Comments Add Comment

फरक फरक रोलमा रमाउँदै अनुपविक्रम, भन्छन्– आफ्नै अभिनय जाँच्दैछु


अहिले चल्तिका हिरोहरुको पङ्तिमा पर्छन् अनुपविक्रम शाही । तर, पछिल्लो समय उनले आफूलाई ‘हिरो’ मा मात्र सिमित नराखी भर्सेटाइल एक्टरको रुपमा अघि बढाइरहेका छन् । हाल प्रदर्शनरत कमेडी फिल्म ‘हुर्रे’ मा अनुपलाई पशुपतिनाथको पुजारीको भूमिकामा देख्न सकिन्छ । यो रोलबाट आफूलाई सुखद प्रतिक्रिया मिलिरहेको अनुपले बताए ।

‘मलाई यो रोलको अफर आउँदा गर्ने कि नगर्ने भनेर दोधार भएको थियो,’ अनुपले भने, ‘तर, एउटा एक्टरले सबै खालको रोल निभाउन सक्नुपर्छ भनेर चुनौति स्वीकारेँ । र, अहिले ठिक गरेछु भन्ने लागेको छ ।’ फरक खालको रोल स्वीकार गर्नुको कारणबारे अनुप भन्छन्, ‘सँधै एकै प्रकारको रोल गर्दा मोनोटोनस हुन्छ । मलाई पनि र दर्शकलाई पनि । त्यसैले म सकभर हरेक फिल्ममा सम्भव भएसम्म फरक–फरक रोलमा प्रस्तुत हुन चाहन्छु ।’

उनले यसबाट आफ्नो अभिनय क्षमताको जाँच पनि गर्न खोजेको उनी बताउँछन् । त्यसो त आफ्नो करिअरको सुरुदेखि नै अनुपले हिरो र भिलेनमा समानान्तररुपले आफूलाई अघि बढाइरहेका छन् । डेब्यू फिल्म ‘सौर्य’ मा उनी हिरोको रुपमा देखिएका थिए । तर त्यसले उनी खासै चिनिन सकेनन् । त्यसपछि ठमेल डट कम पनि असफल भयो ।

बरु खलपात्रको रुपमा देखिन थालेपछि उनलाई धेरैले नोटिस गर्न थाले । चलचित्रमा हँसियामा उनको नेगेटिभ रोलले निकै चर्चा पाएको थियो । त्यसपछि उनले हाउ फन्नी किङ वीर विक्रम लगायतका चलचित्रमा देखिएका छन् । वीर विक्रम व्यवसायीक रुपमा पनि सफल भएको थियो ।

पछिल्लो पटक उनले कृमा नेगेटिभ रोल गर्दा निकै प्रशंसा पाए । ‘कृबाट मैले सोचेकोभन्दा सयौं गुणा राम्रो प्रतिक्रिया पाएँ । त्यसैले एकदम सन्तुष्ट छु । भविष्यमा फरक फरक रोल गर्नलाई मेरो आत्मविश्वास बढेको छ,’ अनुप भन्छन् । त्यसो त उनले कृमा आफ्नो रोल धेरै काटिभएको भन्दै गुनासो पनि गरेका छन् ।

पाइपलाइनमा रहेको फिल्म ‘कमलेको बिहे’ पनि आफूलाई फरक रुपमा देख्न सकिने अनुपले जानकारी दिए । अनुपका अनुसार उनले यो फिल्ममा बनारसबाट संस्कृत पढेर आएको पण्डितको भूमिका निभाएका छन् । यसैबीच, हालै उनी फिल्म‘जय शम्भु’मा नायकको भूमिकामा अनुवन्ध भएका छन् । यो फिल्ममा अर्का ह्यान्डसम भिलेन प्रशान्त ताम्राकार नेगेटिभ रोलमा छन् । उनको निर्माणाधिन अर्को फिल्म हो ‘जायरा’ । यसमा उनी हिरोकै रुपमा नम्रता श्रेष्ठको अपोजिटमा देखिँदैछन् ।
‘हिरो बन्न र भिलेन बन्न कुन सजिलो ?’ अनुपलाई सोधियो ।

‘सजिलो त बरु हिरो बन्नलाई नै हो, यसमा नेचुरल एक्टिङ गरे पुग्छ,’ उनले जवाफ दिए, ‘भिलेनको रोल गर्दा बढि नै हाउभाउ देखाउनुपर्छ ।’ आकर्षक लुक्स, अग्लो र सुगठित ज्यानका धनी अनुपको अभिनय भने सामान्य छ । अभिनयमा अझै निखार ल्याउँदै अघि बढे उनले नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रै स्थान बनाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment