Comments Add Comment

कतार र उत्तरकोरियाका राजदूतले सभामुख महरालाई भेटे

४ चैत, काठमाडौं । नेपालका लागि कतार र उत्तरकोरियाका राजदूतले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेका छन् ।

कतारका राजदूत युसुफ बिन मोहम्मद अल र उत्तर कोरियाका राजदूत किम योङ हकले सभामुखको कार्यकक्षमा पुगेर छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

सभामुख महराले दुवै राजदूतहरुसँगको भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रूप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताए ।

भेटघाटका क्रममा दुवै देशका राजदूतले सभामुख पदमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गरेका थिए ।

सभामुखसँगको भेटमा कतारका राजदूत युसुफ बिन मोहम्मद अलले नेपाल र कतारको सम्बन्ध राम्रो रहेको भन्दै आगामी दिनमा अझै सम्बन्ध बिस्तार गरेर लैजाने बताए ।

सभामुख महराले कतारमा अहिले आठ लाख बढी नेपाली कामदारहरु रहेको भन्दै उनीहरुको रोजगारीको सुनिश्चिता र सुरक्षाका बारेमा चासो व्यक्त गरेका थिए ।

सभामुख महराले उत्तर कोरियाका राजदूतसँगको भेटमा प्रजातान्त्रिक कोरिया र नेपालको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताए ।

पछिल्लो समय बार्ताका माध्यमबाट दक्षिण कोरियासँगको सम्बन्ध सुध्रिँदै गएकोमा खुसी व्यक्त गर्दै सभामुख महराले शान्तिका लागि भइरहेको प्रयास सफल हुनेमा विश्वास व्यक्त गरे ।

सो अवसरमा उत्तर कोरियाका राजदूतले सभामुखमा निर्वाचित भएकोमा बधाई व्यक्त गर्दै उत्तर कोरियाको सुप्रिम एसेम्बलीका अध्यक्षको पनि बधाई सन्देश सुनाएका थिए ।

साथै उनले शान्तिका लागि उत्तरकोरियाले स्वतन्त्रता र अधिकारको ग्यारेन्टीसहित बाहृय हस्तक्षेपबीच दुई कोरियाको एकीकरण चाहेको बताए ।

भेटवार्ताको अवसरमा राजदूतले सभामुख महरालाई उत्तरकोरिया भ्रमणका लागि आग्रह गरेका थिए ।

जवाफमा सभामुख महराले आफू ९ वर्षअघि सञ्चारमन्त्री हुँदा प्योङयाङ पुगेको स्मरण गर्दै फेरि पनि उत्तर कोरियाको भ्रमण गर्न इच्छुक रहेको र अनुकूलता हेरेर सभामुखको कार्यकालमै प्योङयाङ पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment