Comments Add Comment

कृसुको चराको गीत : सुनको पिँजडामा पनि उन्मुक्तिको चिरबिर

नेपालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक फेमका कवि हुन् कृसु क्षेत्री। नेपाली कविताको फाँटमा यो आफैमा एक मानक हो। यद्धपि, यो फेमका धेरै कविहरू नेपाली कविताको फाँटबाट हराएका छन्। कवि कृसु भने त्यो फेमको गरीमा बचाउँदै एक शिद्धहस्त कविका रूपमा स्थापित छन्।

उनै कवि कृशुको पछिल्लो कृति चराको गीत अिहले नेपाली वाङ्मयको बजारमा आएको छ। नेपालको एक गरिमामय प्रकाशन साझा प्रकाशनबाट प्रकाशित चराको गीतमा कविले जीवनका विभिन्न कालखण्डमा लेखेका केही पुराना चर्चित र केही नयाँ कविता गरेर ४२ कविता संगृहित छन्।

स्थान र समय जोडेर बन्ने सन्दर्भमा खह्रो उत्रिएर लेखिएका कवितामा कृसुले विम्ब, प्रतिक र मिथकको अधिकतम् प्रयोग गरेका छन्। कवितामा व्याख्या नरूचाउने र पाठकलाई त्यसको लागि ठाउँ दिनुपर्छ भन्ने मान्यताका कवि कृसुको त्यो शैलिगत कुँजी यो संग्रहमा पनि जबर्जस्त रूपमा देखिन्छ।

कृसु मूलत: दुई आयाममा बाँचेका छन्। एक सर्जक, अर्को कूटनीतिज्ञ। पेशाले उनी नेपालको परराष्ट्र मन्त्रालयका अधिकृत हुन्। उनको पेशामा कूटनीति चाहिन्छ। यसको अर्थ धेरै हदसम्म नबोली या कम बोलेर नै काम तमाम गर्नुपर्ने हुन्छ। तर, यथार्थमा उनी त्योभन्दा पृथक एक भाेकल सर्जकको अायाममा धेरै बाँचेका छन्। त्यही बाँच्ने क्रममा बिम्ब, प्रतीक र मिथकमा खेल्दाखेल्दै यदाकदा उनी जबर्जस्त रूपमा आङ नै सिरिङ्ग हुने गरी पनि प्रस्तुत भएका छन् ।

साबधान दुबसु !
म मेरो पहिचान खोज्न हिडेको छु
याद गर दुबसु !
अब चाँडै हत्या हुनसक्छ

हत्यारा हुनेछु म
अर्थात् दुबसुको भाइ ।
(पहिचानको खोजी)

दाइ दुबसु क्षेत्रीको भाइ हुँदा गुमेको आफ्नो स्वपहिचानको खोजीमा उनी यति डरलाग्दो किसिमले प्रस्तुत भएका छन्।
त्यस्तै उनले …र अन्त्यमा अाफूलाई एक्काइसौ शताब्दीको इसुकै रूपमा आफूलाई प्रस्तुत गर्दै लेखेका छन्-

आगोमाथि नाच्छ हरदम
तरवारको धारमा टेक्छ हरपल
क्रसमा टाँगिन तयार
एक्काइसौ शताब्दीको इसु
कवि कृसु ।
(…र अन्त्यमा)

चराको गीतमार्फत कवि कृसुले जसरी चराले पिंजडामा पनि स्वतन्त्रताको गीत गाउँन छाड्दैन, त्यसरी नै अाफूले पनि स्वतन्त्रताको अक्षर पस्कन नछोड्ने सचेत र स्वाधिन घोषणा गरेका छन्।

भाषाविद् पारसमणि प्रधानले कविताको सन्दर्भमा भनेका छन्-

शव्द थुपारी के हुन्छ ? भाव भए पो हुन्छ । कवि कृसु क्षेत्रीका कवितामा शव्दको भकारी हैन भावको विस्कुन हुन्छ । आफ्ना पछिल्ला कविताहरूमाझै यस कृतिका कवितामा पनि उनले त्यही भावको बिस्कुन सुकाएका छन्।

चराको गीत कविताको प्रकाशकीयमा डोलिन्द्रप्रसाद शर्माले लेखेका छन्- ‘चराको गीत संग्रह स्वतन्त्रता, स्वाभिमान, सहजता अनि मानवीयताको एउटा दस्तावेज हो।’ कृतिका हरेक कविताहरू पढ्दा यसमा असहमति हुने ठाउँ देखिदैन।

कृतिमा ‘चराको गीतका कवितामा कृसुको कवित्व’ शीर्षकमा २० पृष्ठ लामो शोधपत्र नै छ भने पनि हुन्छ। त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमको यो भूमिका आफैमा एक गहन प्रयोग हो।

पाठकका लागि यो कति उपयोगी होला, यसमा वहस गर्न सकिएला तर समीक्षकका लागि भने यो एक महत्वपूर्ण पाठ हुन सक्छ।

कवि कृसु भने धेरै बोलेका छैनन्। उनले मात्र केही पंक्तिमा समर्पण लेखेर स्वतन्त्राप्रतिको आफ्नो सम्झौताविहीन अटल विश्वास पोखेका छन्- ‘सुनको पिँजडामा पनि उन्मुक्तिको गीत गाइरहने चरामा।’ यसबाट उनको स्वतन्त्रता र उन्मुक्तिप्रतिको विश्वास र समर्पण देखिन्छ।

सारमा कृसुको चराको गीत कविताका पाठकहरूका लागि एक पठनीय कृति हो।पछिल्लो समय लोकप्रियताका लागि स्मार्टफोनमा लेखेर फेसबुके लाइभमा पढिने कविताका कारण कतिपयलाई कविताको बेन्चमार्क नै त्यही लागेको हुन सक्छ। तर, चराको गीतले कविता त्यो हर्कतभन्दा धेरै माथिको वाङ्मय हो भने झड्का दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment