Comments Add Comment

डा. बालकृष्ण थापाः देशले गुमायो एक होनहार न्यूरो सर्जन

२९ फागुन, काठमाडौं । एक साता अघि भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा भर्ना भएका बुटवलका पिताम्वर सापकोटाको टाउकोमा रगत जमेको छ । सोमबार राति ८ बजे अप्रेशन गर्ने तय भएको थियो ।

डा. बालकृष्ण थापा सोमबारसम्म चितवन आइपुग्ने र राति अप्रेशन गर्ने तयारी थियो । तर, अफसोच डा. थापा आएनन् ।

बेड नम्बर ३१२ मा भेटिएका ७४ वर्षीय सापकोटा भन्छन्, ‘हिजो मेरो अप्रेशन गर्ने कुरा थियो तर, डाक्टर सा’ब त भगवानको अप्रेशन गर्न जानुभएछ ।’

डा. थापा न्यूरो सम्वन्धी सम्मेलनमा भाग लिन फागुन २५ गते बंगलादेशको राजधानी ढाकातर्फ गएका थिए । उनी आइतबार नै काठमाडौं फर्कने तालिका थियो । तर, कारणवस आइतबार आएनन्, सोमबारको टिकट लिए ।

तर, डा. थापासहित ७१ जना सवार यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा पर्‍यो ।

काठमाडौं ओर्लिएलगत्तै बुद्ध एयरको फ्लाइटबाट चितवन आउने र साँझ अप्रेशन गर्ने उनको योजना सफल हुन सकेन । भौतिक रुपमा नै अस्ताए डा. थापा ।

सयौं बिरामीलाई मृत्युको मुखबाट बचाएका डा. थापाले अल्पायुमै परेर ज्यान गुमाए । अहिले उनी कार्यरत अस्पतालमा सन्नाटा छाएको छ ।

को हुन् डा. थापा ?

भरतपुरको वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालका बरिष्ठ न्यूरो सर्जन हुन् डा. बालकृष्ण थापा । काभ्रेको कुशादेवी-३ मा २०२४ माघ ४ मा जन्मिएका डा. थापा चिकित्सकीय पेशाका अलवा साहित्य सिर्जनामा पनि सक्रिय थिए ।

२०४१ सालको एसएलसीमा काभ्रे जिल्ला प्रथम भएका उनले सरकारी छात्रवृत्ति पाएर एमवीवीएस अध्ययन गरे । त्यसपछि उनले कहिल्यै दोस्रो हुनु परेन । २०५१ सालका एमवीवीएस गोल्ड मेडलिष्ट हुन् उनी ।

ढाकास्थित बंगबन्धु शेखमुजिब विश्वविद्यालयबाट न्युरोमा एमएस गरे । त्यहाँ पनि टप गरे । चिकित्सा शिक्षा अध्ययनका क्रममा ३ पटक गोल्ड मेडल प्राप्त गरे ।

‘थापा निकै चलाख थिए, दिमाग खुब छिटो चलाउँथे’ १२ वर्षदेखि थापासँगै काम गरेका वरिष्ठ नाक, कान, घाँटी रोग विषेशज्ञ डा. देजकुमार गौतम सम्झन्छन् ।

उनी चिकित्सक संघका क्षेत्रीय उपाध्यक्ष र नेपाल न्युरो सर्जन समाजका महासचिव पनि हुन् । मोफसलमा बसेर पनि गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने दृढ खालको अठोट उनमा थियो । चितवनमा नै बसेर केही गर्ने र भरतपुरको क्यान्सर अस्पताल सुधार गर्ने सपना उनी सुनाउँथे ।

छापामार शैलीमा उपचार !

डा. थापाको अर्को परिचय पनि थियो, उनले सशस्त्र द्वन्द्वका क्रममा धेरै लडाकूहरुको ज्यान बचाएका थिए । उनले रातभर हिँडेर माओवादीका घाइते लडाकुको उपचारमा समेत खटिने गरेका थिए । ‘चितवनमा मात्रै होइन, धेरै ठाउँमा पुगेर उहाँले घाइते लडाकुको ज्यान जोगाउनु भएको थियो,’ पूर्वलडाकु रमेशकुमार तिम्सिनाले भने, ‘उहाँ छापामार शैलीमा उपचार गर्नुहुन्थ्यो । हामीलाई पटकपटक जोगाउनुभयो तर, अब आफैं रहनु भएन ।’

कर्मचारीलाई कविता सुनाउँथे

साहित्य क्षेत्रमा पनि डा. थापाको रुचि उत्ति नै थियो । डा. थापाले दुई कविता संग्रह प्रकाशन गरेका छन् । डाक्टरी कविता २०६१ र डाक्टरका कविता २०६९ एवम् निबन्ध संग्रह चिरफार २०७० प्रकाशित छन् । उनी क्यान्सर अस्पतालका कर्मचारीहरुलाई कविता सुनाएर खुसी पार्दथे ।

निजी सामान लगेर उपचार गर्थे

डा. थापा क्यान्सर अस्पतालको बेथितीप्रति असन्तुष्ट थिए र एसियाकै उत्कृष्ट अस्पताल बनाउने योजना पेश गर्थे । डा. थापा अरु चिकित्सक भन्दा फरक थिए ।

उनले थुप्रै पटक आफू आवद्ध निजी अस्पतालका उपकरण क्यान्सर अस्पतालमा लगेर समेत विरामीको उपचार गरेका थिए । कहिले भरतपुरको एलाइभ अस्पताल त कहिले चितवन मोडल अस्पतालबाट उपकरणहरु गाडीमा राखेर क्यान्सर अस्पताल लैजान्थे र बिरामीको उपचार गर्थे । डा. थापाले भनेको सम्झदै एलाइभ अस्पतालका सञ्चालक डा. प्रमोद लामिछाने भन्छन्, ‘मलाई किन यस्तो रहर लाग्छ ?’

अस्पतालमा प्रयाप्त उपकरण नहुँदा आफ्नो भएको खुबी देखाउन नपाएको गुनासो उनले पटकपटक गरेका थिए । धेरैजसो अप्रेशन उनी राति गर्थे । एलाइभका सञ्चालक डा. लामिछाने भन्छन्, ‘कहिलेकाँही त राति ४ बजे अप्रेशनको तालिकामा राख्नुहुन्थ्यो । अजिवकै व्यक्ति हुनुहुन्थ्यो ।’

अपूरणीय क्षति

थापाको निधनसँगै क्यान्सर अस्पतालमा न्यूरो सर्जनको अभाव सुरु भएको छ । डा. थापा न्यूरो सर्जरीका विभागीय प्रमुख हुन् । उनी र डा. बेन्जु रश्मी प्रधान मात्रै चिकित्सक छन् । डा. बेन्जुलाई पनि डा. थापाले नै न्यूरो सर्जन बन्न अभिप्रेरीत गरेका थिए । बेन्जु नेपालकै पहिलो महिला न्यूरो सर्जन हुन् । तर, डा. थापा भइञ्जेल बेन्जुलाई कुनै प्रेसर हुन्थ्ोन ।

ब्रेन ट्युमर भएका बिरामीहरु डा. थापा कहाँ पुग्थे । ‘क्यान्सरसम्वन्धी न्यूरो सर्जन डा. थापा जतिको भेटाउन देशमा मुस्किल छ,’ डा. देजकुमार गौतम भन्छन्, ‘उहाँजतिको व्यक्ति तयार गर्न यो देशलाई अझै ५-७ वर्ष लाग्छ ।’

डा. थापाको निधन क्यान्सरका बिरामी र देशका लागि अपूरणीय क्षति हो भन्छन् उनी । उनले क्यान्सर अस्पतालको ओपीडीमा दैनिक ३५ जनासम्म बिरामी हेर्ने गरेका थिए ।

अब डा. बेञ्जु मात्रैको काँधमा त्यो जिम्मेवारी आएको छ । डा. थापाबाटै दीक्षित भएकी डा. बेञ्जुले अनलाइनखबरसँग विहान भएको भेटमा भनिन्, ‘खै सक्छु कि सक्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment