Comments Add Comment

पुरुष हनी ट्रयापरः जसले तीन युवतीलाई जालमा पारे

३० फागुन, काठमाडौं । राम्रा युवतीलाई जालमा पार्दै अपहरण गरेर फिरौती लिनेदेखि हत्या गर्नेसम्मका आपराधिक घटना अब नौला रहेनन् । दाङका व्यवसायी राजकुमार श्रेष्ठको हत्या यसैको पछिल्लो कडी हो ।

अपराधको दुनियाँमा अहिलेसम्मको मान्यता के रहँदै आएको थियो भने युवतीहरुले ‘हनी ट्रयापर’ को भूमिका खेल्छन् र पुरुषहरुलाई जालमा पार्छन् । तर, शहर बजारमा अहिले पुरुषहरु समेत ‘हनी ट्रयापर’ बनेर सक्रिय रहेको भेटिएको छ ।

अपराधशास्त्रको अन्तरराष्ट्रिय प्रचलित मान्यता अनुसार ‘हनी ट्रयापिङ’ भनेको एउटा त्यस्तो हर्कत हो जहाँ रोमान्टिक एवं यौनजन्य सम्बन्धको सहारामा एउटाले अर्को पक्षलाई पारस्परिक, शारीरिक एवं आर्थिक क्षति पुर्‍याउँछ ।

नेपाल प्रहरीले केही पुरुष हनी ट्रयापरहरु पनि फेला पारेको छ । ती ‘हनी ट्रयापर’ पुरुषले धनाढ्य महिलालाई जालमा पार्ने, मनलाग्दासम्म ‘रोमान्स’ गर्ने र पैसा असुलेपछि भाग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

‘हनी ट्रयापर’ पुरुषले धनाढ्य महिलालाई जालमा पार्ने, मनलाग्दासम्म ‘रोमान्स’ गर्ने र पैसा असुलेपछि भाग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ

घटना नम्बर १

एक साताअघि ३० वर्षीया एक युवती बैंकिङ कसुर सम्बन्धी समस्या भएको भन्दै काठमाडौं प्रहरी परिसरमा पुगिन् । मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन थापालाई उनले आफूलाई एकजना युवकले १ लाख ९३ हजार रुपैयाँ ठगेको बताइन् ।

हटौंडा–४, मकवानपुरका ३१ वर्षीय रामबहादुर मोक्तानले लगेको रकम फिर्ता नगरेको उनको गुनासो थियो । उनले प्रहरीलाई भनिन्, ‘पटकपटक भनेपछि उसले चेक त दियो, तर खातामा पैसा थिएन ।’

तर, प्रहरीको काउन्सिलिङका क्रममा युवतीले आफू बलात्कृतसमेत भएको बताइन् । र, उनकै जाहेरीका आधारमा मोक्तान आइतबार पक्राउ परे ।

अनुसन्धानको क्रममा युवती ‘हनी ट्रयापिङ’ मा परेको खुल्यो ।

शारीरिकरुपमा अशक्त पीडित महिलाका श्रीमानको केही वर्षअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनका दुई सन्तान पनि छन् । नैकापमा बस्दै आएका उनीहरु एकअर्कासँग नजिकिएका थिए ।

युवकले आफूलाई फिल्म डाइरेक्टरका रुपमा चिनाएका थिए । उनले पीडित महिलालाई पनि फिल्ममा रोल दिने भन्दै झन् नजिक्याए । दक्षिण कोरिया पठाइदिने समेत बताएपछि महिला मोक्तानको जालमा फसिन् ।

अन्ततः उनीहरु दुई वर्षअघिदेखि ‘लिभिङ टुगेदर’ मा बस्न थाले । त्यही क्रममा युवकले आफूलाई दुईलाख रुपैयाँ अति आवश्यक भएको भन्दै महिलासँग पैसा मागे । महिलाले १ लाख ९३ हजार रुपैयाँ दिइन् ।

तर, एक दिन मोक्तान अर्कै युवतीसँग शंकास्पद अवस्थामा हिँडेको देखेपछि उनी झस्किइन् । यद्यपि, उनले कुनै प्रतिक्रिया जनाइनन् । बरु, आफ्नो पार्टनरको गतिविधिलाई थप निगरानी गर्न थालिन् । अन्ततः उनले अरु युवतीलाई पनि आफूलाई जस्तै प्रलोभनमा पारेर ठग्ने गरेको चाल पाइन् ।

उनले पैसा फिर्ता मागिन् । तर, पैसा दिनु त कहाँ हो कहाँ, छोराहरुलाई अर्को कोठामा थुनेर आफूलाई बलात्कार गरेको युवतीको दाबी छ । मोक्तानले भने सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी गरेका छन् ।

प्रहरीसमक्ष घटना पुगेपछि मोक्तानले रकम फिर्ता दिएका छन् । तर, उनको ठगी धन्दाबारे अनुसन्धान जारी छ ।

घटना नम्बर २

सामाजिक सञ्जालमार्फत २८ वर्षे युवकले हङकङमा रहेकी एक युवतीसँग चिनजान गरे । उनीहरुबीच बाक्लै कुराकानी हुन थाल्यो । विस्तारै उनीहरुबीचको सम्बन्ध प्रेममा परिणत भयो ।

उनीहरुबीच बिहे गर्नेसम्मका कुरा भए । यसैक्रममा युवती फेसबुके प्रेमीलाई भेट्न हङकङबाट काठमाडौं आइन् । अर्कोपटक आउँदा बिहे गर्ने सहमति भएपछि उनीहरुले सँगै रात बिताए ।

युवकले आफ्नो व्यापार गर्ने योजना रहेको युवतीलाई सुनाए । युवतीले हङकङ पुगेर रकम पठाइदिने वचन दिइन् ।

युवकले हुण्डीमार्फत रकम मागे । पटकपटक गरी हङकङबाट ५० लाख रुपैयाँ युवकको हातमा आयो ।

तर, जब युवती प्रेमलाई बिहेमा परिणत गर्ने योजनासहित काठमाडौंमा ओर्लिन्, प्रेमी एकाएक बेपत्ता भए । त्यसपछि युवती प्रहरीकहाँ पुगिन् ।

‘पैसा दिएको केही प्रमाण चाहिँ छैन । तर, म्यासेन्जरमा कुराकानी भएको देखिन्छ’, काठमाडौं परिसरका डीएसपी मोहन थापाले अनलाइनखबरसँग भने, ‘हामी अनुसन्धान गरिरहेका छौं ।’

श्रीमान विदेशमा भएका, एकल महिलाहरुलाई ‘इजी मनी’ को स्रोत बनाउन ‘हनी ट्रापिङ’मा पार्ने गरेको प्रहरीको बुझाइ छ

घटना नम्बर ३

दिनेश (परिवर्तित नाम) केही वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा यूएई पुगे । त्यहाँ आफ्नो व्यवसाय भएको उनको दाबी छ ।

मोरङ घर भई काठमाडौंमै बस्दै आएकी एक युवतीको फेसबुकमा दिनेशसँग चिनजान भयो । युवतीको पतिसँग डिभोर्स भएको थियो ।

यूएईमा व्यापार गर्ने युवकले रेसिडेन्स कार्डसहित जागिर लगाइदिन्छु भनेपछि उनले युएई जाने सपना बुन्न थालिन् । त्यही चक्करमा उनले ४६ लाख बुझाइन् र यूएईका लागि उडिन् ।

‘च्याटमा कुरा हुँदा म पनि सिङ्गल हुँ, बिहे गरेर राख्छु भनेको थियो’, पीडित युवतीले वयानका क्रममा प्रहरीलाई भनेकी छन् ।

दुबईमा केही समय उनीहरुसँगै बसे । युवकले उनीबाट पैसा पनि लिए । तर, जब उनले दिनेशले अरु युवतीलाई पनि यसरी नै फसाउने गरेको चाल पाइन्, छायाँबाट खसे झंै भइन् ।

पीडित युवती १३ फागुनमा नेपाल फर्किएकी छन् । र, दिनेशविरुद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी दिएकी छन् ।

यी त प्रतिनिधि घटना मात्र हुन्, प्रहरीका अनुसार पछिल्लो समय ‘हनी ट्रयापिङ’ को घटना बढ्दो छ । र, ‘हनी ट्रयापिङ’मा महिलालाई प्रयोग हुने मात्र होइन, पुरुषहरुले पनि महिलालाई फसाउने क्रम पनि बढ्दो छ ।

‘उनीहरुको निशानामा विशेष गरी एकल र डिभोर्स भएको महिला पर्ने गरेको देखिन्छ’, एक प्रहरी अधिकारीले भने, ‘श्रीमान् विदेशिएका महिलालाई पनि उनीहरुले शिकार बनाउने गरेका छन् ।’

श्रीमान विदेशमा भएका, एकल महिलाहरुलाई ‘इजी मनी’ को स्रोत बनाउन ‘हनी ट्रापिङ’मा पार्ने गरेको प्रहरीको बुझाइ छ । ‘बेरोजगारी पनि यस पछाडिको प्रमुख कारण हो’ एक प्रहरी भन्छन्, ‘फेरि नेपाली ठगिनमा माहिर छन् । थोरै प्रलोभनमा युवक हुन् या युवती जो पनि ठगिइहाल्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment