बस्ने धेरै नेपाली साथीहरुले भनेका छन् कि नेपालका समाचार हेर्ने हो भने देशै नरहने हो कि जस्तो लाग्छ, तर देश पुग्दा अस्थिरता भएपनि मिडियामै आएजस्तो लाग्दैन ।

यसरी हेर्दा के देखिन्छ भने अतिरञ्जना, चरमता, ठूला चर्का शव्दहरुको प्रयोग र चेतावनीमूलक शव्दहरुको प्रयोग विना पत्रकारिता अधुरो हुने भ्रम नेपाली मिडिया जगतमा परेको छ । जुन विल्कुलै गलत हो । यो धर्तीमा धेरै देशका मिडिया यस्तापनि छन् जसले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर जनतालाई विश्वस्त पार्न सफल भएका छन् ।

नर्वे, डेनर्माक, फिनल्यान्ड, जर्मनी, जापान, थाईल्यान्ड, चीन लगायत देशहरुका मिडियाप्रति जनविश्वास विश्वमा अन्य देशका मिडियाहरुमा भन्दा उच्च रहेको अनुसन्धानहरुले देखाएको छ । त्यसको कारणहरुमा ती देशहरुका मिडियाले समाजमा शान्ति, सद्भाव, एकता र परिवर्तनकालागि खेलेको भूमिका जस्ता कुराहरुलाई आधार मानिएको छ ।

मुलुक र जनताप्रतिको स्वाभाविक उत्तरदायित्व मनन गर्दै नेपाली मिडियाले शान्ति पत्रकारिताका मर्म एवं आधारहरुलाई अपनाउनुको विकल्प छैन् ।

संविधानमै समाजवाद उल्लेख गरिएको देशका मिडियाले जनताले तत्काल खोजेको शान्ति, सद्भाव, मेलमिलाप, समृद्धि र सकरात्मकता जस्ता विषयहरु महत्वकासाथ उठान गरी राजनीतिक एवं सामाजिक नेतृत्वलाई समाधानतर्फ लाग्न प्रेरित एवं अनवरत आग्रह गर्नैपर्दछ ।

(लेखक बुद्धिप्रसाद शर्मा बेइजिङ्गस्थित चिनियाँ सञ्चार विश्वविद्यालयमा अन्तरराष्ट्रिय सञ्चार विषयका विद्यावारिधिका शोधार्थी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment