Comments Add Comment

चीनतिर सर्दैछन् सगरमाथा आरोही, फेरिँदैछन् नागरिकता !

हिमालः जसलाई अझै चिनेन नेपालले

सन् १९५० जून ३ मा अन्नपूर्ण प्रथम (८०९१ मिटर) हिमालको शिखर चुमेर फर्केका मानव इतिहासकै प्रथम ८००० मिटरमाथिका सफल आरोही मोरिस हेर्जोगलाई फ्रान्सका तत्कालीन राष्ट्रपति चाल्र्स द गोलले सार्वजनिक रुपमै बधाई दिँदै भनेका थिए- ‘त्यति अग्ला र खतरनाक हिमालमा पनि चढ्न सकिन्छ भनेर तपार्इले सारा संसारलाई प्रमाणित गरेर देखाइदिनुभयो । सारा विश्वलाई नै फ्रान्सेलीहरुको आँट र साहस कस्तो हुन्छ भनेर छर्लङ्ग पारेर देखाइदिनुभयो । हाम्रो इज्जत बढाइदिनुभयो । अब तपाईंले जीवनभरि नै आफ्नो त्यो साहसको कथा सारा फ्रान्सवासीहरुलाई बताइदिनु होस्- ताकि हाम्रा युवा पनि तपाईं जस्तै समर्पित, साहसी र वीर हुन सकून् ।’

यही कीर्तिमानलाई कदर गर्दै मोरिजलाई ८ वर्षसम्म फ्रान्सको युवा तथा खेलकूद मन्त्री बनाइयो । १७ वर्षसम्म त सांसद नै रहे उनी । त्यही बेला उनले लेखेको फ्रेञ्च भाषाको किताब ‘लान्नापूर्ना फर्मिय उई मिल’ ५० लाख प्रति बिक्री भयो । सन् १९५१/५२ मा त बाइबलभन्दा बढी बिकेको रहेछ यो किताब ।

मोरिस हेर्जोग आफैं भन्छन्- “मेरो यो किताब ६० भाषामा अनुवाद भएको छ । फ्रान्सका १६/१७ वर्षका युवाका लागि पाठ्यक्रममा राखिएको छ । यी सबै कुराबाट के देखिन्छ भने- हिमालमा के हुँदैछ भन्ने कुरामा सारा संसारले नै चासो राखेको हुँदो रहेछ ।”

तर, हाम्रो बिडम्बना, जुन देशले संसारका ८००० मिटरभन्दा बढी उँचाइ भएका कूल १४ वटा हिमालहरु मध्ये ८ वटा र तिनका १४ वटा चुलीहरु आफ्नै भूगोलभित्र समेटेको छ- त्यसका लागि भने यो बृहत् हिमश्रृंखलाको ‘श्रीखण्ड’ आजसम्मै पनि ‘खुर्पाको बिँड’ कै हैसियतमा रहेको देख्न पाइन्छ ।

संसारकै सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही भएर पनि हाम्रा तेञ्जिङले केही पाएनन् । र, विस्तारै भारतले आफ्नो बनायो । ‘आपा’ शेर्पाले पनि न त ‘दाता’ सरकारबाट केही पाए न त ‘दवावदाता’ मिडियाबाटै आफ्नो शुद्ध नाम उल्लेख भएको देख्न पाए । उनको पनि मन अड्याउँने ठाउँ कतै बाँकी रहेन । र, विस्तारै अमेरिकाले आफ्नो बनाउँदैछ ।

यस्ता धेरै वीर आरोहीहरुको धमाधम नागरिकता फेरिँदैछ । धमाधम बासस्थान फेरिँदैछ । सुरुदेखि नै नफेरिएको कुरो एउटै छ- आरोहीप्रति दर्शाइने सरकारी उदासीनता र अपमान । हिमाललाई कुनै महत्व नै नदिने सरकारी रवैया र मौन नागरिक समाज ।

नेपालमा आरोहीलाई कुनै सम्मान छैन । मुलुक कहिले सगरमाथा आरोहणको हीरक महोत्सव मनाउँछ त कहिले ल्होत्सेको । कहिले अन्नपूर्णकै उत्सव हुन्छ त कहिले कञ्चनजंघाको । मुलुकका ठूलाबडाहरु हेलिकोप्टर चढेर उद्घाटन गर्न दगुर्छन्- मानौं कि उनीहरुकै निगाहले गर्दा त्यो हिमाल त्यहाँ उमि्रएको होस् । यस्तो अवसरमा पनि ती कीर्तिमानी ‘आपा’ यहाँ हुँदैनन् । तेञ्जिङका सन्तान छैनन् । फू दोर्जीलाई कसैले सम्झिदैन । बाबुछिरीलाई सबैले बिर्सिसके ।

डा. हर्क गुरुङ, पेम्बा, ल्हाक्पा गेलु, आङरिता, ङवाङ निमा, लाक्पा थार्के, छेवाङ ङमिा, दा गोम्बु, पर्वतीय साहित्यका लेखक, उपासक, आङछिरिङ, समीक्षक, छायाँकार कोही पनि हुँदैनन् त्यहाँ । तिनका सन्तान पनि कोही हुँदैनन् समारोहमा । मात्र एउटा कर्मकाण्डी र नियमित प्रक्रिया पूरा गरेझैं बडो लज्जाजनक तवरले आफू आफैंले ‘आसन-ग्रहण’ गरेर हिमालको श्राद्ध गरिरहेको देखिन्छ- नेपाल सरकार ।

कुनै पनि हिमालको आधारशिविर समेत नदेखेका ‘ठूलाबडा’हरु ‘पर्यटन’ का हर्ताकर्ता बनेका हुन्छन् । हिमालमा गर्नुपर्ने कुरो के हो- कहिल्यै पनि योजना आयोगको चासोको विषय बन्दैन/बनेको छैन । अर्थ मन्त्रालयलाई रोयल्टीको ठूलो पोको मात्रै चाहिन्छ- अरु कुनै भावनात्मक कुरासँग उसको सम्बन्ध रहेको देखिँदैन ।

के सरकारले कहिल्यै ती ‘आइसफल डाक्टर’ हरुको बारेमा सोच्नुपर्दैन, जो प्रत्येक सिजनमा दैनिक रु. ४५० ज्याला लिएर सगरमाथा चढ्नेहरुका लागि भर्‍याङ हालेर बाटो बनाइरहन्छन् ? उनीहरुको जिन्दगी विदेशी आरोहीले राजीखुशीले दिएको ‘टिप्स’ बाट चलिरहेछ ।

के यही हो आफूलाई चौबीसै घण्टा जोखिममा राख्दै शिखरमा जाने बाटो बनाइदिने ‘दधीचि’ हरुलाई राज्यका तर्फबाट गरिने सम्मान ? आफू मातहतका अड्डाहरुलाई भर्तीकेन्द्र बनाउन सक्ने ‘शक्तिशाली’ हरुले किन गर्न सक्दैनन् यिनीहरुको उद्धार ? के उनीहरुलाई त्यही कामका लागि स्थायी गरेर पेन्सन पाउने गराउन सकिदैन ? के असम्भव छ यो ?

पाठकलाई यो तथ्यांक देख्दा पनि अचम्म लाग्न सक्छ । सन् २०१६ को डिसेम्बर सम्ममा सगरमाथाको शिखरमा पुगेका आरोहीहरुको संख्या नै ४८७९ पुगेको यो घडीमा संसारकै छैटौं अग्लो हिमाल चोयु (८२०१ मि.) को चुचुरो चुम्न नेपालतिरबाट गएका आरोहीहरुको संख्या केवल १४ रहेको छ ।

नेपालका लागि यो हिमालका कूल आरोही भनेकै पोल्याण्डका ४ जना, रसियन ५ जना, जापानी २ जना, कजाकिस्तानका २ जना र एक मात्र नेपाली आङ फुरी शेर्पा गरी जम्मा नै १४ जना हुन् ।

सन् १९९४ पछि हालसम्ममा जम्मा २ जना ‘कजाख’ ले मात्र नेपालतर्फको कठिन बाटो रोजेका छन् । किन ? यसका लागि हाम्रा नीति-निर्माताहरुले ‘चोयु’ र ‘मकालु’ हिमालको आधारशिविरको भौगोलिक अवस्थितिलाई बुझ्नुपर्ने हुन्छ, जो कहिल्यै पनि वहाँहरुको सरोकारको विषय बन्नै सकेन ।

चुचुराहरु नेपालतर्फ परे पनि चोयु, मकालु, ल्होत्से र सगरमाथा चीन र नेपालका सीमानामा अवस्थित हिमाल हुन् । यिनमा आरोहण गर्न दुबै देशले अनुमति दिने गर्दछन् । चीनबाट अनुमति लिएर मकालु चढ्न आउने टोलीहरुले दुई किलोमिटरजति नेपाली भूभागमा हिँडेर मात्रै आरोहणको मार्ग भेट्टाउन सक्छन् । त्यहाँ हाम्रो कुनै सुरक्षा चौकी नहुनाले उनीहरु निर्बाध रुपमा नेपालभित्र पस्छन् र शिखरतर्फको बाटो लाग्छन् ।

त्यस्तै नेपालबाट अनुमति लिएर चोयु चढ्न जाँदा पनि ५०० मिटर जति चीनियाँ भूभागमा छिर्नुपर्ने हुन्छ । तर, चीनले त्यही नाकामै सुरक्षा चौकी राखिदिएको हुनाले उता छिर्नै पाइँदैन । नेपालतिर कोप्रो परेको हुनाले हाम्रोतिरबाट मात्र चोयु चढ्नै सकिँदैन ।

०६३ सालमा बेइजिङमा भएको यूनियन अफ एशियन अल्पाइन एसोशिएसन (यूएएए) को बैठकमा यो पंक्तिकारले अनौपचारिक रुपमै भए पनि पारस्परिक हित र सहयोगका लागि यो कुरो उठाउँदा चीनियाँ पदाधिकारीहरु गम्भीर बन्दै पहिलो पटक यस्तो कुरो सुनेको र नेपालको सरकारी स्तर अर्थात् परराष्ट्र मन्त्रालयबाट कूटनीतिक रुपमा यो कुरो उठाइए तुरुन्तै सोच्न सकिने बताएका थिए ।

तर, यति महत्वपूर्ण भएर पनि यो कुरो कहिल्यै नेपाल सरकारको प्राथमिकतामा परेन । चीनलाई पनि आफैं तातिनु जरुरी भएन । किनकि नेपालतिरको बाटो बन्द हुनु भनेको चोयु आफ्नो एकलौटी हुनु हो ।

हरेक वर्ष घटीमा ७०/८० वटा आरोहण दलबाट प्राप्त हुने रोयल्टी एकलौटी चीनको झोलीमा मात्रै पर्नु हो । अनि, किन गर्नु पर्छ र चीनले पहल ? आश्चर्य लाग्छ, यस्तो कुरामा पनि किन हाम्रो ध्यान पुग्दैन ?

प्रकृतिले नेपाललाई हिमालको विशाल श्रृंखला नै दिएको छ । हिमालको राजधानी नै बनाएको छ । उच्चताकै हिसाबले हेर्ने हो भने पनि विश्वको सर्वोच्च अर्थात् पहिलो, तेस्रो, चौथो, पाँचौ, छैटौं, सातौं, आठौं र दशौ चुचुराहरु नेपालमै पर्छन् ।

चुलीका हिसाबले हेर्ने हो भने कञ्चनजंघा क्षेत्रका अन्य ४ र ल्होत्सेका अन्य दुई समेत गरी ८००० मिटरमाथिका चौधवटा चुली नेपालमै पर्छन् । ७००० मिटरमाथिका १२२ वटा चुली नेपालमै छन् । ६००० मिटरमाथिका हिमालको संख्या नेपालमा १४०० भन्दा बढी नै छ । ६००० मिटरभन्दा मुनिको उचाइलाई त नेपालमा ‘डाँडो’ मात्र मानिने गरिन्छ, जबकि यो भन्दा झनै थोरै उचाइ भएका इल्बु्रस, मेकान्ले, एकान्कागुवा, मो ब्लाँ, फुजी, रकी माउण्टेन आदि हिमालहरुलाई ती देशहरुले संसारभरि नै प्रसिद्ध बनाएका छन् । आफ्ना हिमालहरुका यी नामहरुमा त्यहाँका मानिसहरु गौरव गर्छन् ।

यस्तो अद्वीतीय सम्पदा नेपालमा छ । आफ्ना आरोहीहरुले यिनै हिमालको गुणगान गाउँदै लेखेका पुस्तकहरुले पश्चिमाहरुको वाङमय भरिएको छ । तर, हामी भने न हिमालको महत्व बुझ्छौं, न लेख्छौं, न हेर्छौं, न देख्छौं, न त पढ्छौं नै । न आरोहीको सम्मान गर्छौं, न पर्वतकै ।

यस विषयमा न हाम्रो कुनै चिन्तन छ, न कार्यक्रम छ । न त चासो छ, न त त्यसतर्फको भ्रमण नै ।

माधव घिमिरेजी मुख्यसचिव भएका कारणले दुनियाँलाई देखाउनकै लागि भए पनि कालापत्थरमा एकपटक मन्त्रिपरिषदको बैठक बस्यो । त्यो पनि घिमिरेजी भएर मात्रै हो, नत्र अरु कुनै महापुरुषले त त्यति दुःख पनि गर्ने नै थिएनन् ।

हाम्रो आफ्नो भन्नु नै यही भौगोलिक विशिष्टता, यिनै अग्ला हिमश्रृंखला र अपार सांस्कृतिक सम्पदा नै हुन् । ‘संस्कृति’ र ‘प्रकृति’ नेपाललाई माथि उठाउने दुई पखेटाहरु हुन् । तर, किन चिन्न सक्दैनौं हामी ? किन यति अबुझ हुँदैछौ हामी ?
यति ठूला ठूला हिमालका काखमा बसेका र त्यसैको पानी पिएका हामी आज किन यति ‘साना’ मनका भइरहेका छौं ? हामीमा अब त जागरण आउनुपर्ने होइन र ? कि कालिदासले “हिमालयो नाम नगाधिराजः” वा देवकोटाले “पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल” भनिदिएकै भरमा हाम्रो सबै काम सिद्धिएको भन्ठान्यौं हँ हामीले ?

त्यसो होइन । हामीले आफ्नो अमूल्य सम्पतिलाई चिन्नैपर्छ । हिमालले हामीलाई ठूलो इज्जत दियो, पहिचान दियो ! अब हामीले पनि हिमाललाई महत्व दिनै पर्छ । नेपालको पहिचान भन्नु नै बुद्ध र हिमाल मात्रै हुन् । यी दुईलाई बिर्सिएर नेपालको पहिचान स्थापित हुन सक्ने अवस्था नै छैन ।

त्यसैले विदेश पढ्न जाने छोराछोरी सबैलाई हिमालबारे केही जान्ने बनाएर मात्र पठाऔं । तेस्रो मुलुकमा काम गर्न जाने प्रत्येक कामदारले झोलामा हिमाल सम्बन्धी २/४ वटा किताब बोकौं । फूर्सदमा यिनै किताब पढेर मुलुक र माटोको न्याँस्रो मेटाऔं र पढिसकेपछि अरुलाई पनि यही कुरा सुनाऔं ।

आशा गरौं- कुनै दिन आफ्नो मन्त्रालयको काम के रहेछ भनेर त्यसको गरिमासमेत बुझ्ने मान्छे शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयमा मन्त्री भएर आउलान् ।

बि्रफकेश बोकेर लिगलिगे दौडमा ननिस्केकै र आफ्नो मन्त्रालयको खास काम के रहेछ भनेर त्यसको अर्थसमेत बुझ्ने मान्छे नै कुनै दिन शिक्षा र पर्यटन मन्त्रालयमा सचिव भएर आउलान् । देशलाई माया गर्ने मान्छेहरु नै कुनै दिन विश्वविद्यालयहरुका भीसीहरु होलान् । त्यो दिन हाम्रा कलेजका पाठ्यक्रमहरुमा पनि हिमाल विषयक स्वैरकाल्पनिक र पूर्णतः मनगढन्ते कथाहरुले होइन, साँच्चिकै र यथार्थपरक हिमाल विषयले प्रवेश पाउला । जन्मेकै ठाउँमा बुद्धको पनि इज्जत रहला, मान होला ।

तर, अहिले हामी यी ठूला मान्छेहरुको भर नपरौं । हामी सानै मान्छेहरुले हिमाललाई माया गर्न सुरु गरौं । प्रत्येक पुस्तकालयहरुमा हिमालसम्बन्धी किताब राखौं । प्रत्येक नानीहरुका हातमा यस्ता किताबहरु पुर्‍याऔं । र, यिनै नानीहरुको निस्वार्थ चेतनाको जगमा गौरवमय नेपालको आशा रोपौं ।

लाखौंको संख्यामा रहेका यी नानीहरुको अप्रदूषित मस्तिष्कमा मुलुकको मायाको बिजारोपण गरी समुन्नत नेपालको यात्रा थालौं । हिमालले हामीलाई ठूलो इज्जत दियो, पहिचान दियो ! अब हामीले पनि हिमाललाई महत्व दिऔं । हिमालले हामीलाई विश्वमा चिनायो । अब हामीले पनि हिमाललाई चिनौं र गौरवान्वित बनौं ।

बिना हामी आफैंसँग छ, त्यही निर्धो कस्तुरीझै सुगन्धको श्रोत खोज्दै यता र उता नदगुरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment