Comments Add Comment

एमाले अनुशासन आयोगको निष्कर्षः पार्टीमा दण्डहीनता मौलायो

२९ फागुन, काठमाडौँ । एमाले केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ ।

आयोगको आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको गलत कार्यउपर छानविन नगरी दण्डहीनता मौलाइरहेको बताएको हो ।

बैठकले पार्टीमा दण्डहीनता मौलाइरहेकाले वर्तमान स्थितिप्रति पार्टीको ध्यानाकर्षणसमेत गराएको आयोगका अध्यक्ष अमृतकुमार बोहराले जानकारी दिए ।

यस्तै, बैठकले पार्टीका कमिटीहरु प्रायः निष्क्रिय रहेको र लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकसमेत राम्ररी नभएको समेत जनाएको छ ।

बैठकपछि आयोगका अध्यक्ष अमृतकुमार बोहराले जारी गर्नुभएको विज्ञप्तिमा पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको बताइएको छ ।

त्यसैगरी, तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलाप, घात-अन्तरघातजस्ता अवाञ्छित कार्यको यथासमयमा छानबिन भई कारवाही हुनुपर्नेमा अनेकौँ बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको अध्यक्ष बोहराले बताए ।

यसैगरी, बैठकले सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटी तथा अखिल नेपाल महिला संगठन, युवा संघ नेपाल र अनेरास्ववियुजस्ता पार्टीका जनसंगठन उदासीन, निष्क्रिय र मुकदर्शक बनिरहेका भन्दै आयोगले कतै पार्टीपंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट विमुख बन्दै गरेको संकेत त होइन भन्ने प्रश्न खडा भएको पनि जनाएको छ ।

केही समयदेखि देशका विभिन्न भागमा ‘बलात्कार’, ‘हत्या’ र ‘बोक्सी’ आरोपजस्ता जघन्य सामाजिक अपराधका घटना एकपछि अर्को गरी शृङ्खलाबद्ध बढिरहेकामा तीनलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान तदारुकतासाथ नगएकामा पनि बैठकले दुःख व्यक्त गरेको छ ।

यसैगरी, बैठकले आयोगको रिक्त सदस्यमा राजनारायण साहलाई मनोनयनसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment