Comments Add Comment

सञ्चार राज्यमन्त्री बास्कोटाः पत्रकार नै बने पत्रकारका मन्त्री

ओलीपछि दोस्रो लोकप्रिय मत ल्याउने को हुन् गोकुल ?

२ चैत, बनेपा । पत्रकारिता क्षेत्रमा कपाल फुलाएका गोकुल बास्कोटाले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउँदा पत्रकारहरुले आफ्नो प्रतिनधित्वको महसुस गरेका छन् । करीव दुई दशक सक्रिय पत्रकारिता गरेका बास्कोटा एमाले काभ्रेको प्रमुख भएपछि पत्रकारिताबाट अलग भएर पूर्णकालीन राजनीतिमा होमिएका हुन् ।

पत्रकारिता क्षेत्र बुझेका व्यक्तिलाई नै प्रधानमन्त्री ओलीले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये केपी ओलीपछि दोस्रो लोकपि्रय मत पाएर जितेका बास्कोटाले संसदीय यात्राको पहिलो इनिङमै सरकारमा सहभागी हुने अवसर पाए ।

सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटा क्याबिनेट बैठकमा सहभागी हुने हैसियतसहित सरकारमा गएका हुन् । उनीभन्दा माथि मन्त्री नियुक्त हुने छैनन् । पार्टीको पोर्टफोलियोमा बास्कोटा केन्द्रीय सदस्य नभएका कारणमात्र उनलाई मन्त्रालयको कमाण्ड सम्हाल्ने गरि राज्यमन्त्री बनाइएको हो । सम्भवतः सरकारको प्रवक्ता पनि उनै हुनेछन् ।

काभ्रे २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका बास्कोटा पत्रकारिता क्षेत्रमा रहँदा दृष्टि साप्ताहिकका सम्पादकसमेत भए । उनी नेपाल पत्रकार महासंघमा पनि विभिन्न तहको नेतृत्व गरिसकेका पत्रकार हुन् । बास्कोटाले पत्रकारिता क्षेत्रबारे आफू जानकार रहेकाले यो क्षेत्रका समस्या समाधानका लागि काम गर्ने बताए ।

को हुन् बास्कोटा ?

गोकुल बास्कोटाले ०३८ देखि नै अनेरास्ववियु पाचौँमा आवद्ध भई पञ्चायतविरोधी आन्दोलनमा विद्यार्थीको मोर्चाको नेतृत्व गरेका थिए । संगठन निर्माण र पार्टी सञ्चालनमा प्रखर एवं स्पष्ट मानिने बास्कोटा अनेरास्ववियु काभ्रेको ०४८ मा जिल्ला अध्यक्ष बनेका थिए ।

नेकपा एमाले काभ्रेको ०६३ देखि ०७१ सम्म पार्टी प्रमुख (सचिव र पछि अध्यक्ष) जिम्मेवारी सम्हालेका बास्कोटा हाल पार्टीको प्रदेश कमिटी सदस्य तथा केन्द्रीय स्कुल विभाग सदस्य छन् । उनी प्रेस चौतारी नेपालका संस्थापकसमेत हुन् ।

दृष्टि साप्ताहिक, चेष्टा साप्ताहिक, छलफल साप्ताहिक, रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचार हुँदै आफैंले चलाएको सम्बोधन साप्ताहिकमा बास्कोटा सम्पादक थिए । समाचार प्रमुख लगायतको जिम्मेवारी समेत लिएका बास्कोटाले वामपन्थी प्रगतिशील पत्रकारहरुको एकतामा भूमिका खेल्दै आएका थिए ।

वामपन्थी आन्दोलनका क्रममा बास्कोटाले पुलिस प्रशासनलाई समेत झुक्याएर तत्कालीन शाहजादी हेलेन शाहकै गाडीमा ०४६ सालको आन्दोलनका प्रचार सामाग्री ओसारेको घटना बेलाबेलामा अहिले पनि चर्चामा आउँछ ।

बास्कोटा ०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका कञ्चनचन्द्र वादेसँग झिनो मतले पराजित भएका थिए । यसपटक निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचन बास्कोटाले ५५ हजार ५२६ मतका साथ ओलीपछिको दोस्रो लोकप्रीय मत पाएका थिए ।

बास्कोटाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधु आचार्यले ३६ हजार ७५३ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment