Comments Add Comment

आकाश श्रेष्ठका तीन हिरोइन, को बन्लान् ‘लक्की’ ?


कुनै पनि कलाकार स्टार वा हिट हुनका लागि उसँग काम गर्ने को-स्टारको पनि महत्वपूर्ण भूमिका हुन्छ । कहिलेकाहीँ को-स्टारकै बलमा चलचित्र हिट भइदिन्छ ।
नायक पल शाह, प्रदिप खड्कादेखि सलिनमान बनियाँ यसैका उदाहरण हुन्, जसलाई हिट बनाउनमा उनीहरुको को-स्टारको स्टारडम महत्वपूर्ण थियो । पल र प्रदिपलाई पुजा शर्मा तथा सलिनमानलाई साम्राज्ञी फापेका थिए ।

चलचित्र ‘म त तिम्रै हुँ’ बाट नेपाली रजतपटमा भित्रिएका नायक आकाश श्रेष्ठ चर्चामा छन्, तर सफलता चाखिसकेका छैनन् । उनले, राम्रा ब्यानरका चलचित्रमा काम गरे पनि अन्य केही नायक जस्तै उनी क्लिक हुन बाँकी छ ।

आकाशले अभिनय गरेको अर्को चलचित्र ‘डि्रम गर्ल’को पनि छायांकन सकिएको छ । तर, यो चलचित्रमा नायिकाले भन्दा पनि उनले नै दर्शकलाई हलसम्म तान्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा, आकाशका केहि चलचित्र रिलिजको पाइपलाइनमा छन्, जसले उनलाई ‘स्टार’ बनाउन सक्छ । साथमा, चल्तीका नायिकाहरुका कारण पनि आकाशलाई फाइदा हुने देखिएको छ ।

पूजा शर्मा
नायिका पूजा शर्मा केही नायकहरुका लागि ‘लक्की’ देखिएकी छिन् । उनीसँग नायक प्रदिप खड्काले चलचित्र ‘प्रेमगीत’मा जोडी बाँधे, अहिले स्टार बनेका छन् । नायक पल शाहले चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा उनकोे जोडीको रुपमा काम गरे, पल पनि अहिले चर्चित छन् ।

उनै, पूजासँग नायक आकाश श्रेष्ठले चलचित्र ‘रामकहानी’मा स्त्रिmन सेयर गरेका छन् । यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको भदौ २२ गतेलाई तोकिएको छ ।

सुदर्शन थापाले निर्देशन गरिरहेको यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अड्कल लगाइएको छ । पूजासँग जोडी बाँधेका आकाशका लागि स्टार बन्ने बाटो यो चलचित्रले खोल्ने पनि धेरैको टिप्पणी छ । के पूजा उनका लागि ‘लक्की’ साबित होलिन् ? प्रतिक्षा गरौ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह
साम्राज्ञी राज्यलक्ष्मी शाहलाई चलचित्र क्षेत्रमा अहिले दर्शक तान्न सक्ने नायिकाको रुपमा लिइन्छ । उनले अभिनय गरेका दुई चलचित्र नै बक्स अफिसमा हिट भएपछि उनको डिमान्ड आकाशिएको छ ।

साम्राज्ञी र नायक आकाशले काम गरेको चलचित्र ‘तिमी सँग’ चैत्र २३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको खण्डमा पनि यसले आकाशलाई फाइदा दिनेछ ।

नायक अनमोल केसी र सलिनमान बनियाँसँग जमेको साम्राज्ञीको जोडी आकाशसँग कति जम्ला, यसका लागि चैत्र २३ गते नै कुर्नपर्छ ।

आँचल शर्मा
हुनत, नायिका आँचल शर्मा अहिले नै चलचित्र क्षेत्रमा आफ्नै स्टारडमले दर्शक तान्न सक्ने क्षमता राख्दिनन् । यसैले, पूजासँग चलेका नायक पल शाह, आँचल शर्मासँग ‘जोनी जेन्टलम्यान’ मा देखिदा चलेनन् ।

आँचल अहिले पर्दामा भन्दा पनि नायक पल शाहसँगको प्रेमका कारण बढी चर्चामा छिन् । उनै, आँचल र नायक आकाश श्रेष्ठले एकसाथ काम गरेको चलचित्र ‘ब्ल्याक’ जेठ महिनामा रिलिज हुँदैछ । यो चलचित्रमा आँचल र आकाशको रोमान्स हेर्न सकिन्छ । यो चलचित्र चलेको खण्डमा आँचल आकाशका लागि ‘लक्की’ साबित हुनेछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment