Comments Add Comment

पढ्नैपर्ने चर्चित ११ नियात्रा सङ्ग्रह


३ चैत, काठमाडौं । यसअघि अनलाइनखबरले पढ्नैपर्ने १११ पुस्तकको नामावली प्रकाशित गरेको थियो । नेपालका नाम चलेका समालोचक, कवि एवं साहित्यिक पत्रकार गरी २० जनाबाट विधागत एवं उमेर समूहका उत्कृष्ट १०-१० पुस्तक संकलन गर्दा ती नाम प्राप्त भएका थिए ।

तीमध्ये नेपाली साहित्यमा क्लासिक मानिएका केही पुस्तकहरु सबैजसो पुस्तकहरु उल्लेख थिए । विशेष गरी घामका पाइला, शिरिसको फूल, चपाइएका अनुहारहरु, कनार्ली ब्लुज, सेतो धर्तीलाई २० जना लेखकले पढ्नै पर्ने पुस्तकको लिस्टमा राखेका थिए । अलिखित, घुम्ने मेचमाथि अन्धो मान्छे, आमाको सपना, सुम्निमा, अब यस्तो कहिल्यै नहोस् जस्ता पुस्तकको नाम पनि धेरै लेखकको लिस्टमा परेको थियो । यसरी प्राप्त नाममध्ये १११ उत्कृष्ट पुस्तकलाई हामीले सार्वजनिक गरेका थियौं ।

(हेर्नुहोस्- पढ्नैपर्ने १११ नेपाली पुस्तक, कुनै छुटे कि ?)

उक्त सूचिमा धेरै पाठकहरुले स्वागत गर्नु भए पनि केही पुस्तक छुटेको धेरैजसो पाठकको जिकिर थियो । राम्रा भनिएका तर लिस्टमा छुटेका थप उत्कृष्ट ११ वटा नियात्राको नाम हामीले यहाँ उल्लेख गरेका छौं ।

नियात्रामा यी पुस्तक मात्रै उत्कृष्ट हुन् भन्ने हाम्रो दावी होइन । तर, नियात्रा पढ्न रुचाउने पाठकका लागि यसले गाइडको काम गर्छ भन्ने हाम्रो विश्वास छः

१) बेलायततिर बरालिँदा – तारानाथ शर्मा

नेपाली नियात्रामा बेलायत सबैभन्दा पुरानो विषय हो । ‘जंगबहादुरको बेलायत यात्रा’बाट सुरु भएको यो विषय डा. तारानाथ शर्माका कारण परिपक्व भएको छ । इलामको दुर्गम गाउँ बरबोटेमा जन्मे-हुर्केका तारानाथ त्यहाँबाट काठमाडौं आइपुग्नु नै त्यो बेला ठूलो कुरा थियो ।

यस्तो अवस्थामा बेलायतको खुला परिवेशमा पुग्दा लेखकले के कस्ता कुरा अनुभव गर्छन्, यो पुस्तकमा राम्रोसँग प्रतिनिधित्व भएको छ । यो कृतिले ०२६ सालमा मदन पुरस्कार पाएको थियो ।

२) रोमको एउटा फूल र प्यारिसको एउटा काँडा- लैनसिंङ बाङ्देल

कलाका विषयमा उच्च अध्ययन गर्न युरोप पुगेका बेला लैनसिंह बाङदेल डायरीमा आफूले देखेका कुराहरु टिपोट गर्थे । यहि टिपोटको आाधारमा यो पुस्तक लेखिएको हो । औपन्यासिक शैलीको यो पुस्तकले युरोपीय संस्कृतिको महिमागान गाएको छ । लेखक यहाँका सडक र सुन्दरप्रति अत्यधिक मोह राख्छन् । पुस्तकको सफलता भनेको एउटा कलाकारको आँखाले त्यहाँको सौन्दर्य हेर्नु र लेखनीमा बौद्धिकता झल्कनु हो । यो पुस्तक ढिलो गरी ०५७ सालमा मात्र प्रकाशित भएको थियो ।

३) युरोपको चिठ्ठी – लैनसिंह बाङ्देल

नेपाली साहित्यमा लैनसिंह वाग्देलले तीनवटा नियात्रा लेखेका छन् । ती सबै आफ्नो समयमा चर्चित कृति हुन् । युरोपको चिठ्ठी नामक कृति ७ वटा पत्रहरुको संगालो हो, जहाँ उनले युरोपमा रहेका आफ्ना ७ प्रियजनलाई उनीहरुसँग विताएका र घुमेका कुराहरु वर्णन गर्दै पत्र लेखेका छन् । फ्रान्सका केही र जर्मनीका अधिकांश सहरको प्रसङ्ग यी पुस्तकमा पाइन्छ । यहि कारण यी दुई देशका रहन, सहन, संस्कृति र विकासका लागि यो पठनीय कृति हो ।

४) सम्झनाका पाइलाहरु – मञ्जुल

मञ्जुलको खास नाम मेघराज शर्मा हो । पञ्चायत कालमा भूमिगत राजनीति गर्दा साहित्यिक गतिविधि गर्दा उनी मञ्जुल भए र यसैबाट लोकपि्रय पनि भए । उनी गीतकार, कवि र उपन्यासकार भए पनि गाउँ गाउँ गएर चेतना भर्ने आन्दोलनका कारण उनी चर्चित भए । यसलाई राल्फा आन्दोलन भनिन्छ । राल्फा आन्दोलन ताका गाउँ गाउँ पुग्दाको अनुभव नै ‘सम्झनाका पाइलाहरु’ को मुख्य स्रोत हो । गाउँ घरका समस्या, थिचोमिसो र राल्फा आन्दोलनको उद्देश्य यो पुस्तकमा उल्लेख गरिएका कारण यो पठनीय बनेको छ ।

५) शोकमग्न यात्री – नारायण ढकाल

भाषा र प्रस्तुतिका कारण धेरैको रोजाइमा परेको शोकमग्न यात्री नियात्रा कम, निबन्ध बढी कृति हो । यद्यपि दार्जीलिङ, काठमाडौंको विभिन्न क्षेत्र र कतिपय विदेशका भ्रमणका कारण यो कृति नियात्रातर्फ ढल्केको छ । नियात्रा निबन्धकै उपविधा भएका कारण यसलाई कतिपयले नियात्रा र कतिपयले निबन्धको पुस्तक मानेका छन् । जे होस्, खारिएको विचार, लालित्यपूर्ण शब्दहरु र विभिन्न स्थानको सजिव वर्णनका कारण शोकमग्न यात्री उत्कृष्ट पुस्तक बनेको छ ।

६) पताल प्रवास- तारानाथ शर्मा 

डा.तारानाथ शर्माको पुस्तक  पाताल प्रवास अमेरिका बसाइको कमाइ हो । यद्यपि बेलायततिर बरालिदाले जति चर्चा पाएको थियो, यो पुस्तकले उस्तो चर्चा पाएन । झण्डै-झण्डै अमेरिका नै भासिएको तर नेपालको मायाले नेपाल फर्किएको एउटा प्राध्यापकको मनोदसा यो पुस्तकले राम्रोसँग उतारेको छ । पुस्तकमा अमेरिकी विकासको मोडलको सराहना गरिएको छ ।

७) मान्ठा डराएको जुग -मोहन मैनाली

यो पुस्तक माओवादी द्वन्द्वका बेला कुनै पनि पक्षसँग पहुँच नभएका आम मानिसले पाएको दुःख देखाउने दस्तावेज हो । पूर्वको पाँचधरदेखि पश्चिमको डँडेल्धुरासम्मको यात्रा गरेर लेखिएको यो पुस्तकले नेपालको गरिवी बढाउन जनयुद्धले खेलेको भूमिकालाई गहिरोसँग संकेत गरेको छ ।
पुस्तकले ढलेका स्मारक, विद्यालय र सांस्कृतिप्रति गहिरो दुःख प्रकट गरेको छ । यद्यपि यो पुस्तक माआवादीको ‘जनयुद्ध’को विरोधमा होइन । यसले जनयद्ध हुनुपर्ने कारण र त्यसले निम्त्याएको दुःखको वर्णन गरेको छ ।

८) सरसर्ती संसार – जीवा लामिछाने

रुसमा इन्जिनियरिङ पढ्न गएको एउटा साहित्य प्रेमी केटो कसरी संसार घुम्छ र उसले त्यहाँ के के देख्छ भन्ने कुरा यो पुस्तकमा बर्णन गरिएको छ । रुसमै पढ्न गएका कारण यो पुस्तकमा रुसका केही प्रसङ्ग र स्थानको चर्चा छ । तर, यो पुस्तकले रुसको भन्दा अन्य विदेशी स्थानको वर्णन गर्छ ।

यस पुस्तकमा ५ महादेशका २५ देशका अनौठा प्रसङ्गहरु अटाएका छन् । भारतदेखि बर्मासम्म र अमेरिकादेखि युरोपका विभिन्न देशसम्म नेपालीहरुले गरेको पौरख र सम्बन्धित देशका जनजीव्ान यो पुस्तकमा अटेका छन् । गैरआवासीय नेपालीहरुको संघठनका अध्यक्ष पनि भैसकेका जीवा लामिछानेले लेखेको यो पुस्तकमा संघठनका क्रममा पुगेका देशहरुको पनि वर्णन गरेका छन् ।

९) तीन बास- धच गोतामे

संस्मरण विधामा निकै ख्याती कमाएका सरकारी कर्मचारी धच गोतामेका नियात्रा पनि लोकपि्रय छन् । तीन बासमा गोतामे देश विदेशका विभिन्न स्थानमा पुगेका बेला देखेका अनौठा घटनाहरुलाई मिठो भाषामा प्रस्तुत गरेका छन् ।

राजा र प्रधानमन्त्रीको भ्रमणमा व्यवस्थापक भएर देखिने धच गोतामेको वर्णन शैली निकै रोचक छ । तीन बास ती यात्राहरुको संगालो हो । यो पुस्तकले नेपालको उत्कृष्ट लेखन शैली पस्किएको महसुस गर्न सकिन्छ ।

१०) घामको चुम्बन-युवराज नयाँघरे

‘एक हातको ताली’बाट मदन पुरस्कार पाएका युवराज नयाँघरेको घामको चुम्बन चर्चित नियात्रा संग्रह हो । यसमा २३ वटा निबन्ध संग्रह छन् । सगरमाथा उक्लेको वर्ष, जोगमाईका छालैछाल, नौडाँडाको तिर्खा र सारङ्कोटको पानी, हिउँसित कुस्ताकुस्ती, नागार्जुनमा लुकामारी, छिम्काको छेऊकुना, हिलेखर्चमा हाइसन्चो र घामका पाइलाहरु यसका केही शिर्षक हुन् ।

अनुप्रास मिलेका शब्द र वाक्यका कारण यो पुस्तक पठनीय छ । चित्र कोरेजस्ता सर्लक्क परिवेश उतार्न सकेकै कारण यो पुस्तक चर्चित बनेको हो ।

११) अनाम पहाडमा फनफनी-युवराज नयाँघरे

विभिन्न १७ वटा यात्रा वर्णनको अनौठो काव्य सङ्ग्रह हो- अनाम पहाडमा फनफनी कृति । अनुकरणात्मक शब्द र झर्रा शब्दहरुका कारण यो पुस्तक पनि पठनीय बनेको छ । जहाँ पुग्दा पनि त्यसलाई लेखनको विषय बनाउन सक्ने क्षमता युवराजमा देखिन्छ भन्ने यो कृतिले छर्लङ्ग पारेको छ । नियात्रा पढ्न रुचाउनेहरुका लागि यो पनि पढ्नैपर्ने पुस्तक हो ।

अरु पनि यस्तै छुटाउन नहुने नियात्रा संग्रह छन् कि ? कमेन्ट बक्समा पाठकहरुको सुझावको अपेक्षा गरिन्छ । ताकि, साहित्यका पारखीहरुलाई सामाग्री छनोटमा सजिलो होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment