Comments Add Comment

‘पञ्चायत’मा नीताः २५ बर्षकी नायिका कसरी देखिइन् १४ बर्षकी फुच्ची ?


भोली शुक्रबारबाट देशभर चलचित्र ‘पंचायत’ रिलिज हुदैछ । अमेरिकामा भएको एक महोत्सवमा अवार्ड जितेर यो चलचित्र चर्चामा आएको थियो । गत साता काठमाडौंमा गरिएको प्रिमियर शोमा पनि यसले तारिफ पायो । यसैले पनि चलचित्र चल्नेमा यसको निर्माणपक्ष विश्वस्त छ ।

यो चलचित्रको मुख्य भूमिकामा नायिका नीता ढुंगाना देखिएकी छिन् । नीता यो चलचित्रमा १४ बर्षकी किशोरीको भूमिकामा देखिएकी छिन् । २५ बर्षकी नीतालाई १४ बर्षकी देखिन त्यती सजिलो भने थिएन । आधुनिक यूवतीको भूमिकामा चलचित्रमा नायकसँग रोमान्स गरेकी यी सुन्दरी वि.सं २०३३ सालको कथामा देखिन कसरी तयार भइन् ? ‘पंचायत’मा काम गर्दा नीताका दुःख कम छैनन् । उनले, अनलाइनखबरसँग ‘पंचायत’ अनुभव यसरी साटेकी छिन्:

स्थानीयबाट भाषा सिकेँ
मैले यो चलचित्रका लागि वर्कसप नै गर्न पाइनँ । वर्कसप चलिरहँदा म अर्को चलचित्रको छायांकनमा व्यस्त थिएँ । चलचित्रको कथावस्तु पढिसकेकाले म मानसिक रुपमा भने तयार थिएँ ।

हामी बाग्लुङबाट २ घन्टाको बाटो हिडेर बलेवा बन्ने ठाउँ पुगेका थियौ । जहाँ, चलचित्रको सुटिङ थियो । गाडी नजाने भएकाले सबै सामान बोकेर लगियो । आफ्नै सामान आफै बोक्नुपर्ने भएकाले पनि गाह्रो थियो ।

चलचित्रमा मैले बोलिआएको टोनभन्दा फरक टोन बोल्नुपर्यो । यसका लागि पनि म तयार थिइनँ । मैले गाउँलेकै भाषा सुनेर त्यो सिकेकी थिएँ ।

८ केजी घटेँ
चलचित्रमा म १४ बर्षकी किशोरीको भूमिकामा देखिनुपर्ने थियो । २५ बर्षकी युवती कसरी १४ बर्षकी देखिने ? सबैलाई ढाँटे पनि क्यामेरालाई ढाट्न सकिदैन भन्ने लागेको थियो ।

सुरुवातमा त मैले चलचित्रका निर्देशक शिवम् अधिकारीलाई मेरा कारण चलचित्र नबिगार्नुहोस् भनेकी थिएँ । उहाँहरुले नयाँ र पुराना कलाकारको अडिसन गर्नुभयो । तर, अन्तिममा मलाई नै आएर तिमीले बाहेक अरुले न्याय गर्न सक्दैन भनेपछि म काम गर्न तयार भएँ ।

मैले १४ बर्षका किशोरीको हाउभाउ, बोलिचाली, व्यवहार पनि सुटिङमै सिकेँ । मसँग काम गर्ने अन्य महिला कलाकार यही उमेरको हुनुहुन्थ्यो । उहाँहरुसँग बस्दै गर्दा मलाई सिक्न सजिलो भयो ।

आजभन्दा करिब ५० बर्ष पुराना किशोरीले लगाउने पहिरन लगाउनु पथ्र्यो । यो पहिरनमा शरीरको स्ट्रक्चर पनि ढाल्नु पर्ने थियो । त्यसका लागि भने केही गाह्रो भयो ।

गाडी देख्दा दंग
करिब २२ दिन बलेवा भन्ने गाउँमा बस्दा हामी धेरै कुराबाट सम्पर्कविच्छेद थियौ । त्यहाँ गाडी पुगेको थिएन, मोबाइलको नेटवर्क पनि डाँडामा पुगेपछि मात्र आउँथ्यो । २२ दिनपछि छायांकन सकेर गाडीसम्म आइपुग्दा त अचम्म लागेको थियो । ओहो, गाडी देख्न पाइयो भन्ने पनि लागेको थियो ।

अर्कोतिर, हामीले चलचित्रमा चामल, दुध, मह, दही, रोटी नै देखाएका छौ । हामी सो ठाउँमा स्थानीयको घरमा नै बस्यौ । त्यसैले, उहाँहरुले जे खानुहुन्छ, त्यही नै खायौं । पछि, मम, पिज्जा देख्दा मुख नै रसाएको थियो ।

व्यापार भन्दा सन्तुष्टी ठूलो
चलचित्रका लागि हामीले धेरे दुःख गरेका छौ । त्यसैले पनि अहिले चलचित्रबाट पाएको प्रतिक्रियाले अत्यन्तै खुशी लागेको छ । अब, चलचित्रले कस्तो व्यापार गर्छ त्यो त भोलीको कुरा हो । तर, चलचित्र रिलिज अगावै जुन खालको हाइप यसले पाएको छ, त्यसले गर्दा साँच्चिकै राम्रो चलचित्रमा काम गरिएछ भन्ने लागेको छ ।

अमेरिकामा आयोजना भएको महोत्सवमा २ सय १६ वटा चलचित्रलाई उछिन्दै ‘पंचायत’ र मैले जुन अवार्ड पायौ, यो हामीले मात्र पाएको होइन । यो सिंगो देशले नै पाएको हो भन्ने लागेको छ मलाई ।

कमर्सियल चलचित्र पनि गर्छु
‘पञ्चायत’ गरिसकेपछि यस्तै बिषयको मात्र चलचित्र गर्छु भन्ने सोच छैन । मलाई कमर्सियल रुपमा हिट हुने चलचित्र पनि चाहिएको छ । तर, यस्तो चलचित्र गर्दा रमाइलो भने बेग्लै हुन्छ । मनबाटै सन्तुष्ट भइन्छ । आफूसँग भएको कला सम्पूर्ण रुपमा देखाउन पाइन्छ । यस्तो भूमिकामा न्याय गर्न पनि मन लाग्छ । कमर्सियल र यस्तो खालका कथामा अफर आए पनि म गर्न तयार छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment