Comments Add Comment

विमान दुर्घटनाः सुरक्षा संवेदनशीलतामा लापरबाही, गोप्य सूचना छताछुल्ल


२९ फागुन, काठमाडौं । मंगलबार प्रकाशित सबै पत्रिकाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगालाको विमान दुर्घटना भएको समाचारलाई पहिलो प्राथमिकताका साथ प्रकाशित गरेका छन् । सोमबार दिउँसो भएको दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको मृत्यु भएको छ । यो समाचारसँगै घाइतेहरुको बयान पनि उल्लेख गरिएको छ ।

यसैगरी प्रधानन्यायाधीशको बेन्च न्यायाधीशले बहिस्कार गरेको, राष्ट्रपतिको निर्वाचन आज हुन लागेको लगायतका समाचारहरु पनि छन् ।

सुरक्षा संवेदनशीलतामा लापरबाही

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बांगला एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि देखिएको दृश्यले विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठाइदिएको छ ।

चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ जनालाई घाइते अवस्थामा उद्धार गरी विभिन्न अस्पताल पुर्याइएको छ । घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर छ ।

नेपाल समाचारपत्रका अनुसार सोमबार दिउँसो ढाकाबाट काठमाडौं आएको उक्त विमान दुर्घटना भएपछि स्थानीय जनता विमानस्थलपरिसरको विभिन्न भागबाट दुर्घटना भएको विमानतर्फ प्रवेश गरेका थिए । यसले विमानस्थलको सुरक्षाका बारेमा गम्भीर प्रश्न उठेको छ ।

दुर्घटनापछि विमानस्थलमा रहेको सुरक्षाकर्मी उद्धारमा खटिएको मौका छोपी विमानस्थलका विभिन्न भागबाट छिरेका सर्वसाधारण रमिते बने पनि विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसकेको समाचारपत्रको समाचारमा उल्लेख छ ।

बाहिरियो गोप्य सूचना

नेपाल समाचारपत्रमै एयर ट्राफिक कन्ट्रोलमा भएको संवाद जहाज र विमानस्थलको गोप्य दस्तावेज बाहिरिएको समाचार छ । यस्ता गोप्य दस्ताबेज बाहिरिनु भनेको उड्डयन क्षेत्रका लागि अपराध भएको र यसका बारेमा अनुसन्धान गर्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताएको समाचारपत्रमा खबर छ ।

उड्डयन क्षेत्रमा भएको कन्ट्रोलरको संवादको बारेमा जानकारी पाउने अधिकार कसैलाई पनि हुँदैन यसका लागि केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । यो संवाद कसरी बाहिरियो भन्नेबारेमा पनि अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ ।

दमकल ढिलो पुग्दा बढी क्षति

त्रिभुवन विमानस्थलमा रहेका उच्च प्रविधिका तीनवटा दमकल समयमै दुर्घटनास्थल पुग्न नसक्दा मानवीय क्षति बढेको बताइएको छ ।

विमानमा आगो लागेको करिब १२ मिनेटपछि मात्रै दमकल दुर्घटनास्थल पुगेका थिए । दमकलभन्दा पहिले नेपाली सेनाका उद्धारकर्मी घटनास्थल पुगेका थिए । समयमै दमकल पुग्न सकेको भए मानवीय क्षति कम हुने प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै नागरिकले खबर लेखेको छ ।

समाचार अनुसार एक्कासी आगो दन्किएकाले दमकल कताबाट प्रयोग गर्ने भन्नेबारे एकैछिन अलमल भएको थियो । हवाई इन्धन अति प्रज्ज्वलनशील हुने भएकाले दमकल प्रयोग गर्दा पनि आगो निभेन ।

प्रधानन्यायीश पराजुली पदमुक्त ?


प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरसम्बन्धी विवादलाई सुरुदेखि नै सतहमा ल्याएको कान्तिपुर दैनिकले प्रधानन्यायाधीश न्यायाधीशबाटै पदमुक्त भएको समाचार छापेको छ ।

‘न्यायाधीशबाटै पराजुली पदमुक्त’ शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ– सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराले योग्यता र उमेर विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुली काननतः गत साउनमै पदमुक्त भइसकेको घोषणा गरेका छन् । पराजुलीले आफ्नो उमेर छल्न ‘कीर्ते काम गरेको भन्दै उनको इजलासमा बस्न नसक्ने नमिल्ने पनि बताएका छन् ।

जबराले तथ्यसहित त्यस्तो खुलासा गरेपछि सर्वोच्चका अन्य न्यायाधीशले पनि पराजुलीलाई राजीनामा दिन सल्लाह दिँदै अब इजलास नतोक्न भनेका छन् । समाचार अनुसार अधिकांश न्यायाधीशले पराजुलीलाई बहिगर्मनको बाटो रोज्न सल्लाह दिएका हुन् ।

अमेरिकाको लोभ देखाएर लेबनान

आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् ।

कान्तिपुर दैनिकका अनुसार लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार अवैध रुपमा त्यहाँ पुग्ने नेपाली कामदारलाई स्वदेश फर्कन पनि सजिलो छैन । अध्यागमन शुल्क बुझाएर मात्र पनि फर्किन सकिँदैन, लामो कागजी झन्झट पूरा गरेर चर्को शुल्क बुझाउनुपर्छ ।

समाचार अनुसार त्यहाँ पुगेका नेपाली युवतीहरुलाई चरम यातना दिने गरिएको छ । अवैध रुपमा त्यहाँ पुगेकाले उनीहरुलाई फर्किन पनि कठिन छ ।

बैंकले कर्जा दिन छाडे


लगानीयोग्य पुँजी अभावमा बैंकले कर्जा दिन छाडेका छन् । २८ वाणिज्य बैंकमध्ये सरकारी लगानीका वाणिज्यबाहेक अरु सबैले कर्जा रोकेको अन्नपूर्णमा खबर छ ।

समाचार अनुसार नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तरलता अभावमा नयाँ र ठूला कर्जा प्रवाह रोकिएको जानकारी दिए ।

अहिले बैंकको कर्जा–पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशतभन्दा माथि छ । बैंकहरुले सीसीटी ८० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । ८० प्रतिशत सीसीडी रेसियो नघाउने जरिवाना तिर्नुपर्छ । यसले गर्दा बैंकले नयाँ कर्जा लगानी ठप्प पारेको अन्नपूर्णमा समाचार छ ।

र, यो पनि– गाउँमा डोजर पुगेपछि अबिर जात्रा

कर्णाली करिडोर हुँदै नेपाली सेनाले सडक नानीकोटको घाटपारी चौरसम्म पुर्याएपछि पलाता गाउँपालिकाले गाउँमा सडक खन्न कर्णाली नदी तारेर डोजर थिर्पु पुर्याएको छ । कान्तिपुरका अनुसार डोजर गाउँ पुगेपछि स्थानीयले अबिर जात्रा गरेर खुसियाली मनाएका छन् ।

गाउँमा पहिलोपटक डोजर पुगेपछि खुसी हुँदै स्थानीय कमला बमले पलातावासीको सडक सपना पूरा हुन थालेको बताइन् ।

उनले गाउँमै डोजर आएपछि थिर्पुबाट धौलागोह र खिन पुग्ने सडक खन्न पनि सहज हुने बताइन् ।

गाउँपालिकाले सर्वे गरेको सडक (मुनाल मार्ग) निर्माण सुरु गरेपछि थिर्पु गाउँ सडकसँग जोडिएको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताए । उनले गाउँमा डोजर पुगेको खुसीयालीमा रातभर गाउँलेले नाचगान गरेको सुनाए ।

प्रतीकात्मक तस्वीर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment