Comments Add Comment

लगातार मोबाइल खेलाउँदा मस्तिष्कघात ! बचाउन गरियो अप्रेसन 


४ चैत, काठमाडौं । हामी अक्सर मोबाइल फोन खेलाइरहन्छौं । लामो यात्रामा निस्किँदा होस् या कसैलाई कुरेर बसिरहँदा, मोबाइलको स्क्रिनमा आँखा र औंला डुलिरहेका हुन्छन् ।

तर यसरी मोबाइलमा लामो समय बिताउनु स्वास्थ्यकै लागि घातक हुने रहेछ । चीनमा लामो समय मोबाइल चलाएकै कारण एक महिलालाई मस्तिष्क घात भएको छ र उनलाई बचाउन अकस्मात शल्यक्रिया नै गर्नुपरेकाे छ ।

४७ वर्षीया ती महिला रेलमा यात्रा गरिरहेकी थिइन् । यात्राको क्रममा उनी २० घण्टासम्म मोबाइल फोनमा भुलिरहिन् । हेनान प्रान्तको ग्वानझाओबाट यात्राको क्रममा मोबाइल चलाइरहेकी उनी रेलभित्रै एक्कासि बेहोस् भइन् । उनलाई तत्कालै जिनान विश्वविद्यालयको अस्पतालमा भर्ना गरियो ।

उनको मस्तिष्कमा दुई सेन्टिमिटरसम्म रगतका ढिक्का जमेको पाइएको र तत्कालै अपरेशन गरेर हटाइएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै स्थानीय मिडियाले लेखेका छन् ।

अस्पतालको न्यूरोलोजी विभागका उपप्रमुखले भनेका छन्, ‘यी महिला निहुरिएर मोबाइल फोन हेरिरहँदा गर्धनका रक्त नलीमा दबाव पर्यो र स्ट्रोक भयो ।’

ती महिलाले मिडियासँग कुरा गर्दै भनेकी छन्, ‘मेरो कामले स्ट्रोक भएको थाहा पाएर अचम्मित परें । म सधैं आफूलाई स्वस्थ र कुनै पनि स्वास्थ्य समस्या नभएको ठान्थें ।’

चिकित्सकहरुका अनुसार यस्ता समस्याबाट पीडित धेरै युवाहरुको संख्या बढ्दै गएको छ । त्यसैले चिकित्सकहरुले सुझाव दिएका छन्– धेरै समयसम्म मोबाइल खेलाइरहनु हुँदैन । मोबाइल फोन चलाउँदा एउटै पोजिसनमा रहनु हुँदैन । बेला–बेलामा विश्राम लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment