Comments Add Comment

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ ।

राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

निर्वाचक मण्डलमा संघीय संसदसँगै प्रदेशसभा सांसदहरु पनि मतदाता थिए । संघीय सांदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ तोकिएको थियो ।

वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ मत पाइन् । उनलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

कांग्रेस उम्मेदवार राईले भने ११७३० मत पाएकी छन् । उनलाई ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् ।

८ सांसदको मत बदर

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । तर, तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने दबर भएको छ ।

संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।

राष्ट्रियसभामा मनोनित तीन सांसद मतदाता नै थिएनन् भने जेल सजाय पाएपछि फरार रहेका प्रदेशसभा सांसद दिपक मनाङ्गे मतदाता नै हुन पाएनन् ।

कांग्रेसको असहमति जाहेर

भण्डारी ११ कात्तिक २०७२ मा नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । २ वर्ष बढी राष्ट्रपति रहेकी उनी कार्यकालको अन्त्यतिर भने विवादमा परिन् ।

नयाँ सरकार बन्नुअघि शेरबहादुर देउवा सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सिफारिस गरेका तीन जनाको नाम अड्काएपछि उनीमाथि दलगत आस्थाका आधारमा सरकारसँग व्यवहार गरेको आरोप लागेको हो । कांग्रेसले त्यही कारण हार्ने चुनाव लडेर आफ्नो असहमति जाहेर गरेको छ ।

भोजपुर मानेभञ्याङमा जन्मिएकी भण्डारी राष्ट्रपति हुनु अघि एमाले उपाध्यक्ष थिइन् ।

अस्तिको तीतो अनुभवले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुहोला र भन्ने आशंका बोकेर राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने अवस्था छ’ कांग्रेस सांसद गगन थापाले भने, ‘सबैको राष्ट्रपति बन्न सक्नुहुन्छ कि हुन्न उहाँको भूमिका निर्धारण गर्छ ।’

सपथ भोलि ४ बजे

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment