Comments Add Comment

श्रीमतीको डान्स हेरेर दंग ऋषि धमला, छोटो लुगाबारे के भन्छन् ?


प्रायः नेताहरुका अघिपछि दौडिरहने पत्रकार ऋषि धमलालाई फिल्मप्रति खासै लगाव थिएन । तर, श्रीमतीले नै रहर गरेपछि के लाग्यो ? श्रीमती एलिजा गौतमको रहर पुरा गर्न ऋषिले ‘अनुराग’ फिल्म निर्माण गर्दैछन् । डेढ करोडमा बन्न लागेको फिल्ममा ऋषिका साथै उनकी क्यानाडामा बस्ने सासुको पनि लगानी रहेको छ ।
अनुरागको पहिलो गीत यूट्यूवमा रिलिज भइसकेको छ ।

‘कान्छादाई गाना बजाइदेउन…’ बोलको डान्सिङ गीतमा एलिजा हट अवतारमा देखिन्छिन् । यस्तो लाग्दैन कि उनी दुई बच्चाकी आमा हुन् । उनलाई कार्टुन्ज क्रुका सरोज अधिकारीले साथ दिएका छन् । गीतले अहिलेसम्म १३ लाख भ्यूज पाएको छ । गीतको मेलोडी रुचाइएको छ भने सरोजको डान्सको धेरैले प्रशंसा गरेका छन् । एलिजालाई भने मिश्रति प्रतिक्रिया आएको छ । केहीले उनको मिहिनेतको सह्राहना गरेका छन् भने धेरैले उनी हिरोइन बन्न योग्य नभएको टिप्पणी गरेका छन् ।
अरुले जे भने पनि ऋषि स्वयम् भने श्रीमतीको डान्स देखेर दंग छन् ।

‘एलिजाजीले जसरी डान्स देखाउनुभएको छ नी ?’ धमलाले अनलाइनखबरसँग भने, ‘आइ लाइक इट ।’ अरु हिरोइनहरुले छोटा लुगा लगाएको विषयमा ऋषिले आफ्नो कार्यक्रम धमलाको हमलामा र्‍याख्र्‍याख्ति पार्ने गरेका छन् । आफ्नै श्रीमतीको छोटा लुगामा के भन्दा हुन् ?

‘पहिरन अलिकति छोटो त भएको नै हो, र हामीबीच यस विषयमा कुराकानी पनि भएको थियो । तर, उहाँले कथाले नै मागे अनुसार यस्तो लुगा लगाउनु परेको भन्नुभएको छ । त्यसैले मेरो कम्प्लेन छैन,’ ऋषिले जवाफ दिए ।

कथाले माग्यो भने भोली बेड सिन गर्न पनि स्वीकृति दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले क्लियर जवाफ दिएनन् । ऋषिलाई अर्कोर् प्रश्न सोधियो, ‘आफ्नी श्रीमतीलाई अर्कैले अंगालोमा बेरेर नचाएको देख्दा तपाईंलाई औडाहा भएन ?’

उनले हाँस्दै जवाफ दिए, ‘यो सिनेमा जगत्को कुरा हो, वास्तविक जीवनमा त उहाँलाई मबाट कसैले खोसेर लानै सक्दैन नी ।’ ऋषिका अनुसार यो फिल्म सुटिङ सुरु हुँदा एलिजाले दोस्रो बच्चा पाएको तीन महिना मात्र भएको थियो ।

‘बच्चा नपाउँदै फिल्म खेलाएको भए हुन्थ्यो नी, किन यति ढिला ?’ उनलाई सोधियो । जवाफ दिए, ‘फिल्म खेल्ने भनेर हामीबीच पहिलेदेखि नै सल्लाह भएको हो । तर के-कसो गर्दागर्दै दुईवटा बच्चा जन्मिहाले ।’

अन्त्यमा उनले आफ्नी श्रीमतीको फिगरको खुलेर प्रशंसा गरे । ‘भर्खर सुत्केरी भएका महिलाहरुको शरीर कस्तो हुन्छ ? तर, उहाँले आफ्नो शरीरलाई बडो जतन गरेर राख्नुभएको छ । उहाँको फिगर भर्खरका नायिकाको भन्दा कम छैन ।’

उनले नेपाली चलचित्रमा आफ्नी पत्नीको भविष्य निकै उज्ववल देखेका छन् । भन्छन्, ‘उहाँमा जुन किसिमको आत्मविश्वास छ नी, त्यो चानचुने महिलामा हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment