Comments Add Comment

सर्वोच्च न्यायालयमा अभूतपूर्व अन्योल

कानुनको किताब बोकेर पैदलै बालुवाटार पुगे पराजुली

१ चैत, काठमाडौं । बिहीबार प्रकाशित सबै पत्रिकाहरुले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली पदमुक्त भएको समाचारलाई मुख्य प्राथमिकता दिएर छापेका छन् । न्यायपरिषदले गरेको पदमुक्तबारे पराजुलीको प्रतिक्रिया पनि कतिपय पत्रिकाले समेटेका छन् । पदमुक्त भएका प्रधानन्यायाधीशबाट राष्ट्रपतिले लिएको ‘शपथ वैधानिक कि अवैधानिक’ शीर्षकमा नेपाल समाचारपत्र दैनिकले विशेष सम्पादकीय नै लेखेको छ ।

यसबाहेक पदमुक्त प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिएको, आजदेखि २० वर्ष पुराना गाडी चलाउन प्रतिवन्ध लगाइएको, महान वैज्ञानिक स्टेफन हकिङको निधन भएको समाचारले पनि पहिलो पृष्ठमा स्थान पाएका छन् ।

पराजुली भन्छन्- म बहाल छु, अदालत जान्छु

न्याय परिषदले प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएजानकारी गराए पनि पराजुलीले भने आफू पदमा बहाल नै रहेको दावी गर्दै अदालत जाने र नियमित काम गर्ने बताएका छन् । तर कामु प्रधानन्यायाधीश तोकिएका दीपकराज जोशीले भने आफू स्वतः कामु भएकाले इजलास तोक्ने बताएका छन् । यसबाट न्याय क्षेत्रमा अभूतपूर्व अन्योल आएको नयाँपत्रिका दैनिकमा समाचार छ ।

यस विषयमा कानुनका जानकारहरुको मत नै बाझिएको छ ।

कानुनको किताब बोकेर पैदलै बालुवाटार पुगे पराजुली

नयाँ पत्रिकाका अनुसार आफू पदमा बहाल नै रहेको स्पष्ट पार्न प्रधानन्यायाधीश गोपाल पराजुली कानुनको किताब नै बोकेर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

समाचारमा लेखिएको छ- न्यायपरिषदका सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली गत २१ साउन मै पदमुक्त भएको पत्र जारी गर्दै गर्दा शीतलनिवासमा राष्ट्रपतिको शपथग्रहणका लागि तयारी भइरहेको थियो । राष्ट्रपतिले गोपाल पराजुलीबाटै शपथ लिने कि नलिने भन्ने छोटो संशय तोड्दै शपथग्रहण कार्यक्रम समाप्त भयो । राष्ट्रपतिलाई शपथ गराएर निवास फर्किएका पराजुली साँझ ७ः२५मा निस्किए र पैदलै प्रधानमन्त्री निवासतर्फ गए । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासको पर्खाल जोडिएको छ । हातमा कानूनको किताव बोकेका उनी पल्लोपट्टि गएकरिबआधाघन्टापछि फर्किए ।

‘अटेर गरे महाअभियोग’

कान्तिपुर दैनिकले अटेर गरे गोपाल पराजुलीलाई महाअभियोग लगाउने सत्तापक्षले तयारी गरेको समाचार लेखेको छ ।

न्यायपरिषद सचिवालयले पराजुलीलाई बुधबार दिउँसो अवकाशको जानकारी दिएको थियो । तर, उनले प्रधानन्यायाधीशकै हैसियतमा न्यायपरिषद बैठक राखेका थिए । त्यसलाई लिएर प्रधानमन्त्री केपी ओलीसहितका सत्तापक्षका नेताहरुले असन्तुष्टि जनाउँदै पराजुलीविरुद्ध महाअभियोग लगाउनेबारे छलफल गरेको समाचारमा उल्लेख छ ।

समाचारमा ‘स्रोत’लाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘हामीले त सम्मानपूर्वक बहिर्गमनको लागि बिदामा बस्नोस् भन्ने सुझाव दिएका हौं तर मान्नु भएन । न्यायपरिषदले अवकाश भएको जानकारी दिइसकेपछि पनि प्रधानन्यायाधीशको हैसियतमा गतिविधि अघि बढाउने काम भएको छ । उहाँ बाहिरिनु भएन भने महाअभियोग हुन्छ ।’

पराजुलीका फैसलाले गुम्यो ६१ अर्ब !

नागरिक दैनिकले प्रधानन्यायाधीश गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र फैसलाका कारण देशले ठूलो परिणाममा राजस्व गुमाएको समाचार छापेको छ । त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा ब्यहोरेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ- पराजुली प्रधानन्यायाधीश भएपछि सर्वोच्चले टेलियासोनेरा एनसेल निरजगोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा ब्रुअरी, सूर्य नेपाल, मल्ल होटल र अन्तःशुल्क नक्कली स्टिकरको मुद्दामा ती कम्पनीहरुकै पक्षमा आन्तरिम आदेश जारी गरेको थियो । ती कम्पनीहरुले बुझाउनुपर्ने ६१ अर्ब ९ करोड रुपैयाँभन्दा बढी राजस्वमा अन्तरिम आदेश भएपछि छुट पाएका छन् ।

सम्बन्ध विच्छेद गरेका श्रीमान् छोरीको शव दाबी गर्न आएपछि

राजधानी दैनिकमा सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरीको शव दावी गर्न आएको समाचार पनि छ । यो समाचार बंगला एयर विमान दुर्घटनासँग सम्बन्धित छ ।

समाचारमा लेखिएको छ- ‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् ।

सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरी श्वेताको मृत्यु भएपछि शव दाबी गर्न आएपछि उर्मिला निकै भाव विह्वल भइन् ।

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परी आफ्नो २४ वर्षीया डाक्टर छोरी गुमाएकी उर्मिला प्रधान पोस्टमार्टममा राखिएको छोरीको शवको सम्पूर्ण पहिचानसहित हुलिया विवरण दिएर शव बुझ्न अस्पताल पुगेकी थिइन् । ५८ वर्षीया उर्मिला निकै विक्षिप्त अवस्थामा थिइन् । तर, बुधबार एकाएक सम्बन्ध विच्छेद गरेर बसेका पूर्वश्रीमान् नुवाकोट विदुर नगरपालिका थुम्काका गजेन्द्र थापा छोरीको शव दाबी गर्न आएपछि उर्मिला आश्चर्यचकित भइन् ।

उनले राजधानीसँग भनेकी छन्, ‘मैले छोरी श्वेतालाई हुर्काएर ठूलो बनाएँ । दुःख गरेर पढाएँ । तर, अहिले आएर छोरीको शवमा दावी गर्दैछ । मैले छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ ।’

मन्त्रिपरिषदकै निर्णयबाट वन विनाश

राजधानी दैनिकमै ‘मन्त्रिपरिषदकै निर्णयबाट वन विनाश’ शीर्षकको समाचा छ । समाचारअनुसार वर्षौंदेखि मन्त्रिपरिषदको निर्णयबाटै वन विनाशका लागि स्वीकृति दिने गरिएको भए पनि त्यसको रोकथामका लागि कुनै निकाय सचेत देखिएको छैन ।

समाचारमा लेखिएको छ- राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरुलाई सर्त पालना गरेर वन क्षेत्र प्रयोग गर्न पाउने कानुनी प्रावधान छ । त्यही प्रावधानअनुसार समयसमयमा निजी र सरकारी निकायलाई समेत वन क्षेत्र प्रयोग गर्न दिने निर्णय सरकारले गर्दै आएको छ । सरकारको यही निर्णयले वर्सेनी लाखौं रुख कटान हुने गरेको छ । त्यसको तुलनामा न्युन मात्रामा वृक्षरोपण हुने गरेको क्षेत्रीय वन निर्देशनालयले जनाएका छन् ।

सरकारलाई पूर्णता दिने गृहकार्य

अन्नपूर्ण पोष्ट दैनिकले राष्ट्रपति र सभामुख निर्वाचन सकिएसँगै प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा जुटेको समाचार छापेको छ । दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन् ।

प्रधानमन्त्रीले सरकारमा आउन तयार संघीय फोरम र सरकारलाई समर्थन गरेको राजपाका नेताहरूसँग पनि औपचारिक-अनौपचारिक छलफल जारी राखेका छन् । प्रधानमन्त्री ओलीले बुधबार पनि माओवादी अध्यक्ष दाहालसँग बालुवाटारमा लामो संवाद गरेका थिए ।

फागुन ३ मा प्रधानमन्त्री भएका ओलीको मन्त्रिमण्डल अहिलेसम्म सात सदस्यीय मात्र छ । एमाले उपमहासचिव विष्णु पौड्यालका अनुसार अहिले प्रधानमन्त्रीले ध्यान सरकारलाई पूर्णता दिनमा लगाएका छन् । ‘प्रधानमन्त्री अब सरकारलाई पूर्णता दिने छलफलमा जुट्न थाल्नुभएको छ’, पौड्यालले भने, ‘राजपा र संघीय फोरम दुवै दललाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले छलफल गर्नुभएको छ । छलफल सकारात्मक छ । अब धेरै दिन पर्खनुपर्दैन, एक-दुई दिनमै सरकारले पूर्णता पाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment