Comments Add Comment

अस्पतालभित्र फोहोरै फोहोेर, एक अर्कालाई आरोप

४ चैत, सप्तरी । पहिला सगरमाथा अञ्चल अस्पताल । पछि अस्पतालको अगाडि मधेशका नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको नाम जोडिएपछि अहिलेको गजेन्द्रनारायण सिंह अस्पताल । अस्पतालको नाममा केही परिवर्तन त भयो तर अवस्था भने पहिलाको जस्तै रहेको छ ।

चिकित्सक र उपकरण चलाउने प्राविधिकको अभाव खेपिरहेको अस्पतालमा समस्या एउटा मात्रै होइन, अत्यधिक छ । समस्या मध्येकै एउटा हो फोहोर । वर्षौंदेखि प्रयास गरिए पनि अस्पताल सफा र स्वच्छ बन्न सकेको छैन् ।

सरसफाइको अभियान चलाउने सप्तरी युथदेखि राजविराज नगरपालिकाले समेत अस्पताललाई सफा बनाउने प्रयास गरिएपनि सार्थक बन्न सकेको छैन् ।

अस्पताल प्रवेश गर्ने मुख्य गेटदेखि हरेक ठाउँमा फोहोर रहेको छ । आकस्मिक कक्षको शौचालय त दुर्गन्धका कारण बिरामी र उसका कुरुवाहरुलाई प्रयोग गर्न समस्या भइरहेको छ । बाँकी शौचालयको हाल पनि त्यस्तै छ । जताततै फोहोर देखिन्छ अस्पतालमा ।

सफाइ गर्ने काम मेरो हो ?: मेसु

‘अस्पतालको मुख्य गेट छिर्ने झ्यालमा अत्यधिक फोहोर छ । यहाँको फोहोर सफा गराउँदा हुन्थ्यो नि ?’ प्रश्नको उत्तरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. दयाशंकर लाल कर्णले प्रति प्रश्न गरे, ‘सफा गर्ने काम मेरो हो ?’

अस्पतालको फोहोरको विषयमा वर्षौंदेखि आलोचना खेप्दै आएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको वर्तमान मेडिकल सुपरिटेन्डेन्ट कर्णको यो अभिव्यक्तिले दुई वटा कुरा छर्लङ्ग बनाउँछ ।

एक, उनलाई सरसफाइ कर्मचारीले टेरिरहेका छैनन् । अर्काे उनले काम गराउन सकिरहेका छैनन् ।

विगतका मेसुहरुको भनाइलाई मान्ने हो भने कर्मचारीहरुले नटेरेको प्रतिक्रिया दिन्थे । तर, वर्तमान मेसु कर्णले पनि कर्मचारीले नटेरेको अभिव्यक्ति दिएका छन् ।

अस्पताल जस्तो क्षेत्रमा सरसफाइलाइ लिएर गम्भीर हुनुपर्ने, कर्मचारीले नटेरेमा कारबाही गर्नुपर्ने, सफाइको विकल्प खोज्नुपर्नेमा मेसुले आफ्नो जिम्मेवारी नभएको भन्नु पदीय दायित्वलाई नबुझ्नु देखिन्छ ।

सबै पन्छिदै, आरोपजति मेसुकै थाप्लोमा

कुनै पनि कार्यालयको कामकाज अगाडि बढाउन र समस्या सुल्झाउने मुख्य दायित्व कार्यालय प्रमुखकै हुन्छ । तर, उनलाई सबैले सहयोग गर्नुपर्ने हुन्छ ।

अस्पताल राजविराज नगरपालिकाभित्र पर्दछ । नगरपालिकाका प्रमुख, उप-प्रमुखदेखि वडाअध्यक्षहरुले सफाइ गर्ने काम मेसुकै रहेकोमा जोड दिन्छन् । उनीहरु भन्छन्, ‘पटक-पटक सफाई गर्न भन्छु, तर कसैले टेरिरहेका छैनन् ।’

‘राजविराज वडा नम्बर ४ रहेको अस्पतालमा किन यत्रो फोहोर ?’ वडा अध्यक्ष अख्तर अली भन्छन्, ‘बारम्बार मेसुलाई सफाई गर्न भनेको छु । तर टेरिरहेका छैनन् ।’

उनको भनाइमा सेना, प्रहरी लगाएर पनि असपतालमा पूर्ण रुपमा सफाइ गरिएको छ । तर, अवस्था त्यस्तै छ ।

नजिकैको वडा ५ का अध्यक्ष समीर झा फोहोर सफा गर्ने वा गराउने काम मेसुकै रहेको बताउँछन् ।

राजविराज नगरपालिकका मेयर शम्भु यादव पनि त्यस्तै भन्छन् । सफा गराउने मुख्य दायित्व मेसुकै हो । उनले आफूले कसरी सफा गर्नु भन्ने अभिव्यक्ति दिनु पदीय दायित्व बिहीन रहेको यादवको भनाइ छ ।

मेयर यादवले मेसु कर्ण आए देखी नै अस्पतालको अवस्था झन खराब बन्दै गएको आरोप समेत लगाए ।

उपमेयर साधना झा अस्पतालको नेतृत्व मेसुले नै गर्ने भएकोले सरसफाइ गराउने कामको निगरानी मेसुको काँधमा रहेको बताउँछिन् । अस्पतालको सरसफाइ प्रति आफूहरु समेत असन्तुष्ट रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment