Comments Add Comment

फागुनका ८ फिल्म : दुई उत्रिए, बाँकी सोत्तर

नेपाली चलचित्रको बजार हेर्ने हो भने बर्षमा आधा दर्जन चलचित्रले कमाई गरे भने पनि ठूलो कुरा हो । तर अहिले हरेक हप्ता दुई-तीन वटा चलचित्र रिलिज भइरहेका छन् ।

धेरै चलचित्र त रिलिज भएको नै दर्शकले थाहा पाउँदैनन् । थाहा पाए पनि धेरै चलचित्र हेर्न हलसम्म पुग्दैनन् । गीतसंगीत, ब्यानर, ब्रान्ड, कलाकार भएका थोरै चलचित्रमा मात्र दर्शकको आकर्षण देखिन्छ । जसले गर्दा, नेपाली चलचित्रमाथिको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ भन्दा फरक पर्दैन ।

फागून महिनाको कुरा गर्दा नेपाली चलचित्रका लागि खासै सुखद रहन सकेन । यो एक महिनामा ८ वटा चलचित्र रिलिज भए । यीमध्ये केही निकै राम्रा पनि थिए । तर, व्यापारिक रुपमा अधिकांस चलचित्र बक्स अफिसमा पिटिए ।

करिब ५० लाख भन्दा माथिको बजेटमा नेपाली चलचित्र बन्ने भएकाले पनि औसत ५ करोड लगानी भएको छ । यसमा कति चलचित्रले लगानी उठाए, कति असफल भए, आउनुहोस् चर्चा गरौ ।

१. कान्छीः
श्वेता खड्काको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कान्छी’ फागून ४ गतेबाट रिलिज भयो । दयाहाङ राई र श्वेता लिड रोलमा भएकाले यसले गजबको व्यापार गर्ने अड्कल गरिएको थियो ।

चलचित्रले तेश्रो सातासम्म आइपुग्दा नेपालबाट लगानी उठायो । हुन त यो चलचित्र रिलिज अगावै श्वेता मुनाफामा थिइन् । उनले चलचित्रको डिजिटल र ओभरसिज राइट तथा चलचित्रले नेपालबाट भने लगानी सुरक्षित गरेको दाबी यसको निर्माणपक्षको छ । आकाश अधिकारीले चलचित्रको निर्देशन गरेका हुन् ।

२. पञ्चेबाजाः
घनश्याम लामिछानेको निर्देशनमा बनेको यो चलचित्रले गतिलो व्यापार गरेन । समिक्षकले निकै प्रशंसा गरेपनि यो चलचित्र बक्स अफिसमा असफल भयो । यसमा सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका थियोे ।

निर्माता राजेश शाहीले लाखौ रकम चलचित्रबाट गुमाए । अर्को, बर्ष आयोजना हुने अवार्डहरु चलचित्रले जितेको खण्डमा यसको निर्माणपक्ष त्यसमै रमाउनुपर्ने देखिन्छ ।

३. साढे सातः
बक्स अफिसमा निकै नराम्रोसँग पछारिएको चलचित्र हो, ‘साढे सात’ । सत्य-स्वरुपराज आचार्यले निर्माण गरेको यो चलचित्रलाई साढे सात नै लाग्यो । चलचित्रले पि्रमियरमै गतिलो प्रतिक्रिया पाएन । सत्यराज आचार्य, मेनुका प्रधान, सुपि्रया कटुवाल लगायतका कलाकारले अभिनय गरेको चलचित्रले शुक्रबार नै दर्शक नआएपछि धेरै हलहरु छाड्नु परेको थियो । यो चलचित्रमाथिको लगानी साँच्चिकै ‘बालुवामा पानी’ नै भयो ।

४. ब्लाइन्ड रक्सः
मिलन चाम्सको निर्देशनमा तयार भएको बायोपिक ‘ब्लाइन्ड रक्स’ ले पनि समिक्षकबाट उत्कृष्ट समिक्षा पायो । श्रृष्टी केसीको बायोपिकमा बेनिशा हमाल, अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारले अभिनय गरेका थिए । तर, बक्स अफिसमा चलचित्र नराम्रोसँग पिटियो । चलचित्रले नेपालमा निकै कमजोर व्यापार गर्‍यो । देश बाहिरबाट लगानी उठाउने भन्दै यसका निर्माता निकेश लिम्बु बेलायत फर्किएका छन् ।

५. नाकाः
विपिन कार्कीको मुख्य भूमिका रहेको यो चलचित्रले पनि बक्स अफिसमा पानी भन्न पाएन । समिक्षकले त चलचित्रलाई राम्रो भनेका थिए । तर, दर्शक हलसम्म चलचित्र हेर्न आएनन् । जसकाकारण, चलचित्रमाथि लगानी गर्ने निर्माता डुबे । चलचित्रमा अभिनय गरेको महंगो पारिश्रमिक लिन थालेका विपिनको अभिनयको भने निकै प्रशंसा भयो ।

६. हुर्रे :
निर्देशक याम थापाले दोश्रो चलचित्र पनि डुबाए । पहिलो चलचित्र ‘राज्जा रानी’ निर्देशन गरेका याम थापा दोश्रो चलचित्र ‘हुर्रे’ निर्देशनमा पनि असफल साबित भए । केकी अधिकारी, अनुपविक्रम शाही जस्ता कलाकारले अभिनय गरेको चलचित्र हेर्न दर्शकले खासै रुची देखाएनन् । जसकाकारण, देशभरबाट यो चलचित्रले १० लाख पनि शेयर नपाउने देखिएको छ । यसरी हेर्दा निर्माताको ठूलो रकम यो चलचित्रबाट गुमेको छ ।

७. गाँजाबाजाः
यो चलचित्रले पनि समिक्षकको राम्रै तारिफ पायो । जति दर्शकले हेरे, राम्रै भने । तर, जतिले हेर्नुपर्ने हो त्यति दर्शक हलमा गएनन् ।
गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रले पनि गतिलो शेयर पाउने छैन । तर, चलचित्रले अनुपम शर्मा, सुशिल सिटौला लगायतका कलाकारको करिअर भने अगाडि बढाउन मद्दत गरेको छ ।

८. मंगलमः
‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘मंगलम’ले औसत व्यापार गरेको छ । नवल नेपाल निर्देशित चलचित्रले तारिफ भने खुबै पायो । शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाई, मिथिला शर्मा लगायतका कलाकारले अभिनय गरेको चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् ।

त्यसो त चलचित्रले लगानी उठाउनका लागि अझै केहि दिन राम्रैसँग चल्नुपर्नेछ । देशभर चलचित्र रिलिज अगावै निर्माता ओझाले ‘एमजी’ पाएका कारण पनि उनी घाटामा छैनन् । तर, काठमाडौं बाहिरको वितरण कम्पनी एफडीलाई भने घाटा लागेको छ ।

यसरी, हेर्दा फागून महिनामा रिलिज भएका चलचित्रमध्ये ‘कान्छी र मंगलम’ ठिकठाक चलेका छन् भने अन्य ६ चलचित्र नराम्रोसँग पिटिएका छन् । जसले, ५ करोड माथिको लगानी अर्थहिन बनेको छ । एकै महिनामा दर्शक ८ वटा चलचित्रको बोझ बोक्न सक्दैनन् भन्ने निर्माताले बुझ्न निर्माताले आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment