Comments Add Comment

पोखराको फिर्के खोलाको सिमाना छुट्याउन शुरु, मापदण्ड मिचेर बनाइएका संरचना भत्काइने

३० फागुन, पोखरा । पोखराको बीच भागबाट बग्ने फिर्के खोलाको सिमाना छुट्याउन रेखाङ्कन कार्य शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको अगुवाइमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ सराङ्कोटको फेदी अँधेरीकुनाबाट शुरु भई प्रस्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्के खोलाको सिमाना नापेर छुट्याउँदै रेखाङ्कन गर्ने कार्य बुधबार विहानबाट शुरु भएको हो ।

फिर्के खोला अँधेरीकुनादेखि बुलौंदीसम्म ५ मिटरको छ भने बुलौंदीदेखि फेवाताल मिसिने बिन्दुसम्म ३४ मिटरको रहेको महानगरका अमिन दिवाकर सुवेदीले जानकारी दिए । फिर्के खोला किनारमा ५ मिटरको मापदण्ड तोकेर कुनैपनि संरचना बनाउन निषेध गरिएको छ ।

एक हप्ताभित्र सक्ने लक्ष्य राखेर फिर्के खोलाको रेखाङ्कन शुरु गरिएको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । फेवातालमा मिसिने फिर्केको अन्तिम विन्दुबाट रेखाङ्कन शुरु गरिएको र यो फिर्केको मुहान सराङ्कोटको फेदीसम्मै गरिने उनले बताए ।

महानगर प्रमुख जिसीले फिर्केको जमिन नमिच्नेलाई धन्यवादसहित बधाइ र नमिच्नेलाई बिदाइ गरिने चेतावनी दिए । फिर्केको कहाँ ? कसले ? र कति ? जमिन मिचेको पत्ता लगाएर रेखाङ्कन गर्ने भन्दै उनले भने, ‘फिर्के खोलाको क्षेत्रफल कति हो ? त्यसमा लागू गरिएको ५ मिटरको मापदण्ड पालना छ कि छैन ? मिचेको हो भने कसले कति मिचेको हो ? भन्ने पत्ता लगाएर नमिचेकालाई धन्यवादसहित बधाइ र मिचेकालाई विदाइ गरिन्छ ।’

महानगर प्रमुख जिसीले रेखाङ्कन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिका आफैले डोजर लगाउने बताए । त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनले बताए ।

पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखाङ्कन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइने प्रमुख जिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment