Comments Add Comment

राष्ट्रपतिको निर्वाचन आज, विद्या भण्डारी दोहोरिने पक्का


२९ फागुन, काठमाडौं । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।

राष्ट्रपति निर्वाचनमा एमालेकी विद्यादेवी भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राई उम्मेदवार छन् । वाम गठबन्धनसहित अन्य साना दलको पनि समर्थन पाएकाले भण्डारी नै पुनः राष्ट्रपतिमा दोहोरिने पक्का छ ।

राष्ट्रपति चयनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा मतदान हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले निर्वाचनमा भाग लिने छन् ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र र मतदान केन्द्र निर्धारण गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि हरियो तथा प्रदेशसभाका सदस्यहरुका लागि रातो रंगको मतपत्रको व्यवस्था गरिएको छ । आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ ।

राष्ट्रियसभामा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले भने मतदानमा भाग लिन पाउने छैनन् । उनीहरुको शपथ ग्रहण गर्नुभन्दा एक दिनअघि नै अन्तिम मतदाता नामावली प्रकाशित भएकाले तीन जना सदस्यहरुले मतदानमा भाग लिन नपाउने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment