Comments Add Comment

व्यापार ओरालो लागेपछि सुन व्यापारीले गरे सहकर्मीको हत्या

२९ फागुन, झापा । विर्तामोडका सुन व्यवसायी साजन मुखियाको अपहरणपछि हत्या भएको छ । आफ्नो ब्यापार आरोलो लागेपछि अर्का सुन व्यवसायी पारस कुमार देवको समूहले मुखियाको हत्या गरेको खुल्न आएको छ ।

बिर्तामोड ५ मा देवा ज्वेलर्सका सञ्चालक २६ वर्षीय २० गते दिउँसोबाट वेपत्ता भएका थिए । उनको शव सोमबार इलामको रोङ गाउँपालिका-३, कोल्बुङमा भेटिएको हो ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेअनुसार साजन र पारसले सुनको कारोबार गर्ने गरेका थिगए । साजनले छोटो समयमा राम्रो आर्थिक हैसियत बनाएको तर, आफ्नो ब्यापार ओरालो लागेपछि पारसले विवाद गरेका थिए ।

त्यही क्रममा रिद्दीसिद्दी ज्वेलर्सका सञ्चालक पारसले साजनको हत्या गर्ने योजना बनाए । उनले आफू पसलमा काम गर्ने प्रकाश भन्ने चिरन्जिबी ओली र दिपेश पौडेल लगायतलाई पैसा दिएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २० गते दिउँसो पारसको समूहले सुन किन्न बहानामा साजनलाई बिर्तामोडस्थित एभरेष्ट बैंक नजिक बोलाएका थिए । त्यहाँबाट उनीहरुले साजनलाई अपहरण गरेर तमुटोलस्थित पारसको घरमा लगेर बन्धक बनाए ।

त्यही साजनमाथि कुटपिट गरी प्यास्टिकको डोरीले दुबै हात र घाँटीमा बाँधेर हत्या गरेको खुलेको छ । हत्यापछि उनको शवलाई जुटको बोरामा हालर मेची सडकखण्ड अन्तर्गतम इलामको रोङ नगरपालिका ३ कोल्बुङ, अर्यालचोक नजिक रहेको ठाडो भिरमा लगेर लडाएको अनुसन्धानबाट खुल्न आएको छ ।

अनुसन्धानका क्रममा अपहरणमा पर्नुअघि पारस र चिरञ्जीवीले नयाँ नम्बरबाट पटकपटक सम्वाद गरेको पाइएपछि उनीहरुतिरै अनुसन्धान सोझिएको थियो ।

प्रहरीले मानव अपहरण तथा शरिर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर पारस, दिपेश र चिरञ्जिवीमाथि थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment