Comments Add Comment

ओली तीन साताभित्रै आलोचित, देउवाको सामन्तवादविरुद्ध सिटौला लड्ने

एनसीसी घोटालाः निक्षेपकर्तालाई असर पर्दैन

३ चैत, काठमाडौं । शनिबार प्रकाशित पत्रिकाहरुमा तेस्रोपटक मन्त्रिपरिषद बिस्तार भएको र एनसीसी बैंक घोटाला प्रकरणमा १३ जना पक्राउ परेको समाचारले मुख्य प्राथमिकता पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमाले र माओवादीका मन्त्री तथा राज्यमन्त्रीहरु थप्दै मन्त्रिपरिषद विस्तार गरेका थिए । यस्तै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको करिब डेढ अर्ब घोटाला गरेको आरोपमा बैंकका १३ जनालाई सीआईबीले शुक्रबार पक्राउ गरेको थियो । यसलाई वित्तिय संस्थामा भएको अहिलेसम्मकै ठूलो अपचलन मानिएको छ ।

यी समाचारहरुसँगै एनसीसी बैंक घोटाला प्रकरणमा निक्षेपकर्तालाई कुनै असर नपर्ने र मन्त्रालय फुटाएर मन्त्रिपरिषद बिस्तार गर्दा पनि अझै पूर्ण नभएको समाचारहरु पनि प्रकाशित छन् ।

ओली तीन साताभित्रै आलोचित

अन्नपूर्ण पोष्ट दैनिकले मन्त्रालय फुटाउँदा राज्यकोषमा करोडौंको भार थपिएको  र प्रधानमन्त्री केपी शर्मा ओली तीन साताभित्रै आलोचित बनेको समाचार छापेको छ ।

समाचारमा लेखिएको छ, ‘तीन साताअघि मन्त्रालय संख्या ३० बाट १७ मा झारेर प्रशंसा कमाएका प्रधानमन्त्री केपी ओली तीन साताभित्रै संख्या बढाएर आलोचित बनेका छन् । एउटा मन्त्रालय थप गर्दा वार्षिक एक करोडभन्दा बढी आर्थिक व्ययभार थपिने गर्छ । पदीय भागबन्डा पुर्‍याउनकै लागि तीनवटा मन्त्रालय थप्ने निर्णय गरेसँगै राज्यले वार्षिक तीन करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको प्रशासकहरूले बताएका छन् ।’

सरकारले संघीय फोरमलाई सरकारमा ल्याउनुपर्ने बाध्यताका कारण मन्त्रालय फुटाएको बताएको छ । सरकारले साविकको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएर शिक्षा, विज्ञान तथा प्रविधि छुट्टै र युवा तथा खेलकुद छुट्टै बनाएको छ।

यसैगरी, साविकको श्रम तथा रोजगार, महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई फुटाएर श्रम तथा रोजगार छुट्टै तथा महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय छुट्टै बनाइएको छ भने साविकको खानेपानी तथा सहरी विकास मन्त्रालय फुटाएर खानेपानी छुट्टै र सहरी विकास छुट्टै मन्त्रालय बनाइएको छ।

एनसीसी घोटालाः निक्षेपकर्तालाई कुनै असर पर्दैन

नयाँ पत्रिका दैनिकमा एनसीसी घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठको भनाइ प्रकाशित छ । उनले सबै नोक्सानी व्यवस्थापन भइसकेकाले एनसीसी बैंकका निक्षेपलाई कुनै असर नपर्ने बताएका छन् ।

श्रेष्ठले नयाँ पत्रिकासँग भनेका छन्, ‘तत्कालीन एपेक्स बैंकका सञ्चालक तथा कर्मचारीले गरेको कर्जाको दुरुपयोगबाट एनसीसी बैंकका निक्षेपकर्तालाई असर पर्दैन । दुरुपयोग भएको सबै ऋणको नोक्सानी व्यवस्थापन भइसकेको छ । राष्ट्र बैंकको अनुसन्धानबाट करिब २ अर्ब रुपैयाँबराबरको ऋणमा कैफियत भेटिएको थियो । राष्ट्र बैंकले एनसीसीलाई त्यसको नोक्सानी व्यवस्थापन गर्न लगाएका हौं ।’

यसैगरी एनसीसी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता बन्दना पाठकले पनि एनसीसीलाई कुनै असर नपर्ने बताएकी छन् ।

उनले भनेकी छन्, ‘एपेक्सले एनसीसीसँग मर्जरमा जानुअघि प्रवाह गरेको प्रवाह गरेको कर्जामा हामीले कैफियत भेट्यौं । त्यसपछि हाम्रो आग्रहपछि नै राष्ट्र बैंकले अध्ययन सुरु गर्‍यो र त्यसमा कैफियत भेटाएर प्रहरीमा जाहेरी दिएको हो । यसबाट एनसीसीलाई कुनै नोक्सानी हुँदैन । हामीले राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पूरा गरिसकेका छौं । वित्तिय विवरण सबै ठीक अवस्थामा छन् । अब कैफियत भेटिएको खराब कर्जा असुलउपर हुने सम्भावना बढेको छ ।’

भारतीय परिवारसँग नेपाली नागरिकता

एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको समाचारलाई अन्नपूर्ण पोष्ट दैनिकले पहिलो पृष्ठमै प्राथमिकताका साथ स्थान दिएको छ ।

भारतको अररिया जोगबनी नगरपञ्चायत-१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा सन्तोषकुमार साह, नरेशकुमार साह, धीरेन्द्रकुमार साह र बुहारी (नरेशकी पत्नी) रिंकीदेवी साहले नेपाली नागरिकता लिएको समाचारमा उल्लेख छ ।

विराटनगर-१६, दरैयामा बस्दै आएका पार्वतीका छोरा सन्तोषलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेपछि नागरिकताको रहस्य खुलेको हो । उनको साथबाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र र नेपाली नागरिकता तथा मतदाता परिचयपत्र बरामद भएको इप्रका रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए । प्रहरीले नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान गर्न सन्तोषको म्याद थप गरेको छ । निरौलाले भने, ‘परिवारका अन्य सदस्य भने अझै पक्राउ परेका छैनन् ।’

नागरिकता बनेसँगै यो परिवारका सदस्यले नेपालमै जग्गा किनेर व्यापार गरिरहेको प्रहरीले फेला पारेको छ । छोराहरूका नाममा जारी भएको नेपाली नागरिकतामा बुबा भनेर गजेन्द्रको नाम उल्लेख भएका कारण उनले पनि नेपाली नागरिकता लिएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीले गजेन्द्रको मृत्यु भइसकेका कारण थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताएको छ ।

देउवाको सामन्तवादविरुद्ध लड्ने सिटौलाको उदघोष

नयाँ पत्रिकामा कृष्णप्रसाद सिटौला पक्षको गुटगत भेलाको समाचार छ । ‘सिटौला समूहको निष्कर्षः दुई वर्ष हेर्‍यौं, अब क्रिटिकल हुन्छौं’ शीर्षकको समाचारमा पार्टी सभापति शेरबहादुर देउवामा सामन्तवाद हावी भएकाले त्यसविरुद्ध लड्ने उदघोष गरेको उल्लेख छ ।

चुनावी समीक्षाको नजिकिँदो केन्द्रीय समितिको बैठकलाई लक्षित गर्दै आफ्नो समूहनिकट पेसागत संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा सिटौलाले यस्तो बताएका हुन् ।

नेता सिटौलाले संसदीय दलको निर्वाचनमा महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवालाई भोट हालेको भन्दै पौडेलको गुट सकिएको पनि बताएका छन् । नेता सिटौलाले महाधिवेशनदेखि अहिलेसम्म सभापतिलाई साथ दिँदै आए पनि अब क्रिटिकल हुने प्रस्ट्याएका छन् ।

कांग्रेसमा ‘गुट रोग’, प्रतिपक्ष कमजोर बन्ने चिन्ता

राजधानी दैनिकले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि राज्यका सबै सत्तासीन प्रमुख पदमा पछि परेको कांग्रेस गुट उपगुटका कारण झनै कमजोर बन्दै गएको समाचार छापेको छ ।

समाचारमा लेखिएको छ- संविधानसभाको दोस्रो निर्वाचनबाट संसदको पहिलो दल बनेको कांग्रेस पछिल्लो निर्वाचनपछि गुट उपगुटमा छिन्नभिन्न हुँदा राज्यका महत्वपूर्ण पदहरुसमेत गुमाउन पुगेको छ ।

आन्तरिक रुपमा बलियो हुनुपर्ने अवस्थामा समेत कांग्रेस एक हुन नसक्दा संसदमा कांग्रेसले देखाउने प्रतिपक्षीको भूमिकासमेत कमजोर हुने हो कि भन्ने आशंका बढ्न थालेको छ ।

लिफ्ट मागेर माइक्रोबस चढेकी युवती बलात्कृत

काठमाडौं जान माइक्रोबसमा लिफ्ट मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेको समाचार कान्तिपुर दैनिकले लेखेको छ । यो समाचार सप्तरीको हो ।

समाचार अनुसार सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन् । ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

१७ वर्षीया युवतीले सप्तरी सदरमुकाम राजविराजमा लिफ्ट मागेकी थिइन् । बस स्टाफले माइक्रोमा हालेर नेपाल-भारत सीमा क्षेत्रनजिक छिन्नमस्ताको सखडा पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सिरहाको भगवानपुर ९ का चालक वैद्यनाथ दास र बाँकेको राप्तीसोनारी ५ का खेमराज बैसे पक्राउ परेका छन् ।

मध्यराति १२ बजेको समयमा सीमा क्षेत्रबाट नियमित गस्ती गरेर फर्किरहेको टोलीले शंका लागेर माइक्रो जाँच गर्दा युवतीलाई बलात्कार गरिरहेकै अवस्थामा ती दुईलाई समातेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment