Comments Add Comment

हेयर इलेक्ट्रिक आइरनमा लुकाएर १४५ तोला सुन तस्करी !

२९ फागुन, काठमाडौं । सुन तस्करहरुले ब्यूटीपार्लरलाई प्रयोग गरेर समेत नेपालमा अवैध सुन भित्र्याउने गरेको पाइएको छ । ब्यूटी पार्लरमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा सुन लुकाएर नेपाल र भारतमा लगेर सुन बेच्ने गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएको छ ।

कपाल सिधा पार्ने आइरनमा सुन लुकाएर नेपाल ल्याउन र नेपालमा बिक्री गर्नमा संलग्न ६ जनालाई प्रहरीले सोमबार काठमाडौंमा पक्राउ गरेको छ ।

बेलुका साढे ७ बजे फ्लाइ दुबई एयरलाइन्सबाट आएका होमबहादुर बुढाथोकीले महिलाहरुले कपाल सिधा पार्न प्रयोग गर्ने इलेक्ट्रिक आइरनमा लुकाई ल्याएको सुन सरोज केसी ले चलाएको बा १६ च ३५१० नम्बरको कारमा राखी लैजादै गरेको अवस्थामा प्रहरीले सिनामंगलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बुढाथोकी र केसीसँगै सुन तस्करी गर्ने शशीकला भण्डारी गुरुङ र तस्करीको सुन कारोबार गर्ने ब्यापारी जीवन शाक्य, बिजु बज्राचार्य र योगेश मगरलाई पनि पक्राउ गरेको छ ।

शशीकला भण्डारी गुरूङको श्रीमानले दुवईबाट इलेक्ट्रिक आइरनमा सुन लोड गरेर पठाउने र ती सुन भण्डारी र सरोज शाक्यले लिएर कोटेश्वरको बर्ज्राचार्य गहना प्रालि र शाक्य अर्नामेन्टमा बिक्री गरेको पाइएको सीआईबीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

प्रहरीले उनीहरुको साथबाट इलेक्ट्रिक आइरनमा लुकाएको १० तोला सुन, ५ तोलाको सुनको सिक्री र बज्राचार्य गहना प्रालिबाट १२९ तोला सुन बरामद गरेको छ । पक्राउ परेकाहरुलाई प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग पठाएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment