Comments Add Comment

प्रहरीको कुकुरले भेट्टायो पर्सा राष्ट्रिय निकुञ्जमा गाडिएको किशोरीको शव

बुबासहित ५ जना समातिए


२ फागुन, वीरगञ्ज । मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको तालिम प्राप्त कुकुरले पर्सा राष्ट्रिय निकुञ्जको मध्य जंगलभित्र गाडिएको १५ वर्षीय किशोरीको शव भेट्टाएको छ ।

जिराभावनी गाउँपालिका–१, गम्हरियाका ४५ वर्षीय बुधन धाँगडकी छोरी १५ वर्षीय भुट्टी भनिने निदुवा धाँगडको शव कुकुरले भेट्टाएको हो ।

उनी एक साताअघि दाउरा लिन भन्दै पर्सा राष्ट्रिय निकुञ्जभित्र छिरेकी थिइन् ।

बिहीबार जंगलमा किशोरीको शव गाडिएको सूचना पाएलगत्तै जिल्लाको अपराध अनुसन्धान र ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेत नेतृत्वको टोलीले घटनास्थल पुगेको थियो । यद्यपि, साँझ परिसकेकाले टोलीले उत्खनन् गर्न सकेन ।

भोलिपल्ट कुकरले शव भेट्टायो । र, उत्खनन् गर्ने वित्तिकै पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जमा लगिएको छ ।

यस्तो थियो घटना

स्थानीय गाउँलेका अनुसार किशोरी गत २२ फागुनमा दाउरा खोज्न साथीहरुसँग जंगलमा गएकी थिइन् । तर, साथीहरु मात्रै फर्किए ।

उनी नआएपछि स्थानीयले अनेक आशंका गरे । त्यसक्रममा एक जनालाई आशंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । नभन्दै जंगलभित्र शव भेटिएको थियो ।

शव भेटिएको स्थलको दुई किलोमिटरको क्षेत्रमा डोरी झुण्ड्याइएको समेत भेटिएको छ । परिवारका सदस्यले भने किशोरीले जंगलभित्रै आत्महत्या गरेकाले गाडेर फर्किएको दाबी गरेका छन् ।

प्रहरीले घटना रहस्यमय भएको भन्दै अनुसन्धान सुरू गरेको छ । ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार किशोरीका बुबा बुधनसहित शव गाड्न सहयोग गर्ने मुनीलाल धाँगड र सँगै दाउरा लिन जाने ३ जना महिला पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीको हत्या गरेर जंगलामा गाडिएको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ ।

आर्मीको नियन्त्रणमा रहेको जंगलको मध्य क्षेत्रमा किशोरी कसरी पुगिन् भन्ने विषयमा रहस्यकै गर्वमा छ । किनकी, राष्ट्रिय निकुञ्जको कोर एरियामा स्थानीयलाई प्रवेश निषेध हुन्छ ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै विस्तारै थप कुरा खुल्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment