Comments Add Comment

गण्डकीका साढे १६ सय थोत्रा गाडीलाई चैत १ बाट सडकमा ‘नो इन्टी’

फाइल फोटो

२९ फागुन, पोखरा । सरकारले दुई वर्ष अघि गरेको निर्णय पोखरामा बल्ल कार्यान्वयन हुने भएको छ ।  बिहीबारदेखि २० वर्ष पुराना गाडी चल्ने नदिने निर्णय गरेको छ, जसअनुसार ६ हजारभन्दा बढी गाडी बिस्तापित हुँदैछन् ।

दुई वर्ष अघि नै २० वर्ष पुराना गाडी हटाउने निर्णय भएको थियो । तर, अहिले पनि यातायात व्यवसायीले विरोध गरिरहेका छन् ।

सरकारले भने २० वर्ष पुराना सार्वजनिक गाडी हटाएरै छाड्ने बताएको छ ।

अब गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता भएकामध्ये १ हजार ६ सय ४६ पुराना सवारी साधन विस्तापित गर्न लागिएको हो । बिस्तापित हुनेमा ट्याक्सी, मिनि बस, ट्रकदेखि पर्यटक कारसम्म छन् ।

२० वर्ष पुराना गाडी बिस्तापित गर्ने सरकारी निर्णयलाई कार्यान्वयन गर्न यातायात व्यवस्था कार्यालय तयारी अवस्थामा रहेको प्रमुख अच्युत रेग्मीले बताए । उनले भने, ‘व्यवसायीले विरोध गर्दैमा सरकारी नीतिभन्दा बाहिर जान सकिँदैन ।’

पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउन प्रहरीसहित अनुगमन समिति बनाएरै सडकमा उत्रने रेग्मीले जानकारी दिए ।

सरकारले सम्पूर्ण सार्वजनिक सवारी साधनमा २० वर्षे नीति लागू हुने बताएको छ । पर्यटन नम्बरका सवारी साधन समेत चल्न नपाउने गरी विभागले देशभर रहेका मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।

कार्यालयमा सम्बन्धित सवारी धनीलाई निवेदन दिन पब्लिक नोटिस विभागले निकालिसकेको छ । २० वर्ष पुराना गाडीका सवारी धनीले कार्यालयमा निवेदन दिने मिति बुधबारसम्मका लागि तोकिएको प्रमुख रेग्मीले जानकारी दिए । ‘२० वर्ष पुराना ट्याक्सीका हकमा पुराना बिस्तापित गर्दा सट्टामा नयाँ दर्ता गर्न पाउने सुविधा दिएका छौं,’ रेग्मीले भने, ‘व्यवसायीले विरोध गरे पनि स्वतस्फूर्त रुपमा निवेदन आउन थालेका छन् ।’

सरकारी नीतिको बिरोध गर्दै आएको नेपाल यातायात व्यवसायी महासंघले यही विषयमा निर्णय गर्न बुधबार बैठक बोलाएको छ । केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले भने, ‘बैठकको निर्णयअनुसार हामी अगाडि बढ्छौं ।’

कति छन् पुराना गाडी ?
ठूलो बस – २८३
मिनि बस – ६ वटा
ट्रक -२३४ वटा
मिनि ट्रक – २७ वटा
ट्याक्टर – ७ वटा
ट्याक्सी – ४३३ वटा
जिप – ८७ वटा
माइक्रो वस – २ वटा
पिकअप – ७ वटा
भ्यान – ६ वटा
हाते टेक्टर – ४९५ वटा
पर्यटक बस – ८
पर्यटक मिनी वस – ३
पर्यटक जिप – ५
पर्यटक माइक्रो बस – ५
पर्यटक भ्यान -३
पर्यटक कार – ३५ वटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment