Comments Add Comment

पराजुलीलाई भ्रष्टाचार मुद्दा लाग्न सक्ने

देउवा छाया सरकारका प्रधानमन्त्री

२ चैत, काठमाडौं । शुक्रबार प्रकाशित दैनिक पत्रिकाहरुमा नेपाली क्रिकेटले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको र गोपाल प्रसाद पराजुलीले पदमुक्त भइसकेपछि प्रधानन्यायाधीशबाट राजीनामा दिएको समाचार प्रमुख हेडलाइन बनेको छ ।

कतिपयले न्यायमूर्तिको असहज बहिर्गमन भएको र कतिपयले राजीजामा दिए पनि भ्रष्टाचार मुद्दा लाग्ने समाचार छापेका छन् ।

न्यायमूर्तिको असहज बहिर्गमन

नागरिक दैनिकले ‘न्यायमूर्तिको असहज बहिर्गमन’ शीर्षकको मुख्य समाचार छापेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली असहज रुपमा पदबाट बाहिरिएको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ, ‘सर्वोच्च अदालतको नेतृत्वबाट पराजुली पदमुक्त भएसँगै मुलुकको न्यायिक इतिहासमा बाध्यकारी बाटोबाट प्रधानन्यायाधी परिवर्तनको पहिलो नजिर बनेको छ । न्याय परिषद्ले पठाएको पत्रका कारण प्रधानन्यायाधीश परिवर्तन भएको घटनालाई आश्चर्य र असहज मानिएको छ ।’

नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममितिसम्बन्धी विवादमा मुछिएका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद् सचिव नृपध्वध निरौलाले बुधबार पदावधि सकिएको जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् ।

पराजुलीलाई यो अवस्था आउन सक्ने संकेत केही समयअघि नै उनका धेरै शुभचिन्तकले गरेका थिए । शुभचिन्तकहरुले राजीनामा दिन र बिदामा बस्न दिएको सुझावलाई बेवास्ता गर्दा उनी असहज रुपमा पदबाट बाहिरिनुपरेको हो ।

एक साताअघि सरकारका तर्फबाट महान्यायाधीवक्ता अग्नि खरेलले पराजुलीलाई न्यायपालिकामा देखिएको विवाद समाधान गर्नका लागि बिदामा बस्न सुझाव दिएका थिए ।

पराजुलीलाई भ्रष्टाचार मुद्दा लाग्न सक्ने

कान्तिपुर दैनिकले पराजुलीले पदबाट राजीनामा दिए पनि उनीमाथि भ्रष्टाचार मुद्दा लाग्नसक्ने समाचार लेखेको छ ।

निवर्तमान प्रधानन्याधीश गोपालप्रसाद पराजुलीले आफू न्यायपरिषद्बाट पदमुक्त भएपछि साँझसम्म पनि त्यसलाई चुनौति दिँदै बिहीबारको पेसी आफैँले तोक्ने दाबी गरिहेका थिए, तर जब बिहानै सर्बोच्च प्रशासनले कायममुकायम प्रधानन्याधीश दीपकराज जोशीलाई पेसी तोक्न सघायो र सर्बोच्चको वेबसाइमा पराजुलीको फोटो हटायो, तब दिउँसो उनले राष्ट्रपपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा दिए ।

पराजुली बिदामा बस्न समेत नमानेकाले सर्बोच्चका न्यायाधीशै विवादित भएको परिदृष्यमा पदबाट हटाएपछि एकाएक उनले किन राजिनामा दिए जबकी त्यसको जरुरतै थिएन ।

कानुनविद्हरु भन्छन्- आफूमाथि लाग्न सक्ने सम्भावित मुद्दाबाट जोगिन। श्रोतका अनुसार केही पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्ता, पूर्वमहान्याधिवक्ता तथा केही पूर्वसांसदले पराजुलीलाई ‘के गर्दा सबभन्दा उपयुक्त हुन्छ’ भन्ने सल्लाह सुझाएपछि सोहीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसैअनुसार अघि बढ्न संकेत गर्दै अटेर गरे महाअभियोग लाग्न सक्ने जनाउ दिएका थिए ।

महाअभियोगबाट गुजि्रए संविधानको प्रावधानअनुसार सीधै भ्रष्टाचार मुद्दामा पनि तानिन सक्ने भएकाले त्यसबाट पनि जोगिन झिनो प्रयासमा उनले हठात् राजिनामा गरेका हुन् ।

कान्तिपुरले अधिवक्ता लेखनाथ भट्टराईलाई उद्धृत गर्दै लेखेको छ, ‘तर पनि कानुनतः उहाँलाई भ्रष्टाचार मुद्दा सीधै लाग्छ । यो अवस्थामा अब भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ अनुसार उहाँ सजायको भागिदार हुनुहुन्छ ।’

आफूले पाउनेभन्दा ७ महिना ९ दिन बढी पदमा बस्नु नै भ्रष्टाचार भएको पुष्टि हुने कान्तिपुरले लेखेको छ ।

देउवा छाया सरकारका प्रधानमन्त्री

राजधानी दैनिकले संसदीय दलको विधानमा नै छाया सरकारको प्रावधान राखेको कांग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छाया सरकार गठन गर्ने र त्यसको प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा हुने समाचार लेखेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसदलाई प्रभावकारी बनाउन छाया सरकार गठन गर्ने तयारी गरेको हो ।

कांग्रेस नेता बालकृष्ण खाँडले ९ चैतमा बस्ने केन्द्रीय समिति बैठकपछि छाया सरकार गठन गरिने बताएको राजधानीले लेखेको छ ।

खाँडले भनेका छन्, ‘९ चैतमा केन्द्रीय समिति बैठक बोलाइएको छ, छाया सरकारका लागि यो बैठकमा आवश्यक छलफल हुन्छ, संसदीय दलको नेताकै नेतृत्वमा छाया सरकार बन्छ ।’

कांग्रेसले बनाउने छाया सरकारमा क्याबिनेटमा रहने मन्त्रालय र मन्त्री बराबरकै मन्त्री रहनेसमेत खाँडले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष र महासचिवको सम्बन्ध चिसियो

नेपाल समाचारपत्र दैनिकले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको समाचार लेखेको छ ।

समाचारमा लेखिएको छ, ‘प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो । महासचिव पोखरेलको सट्टा डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि प्रधानमन्त्री ओली र महासचिव पोखरेलबीच  सम्बन्ध बिगि्रएको छ ।’

अर्थमन्त्री बन्ने आकाक्षांसहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोखरेल अन्तिम समयसम्म अर्थमन्त्री हुनेमा ढुक्क थिए ।

दोस्रोपटक मन्त्रिपरिषद विसतार हुने दिन बालुवाटारमा ओली र पोखरेलबीच मन्त्रालयको बीचमा छलफल भएको थियो ।

पोखरेलले अर्थमन्त्रीबाहेक अन्य मन्त्रालयमा नजाने अडानसहित बाहिरिने क्रममा ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रतिवद्धतासहित शपथको तयारी गर्न आग्रह गरेका थिए ।

समाचारपत्रले एमालेका ‘एक नेता’लाई उद्धृत गर्दै लेखेको छ, ‘ शपथका लागि तयारीका साथ महासचिव पोखरेल शीतल निवास पुग्नुभयो, कुन मन्त्रालय हो टुंगो लागेको थिएन । शीतल निवासभित्र प्रवेश गरेपछि रक्षा मन्त्रालयबाट स्वागतका लागि तयारी अवस्थामा रहेको कर्मचारीको फोन आयो, त्यसपछि महासचिव पोखरेल ओलीसँग निकै रुष्ट बन्नुभएको थियो ।’

रक्षा मन्त्रालयबाट खबर आएपछि मात्र मन्त्रालयको पत्तो पाएका पोखरेलले रक्षामन्त्रीको शपथ लिने कि नलिने दोधारमा परेका थिए । तर शीतल निवासमा सबै तयारी भएकाले सपथ लिने निर्णय लिएको समाचारमा उल्लेख छ ।

पूर्वराष्ट्रपतिलाई आजीवन सुरक्षा

अन्नपूर्ण पोष्ट दैनिकमा सुरक्षा ‘थ्रेट’का आधारमा पूर्व विशिष्ट पदाधिकारीको स्तर वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याइएको समाचार छ ।

नयाँ सुरक्षा व्यवस्थाअनुसार पूर्वराष्ट्रपतिले राज्यबाट आजीवन सुरक्षा पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले पारित गरेको सुरक्षा व्यवस्थालाई प्रहरीले कार्यान्वयनमा ल्याएको हो ।

गृहले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री पूर्व मन्त्रिपरिषद् अध्यक्ष, पूर्व प्रधानन्यायाधीश, पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष र पूर्वउपप्रधानमन्त्रीलाई विशिष्टस्तरमा वर्गीकरण गरी उनीहरूमाथि हुनसक्ने सुरक्षा थ्रेटलाई विश्लेषण गर्दै सोही बमोजिमको सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

पूर्वराष्ट्रपतिका लागि ११ जना नेपाली सेनाका र दुई जना नेपाल प्रहरीका सुरक्षाकर्मी खटिनेछन् । राष्ट्रपतिले उक्त सुविधा अवकाश भएको पाँच वर्षसम्म पाउनेछन् ।

पूर्वउपराष्ट्रपतिले अवकाशपछि पाँच वर्षसम्म नेपाली सेनाका पाँच र नेपाल प्रहरीका दुई गरी सात सुरक्षाकर्मी पाउनेछन् ।

अवकाश भएको पाँच वर्ष बितेपछि उपराष्ट्रपतिले सुरक्षा सुविधा पाउने छैनन् । पूर्वप्रधानमन्त्री वा मन्त्रिपरिषदका पूर्व अध्यक्षको हकमा अवकाश भएको पाँच वर्षसम्म सात सशस्त्र प्रहरी बल र दुई नेपाल प्रहरीका सुरक्षाकर्मी पाउने समाचारमा उल्लेख छ ।

परिवार नियोजन गर्दा आन्द्रा काटियो

अन्नपूर्ण पोष्ट दैनिकले सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको समाचार लेखेको छ ।

समाचार अनुसार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा सप्तरी विष्णुपुर गाउँपालिका-५ की २८ वर्षीया अनुकुमारी यादवको आन्द्रा काटिएको हो ।

उनको परिवार नियोजनको शल्यक्रिया फागुन ११ गते सगरमाथा अस्पतालमा डा. ब्रजेशकुमार झाले गरेका थिए ।

उनको तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

समाचारमा लेखिएको छ, ‘परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्किएपछि खाना खाँदा बान्ता आउने, पेट फुल्ने समस्या देखिएपछि फागुन १२ गते पुनः उनलाई सगरमाथा अस्पताल भर्ना गरियो । तर चिकित्सकले परिवार नियोजनपछि यस्तो समस्या आइरहने भन्दै थप उपचारका लागि प्रतिष्ठानमा ‘रेफर’ गरिदिए । उनलाई फागुन १४ गते धरानस्थित प्रतिष्ठानमा भर्ना गरियो । प्रतिष्ठानमा अनुको भिडियो एक्स-रे गर्दा आन्द्रा काटिएको पत्ता लागको हो ।’

प्रतिष्ठानका चिकित्सक प्रा.डा. चन्द्रशेखर अग्रवाल नेतृत्वको टोलीले फागुन २२ गते अनुकुमारीको पुनः शल्यक्रिया गरेका छन् । अनुको पेटको ‘ल्याप्रोटोमी’ गरी प्वाल परेको आन्द्रा बाहिर निकालेर ‘आइलियोस्टोमी’ गरेका कारण उनी हाल खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment