Comments Add Comment

बनारसमा मोदीसँगै फ्रान्सका राष्ट्रपतिको स्वागत गर्ने मौका पाइन् नेपाली छात्राले

भारत भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथ बनारसको धार्मिक, पौराणिक र साँस्कृतिक झाँकी तथा सम्पदाको अवलोकन गरे । गंगा नदीमा नौकाबिहार पनि गरे ।

भारतीय प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोनी जब बनारसको अस्सी घाट पुगे, त्यहाँ उनीहरुको स्वागत गर्ने मौका बनारस हिन्दु विश्वविद्यालयमा पढीरहेका दुइ छात्राले पाएका थिए । उनीहरुमध्ये एक थिइन्, पायल र अर्की थिइन्, सुजाता पोखरेल ।

नेपाली चेली सुजाता बनारस हिन्दु विश्वविद्यालयमा संगीत तथा मञ्च कला संकायमा मास्टर डिग्रीमा अध्ययरत् छिन् । उनी ‘मास्टर अफ पर्फमीङ’को अन्तीम सेमेस्टर अन्तर्गत कत्थक नृत्य विषय पढीरहेकी छन् ।

मोदी र म्याक्रोनको स्वागतको तयारीका लागि अघिल्लो दिन बिएचयूका १४ जना छात्रालाई अस्सी घाटमा बोलाइएको थियो । संस्कृति मन्त्रालयका अधिकारीहरुले अग्रपँक्तिमा रही विशिष्ठ अतिथिको स्वागतका लागि सुजाता र पायललाई छनौट गरेका थिए । त्यसपछिको पँक्तिमा पि्रयंका र गुडियाले स्वागत गर्ने र बाँकी छात्राले विशिष्ठ अतिथिमाथि पुष्प वर्षा गर्ने तय भएको थियो ।

‘हामी स्वागतका लागि अस्सी घाटमा उभिइरहेका थियौं, पौने दुर्इ बजेतिर मोदी र म्याक्रोनको आगमन भयो’, सुजाताले फोनमा भनिन्, ‘मैले दुबै विशिष्ट अतिथिलाई पुष्प गुच्छा दिएँ र नमस्कार गरें । उहाँहरु मुस्कुराउनुभयो ।’

पूर्ण सुरक्षाका साथ अतिथिको स्वागतको तयारी भएको बताउँदै सुजाताले भनिन्, ‘सबै घाट सजाइएको थियो । गंगा नदि पनि पुरै सफा गरिएको थियो । बाटोहरु पिच गरिएको थियो ।’

आफुहरुले मोदी र म्याक्रोनको स्वागत गरीरहँदा अस्सी घाटमा १२१ वैदिक ब्राम्हणले स्वस्ती बाचन गरीरहेको सुजाताले जानकारी दिइन् । ‘चाँदीको फूलैफुलले सजाइएको थालीमा आरती थियो, पण्डित लक्ष्मीनारायण मिश्रले आरती गर्नुभयो’, उनले भनिन्, ‘हरहर महादेवको नारा गुञ्जीरहेको थियो र राष्ट्रपति म्याक्रोनी रोमांचीत हुँदै हरेक दृश्य हेरीरहनुभएको थियो, हात हल्लाइरहनुभएको थियो ।’

प्रख्यात सहनाइबादक उस्ताद विस्मील्लाह खाँको नगर भएकाले २१ जना सहनाइ बादकहरुले सहनाइ बजाइरहेका थिए भने ढोल र नगरा पनि गुञ्जीएका थिए । मोदी र म्याक्रोनले अस्सीघाटमा निर्मित विश्वप्रसीद्द मिलाप झाँकीको अवलोकन गरेको र त्यसपछि गंगामा नौका बिहार गरेको सुजाताले बताइन् ।

सुजाता  बिएचयूको अन्र्तराष्ट्रिय होस्टेलमा बस्छीन् । बनारसमा हुने नृत्यसम्बन्धी कार्यक्रममा सहभागी हुन्छीन् । भारतका विभिन्न ठाउँमा आयोजना हुने नृत्य कार्यक्रम होस् या विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रम नै किन नहोस्, सुजाताको सहभागिता हुने गरेको छ । बनारससँग नेपालको लामो समयदेखि धार्मिक, साँस्कृतिक र शैक्षिक सम्बन्ध रहँदै आएको बताउँदै सुजाताले भनिन्, ‘मलाई मेरो गुरु र साथीहरुले नृत्यमा अघि बढन सहयोग गरीरहनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment