Comments Add Comment

सचिवज्युको घरमा मन्त्रीज्युको डेरा !

करेसाको तरकारी सेयर गर्छन् कृषिमन्त्री र सचिव

४ चैत, काठमाडौं । मन्त्रालयका सचिवकै निजी घरमा डेरा गरी बस्ने व्यक्ति नै मन्त्री बन्नु रोचक घटना त हो नै, घरवाला सचिव जुन मन्त्रालयमा कार्यरत छन्, डेरावाल व्यक्ति पनि सोही मन्त्रालयको ‘लाइन मिनिस्टर’ बनेपछि घरवालाले अब डेरावाललाई दिनहुँ नमस्कार गर्नुपर्ने भएको छ ।

माओवादीको कोटाबाट कृषि मन्त्री बनेका चक्रपाणि खनाल (बलदेव) सँग यस्तो नौलो संयोग जुरेको हो । उनी कृषि मन्त्रालयका सचिवका घरमा डेरा बस्दै आएका बेला फ्याट्टै मन्त्री बनेका हुन् । खनाल वनस्थलीस्थित ढुंगेधारा नजिकै कृषि मन्त्रालयका सचिव सुरोज पोखरेलको घरमा डेरा गरेर बस्छन् ।

माओवादी पूर्वडेपुटी कमाण्डर खनाल माओवादी अध्यक्ष प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । कांग्रेससँग भएको पूर्वसहमति अनुसार प्रचण्डले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेपछि खनालले बैशाखदेखि कृषि सचिव पोखरेलको घरमा डेरा लिएर बस्न थालेका हुन् । खनालले करिब २० हजार रुपैयाँ भाडा तिर्दै आएका छन् ।

‘बलदेव सर ग्राउन्ड फ्लोरभन्दा माथिको पहिलो तलामा बस्नुहुन्छ । सचिव सुरोज सर हामीभन्दा माथिल्लो तलामा बस्नुहुन्छ,’ मन्त्री खनालको सचिवालयका एक सदस्य दीपक चुँदालीले अनलाइनखबरसँग भने ।

चुँदालीका अनुसार मन्त्री खनाल र सचिव पोखरेलबीच हार्दिकताको सम्बन्ध छ । काम कसरी प्रभावकारी बनाउने भनेर पनि उनीहरुबीच बेला-बेला छलफल हुन्छ ।

एउटै करेसाबारीको तरकारी बाँडीचुँडी

पोखरेलको परिवारले घर अगाडि करेसाबारीमा तरकारी खेती गरेको छ । फुर्सदका बेला त्यहाँ काम गर्न खनाल आफैं पुग्छन् र बाँडीचुँडी तरकारी टिपेर खान्छन् ।

‘एउटै बारीको सागसब्जी, धनियाँ खाने गर्छौं,’ चुँदालीले भने, ‘घरबेटीसँग सम्बन्ध राम्रो छ । कहिलेकाहिँ बलदेव सर आफै करेसाबारीमा काम गर्न पनि जानुहुन्छ ।’

पूरै फ्ल्याट भाडामा लिएर बसेका खनालसँग चुँदाली र उनका गाडी चालक मात्र बस्छन् । कहिलेकाहीँ बुटवलबाट उनकी श्रीमती आउँछिन् ।

अब भने मन्त्री खनाल सरकारी क्वाटरमा सर्ने तयारीमा छन् । सरकारी क्वाटरमा सरेपछि डेरा छाड्ने कि राख्ने भन्ने टुंगो लागेको छैन । ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म चल्ने भनिएकाले पार्टीले फिर्ता नबोलाएसम्म सम्भवतः हालका मन्त्रीहरु पनि त्यति नै समय सरकारमा रहन्छन् र सरकारी आवास प्रयोग गर्छन् । त्यसैले लामो समयसम्म डेरालाई कायमै राख्ने कि खाली गराउने भन्ने टुंगो लागिसकेको छैन ।

‘क्वाटरमा सर्ने प्रक्रिया अगाडि बढेको छ । तर, कहिले सर्ने टुंगो लागेको छैन,’ खनालको सचिवालयका सदस्य चुँदालीले भने, ‘डेरा छाड्ने कि राख्ने भन्ने निर्णय लिन बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment