Comments Add Comment

प्रधानमन्त्रीको टिप्स : साहेब साहेबनी युगको अन्त भयो ! आसेपासेबाट जोगिनुस् !

४ चैत, काठमाडौं । मन्त्रिपरिषद विस्तारको काम लगभग सिध्याउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सबै मन्त्रीहरु र सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर ‘कडा’ निर्देशन दिएका छन् ।

यो सरकारलाई असफल हुने छुट छैन भन्ने पटक-पटक दोहोर्‍याउँदै आएका प्रधानमन्त्री ओलीले मन्त्री, कर्मचारी र सुरक्षा निकायका अधिकारीहरुलाई समेत एकैठाउँमा राखेर केही निर्देशन अनि केही सुझावहरु दिएका हुन् ।

प्रधानमन्त्री ओली भ्रष्टाचारका सन्दर्भमा निकै कडा रुपमा प्रस्तुतमात्रै भएनन्, विकासको पुतलीसडक मोडलदेखि ‘साहेब साहेबनी’ बाट मन्त्रालय चलाउने युगको समेत अन्त्य भएको घोषणा गरे ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सबै मन्त्री, मुख्य सचिव, सचिव र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै ओलीले कतिपय सन्दर्भहरु लाक्षणिक रुपमा र कतिपय सिधा भाषामा व्यक्त गरे ।

प्रधानमन्त्री भ्रष्टाचार, ढिलासुस्तीप्रति कडारुपमा प्रस्तुत भएको र मन्त्री तथा कर्मचारी संयन्त्रले विकास एवं सुशासनका सन्दर्भमा दिशानिर्देशसमेत प्राप्त गरेको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्रीको निर्देशन सुनेपछि मन्त्री र सचिवहरुले कार्यशैलीका सन्दर्भमा पनि पुनरावलोकन गर्नुपर्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको प्रस्तुतिले अहिलेको सरकारमा रहेकाहरुलाई काममा परिणाम निकाल्न दबाव बढेको एक मन्त्रालयका सचिवले बताए ।

प्रधानमन्त्रीले ३५ प्रतिशतमात्र काम हुनु भनेको केही पनि काम नभएको भन्ने बुझिने भनेपछि सचिवहरु दबावमा परेका हुन् ।

मन्त्रीहरुलाई सुझाव-नातागोता र आसेपासेबाट जोगिनुस्

प्रधानमन्त्रीले मन्त्री, सचिव र सुरक्षा अधिकारीहरुलाई लक्षित गर्दै फरक-फरक टिप्स र कटाक्षसमेत गरेका छन् ।

उनले मन्त्रीहरुलाई नातागोता, आसेपासे र चलखेलवालाबाट जोगिन सुझाव दिएका छन् । त्यस्तै कर्मचारीलाई सेवाग्राहीसँग आँखा जुधाएर घुस नखाने सपथ खानसमेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका टिप्स यस्ता थिएः

-पहिले-पहिले मन्त्रीले मन्त्रालय चलाउने होइन, साहेब वा साहेबनीले चलाउँछन् भन्ने सुनिन्थ्यो । ठेक्कापट्टा र कमाइ धमाइका काममा मन्त्री र परिवार सक्रिय हुने गरेका छन् । तर, अब तपाईहरु बुझ्नुस, त्यो युग सकियो । सबैजना निगरानीमा हुनुहुन्छ । मरेर जाँदा केही लान पाइन्न, यति कुरा ख्याल गर्नुस् ।

-यो सरकारलाई असफल हुने छुट छैन । कुनै बहानाबाजी चल्दैन । निम्छरा कार्यक्रम होइन, महत्वांकाक्षी योजना बनाउनुस्. । तर, सम्भव हुने कार्यक्रममात्र । अब समयको सदुपयोगको सिद्धान्त अपनाइनेछ । देश छिटो बनाउने, गरिवीबाट मुक्त गरेर देशलाई धनी बनाउने मौका तपाई हामीले पाएका छौं । यस्तो भाग्यमानी सरकारमा सहभागी हुन पाउनु गर्वको कुरा हो ।

– भ्रष्टाचार एक्लै हुँदैन । मातहतका मान्छेसँग नगिर्नुस, किनकि इमान भन्ने कुरा एकपटक गएपछि आउँदैन । तलदेखि नमिली एक्लै कसैले भ्रष्टाचार गर्न सक्दैन, मनमनै गर्ने मात्र हो । मुख्य कुरा नातागोता, परिवार र चलखेल गर्नेहरुबाट जोगिनुस् ।

सचिवहरुलाई निर्देशनः सरुवा बढुवामा पेट्रोल खर्च नगर्नुस्

प्रधानमन्त्री ओली कर्मचारीतन्त्रप्रति पनि कडा रुपमा प्रस्तुत भएका छन् । भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता कर्मचारीकै कारण हुने गरेको संकेत उनको थियो ।

उनले कर्मचारीतन्त्रबारे यसो भने-

-तपाईहरु मन्त्रालय वा कार्यालय जानासाथ काम गर्नुभन्दा अघि सेवाग्राहीसँग आँखा जुधाएर सपथ खाने कानुन नै बनाइदिउँ कि ? सेवाग्राही काम लिएर आएपछि ‘म घुस नखाई, समयभित्रै जनताको काम गर्नेछु’ भन्ने व्यहोराको सपथ लिने कानुन नै बनाइदिउँ कि ? यसबाट बुझ्नुस् कि भ्रष्टाचारमा जिरो टलरेन्स हुन्छ ।

– यो सरकार यसअघिको जस्तो होइन भन्ने बुझ्नुस । सरकार सुझाव मान्छ, तर दबाब मान्दैन । टार्गेट राखेर काम गर्नुस् । ३५ प्रतिशत काम भयो भने बुझ्नुस् कि केही काम भएन । अब कहीँ पनि सिण्डिकेट चल्दैन ।

– नेतालाई भनेर, सांसदहरु लिएर भनसुन गर्ने प्रवृत्ति बन्द गर्नुस । अब कसैको भनसुनमा सरुवा, बढुवाजस्ता काम हुने छैनन् । जसले भनसुन गराउँछ, उसको नम्बर माइनस हुनेछ । सरुवा बढुवाका लागि पेट्रोल खर्च नगर्नुस् । परिस्थिति बिल्कुल बदलिएको छ भन्ने कुरा बुझन्स है Û

– विकासमा पुतलीसडक मोडलको युग अब अन्त भयो भन्ने कुरालाई ख्याल गर्नुस् । पुतली सडक मोडल भनेको असार १ गतेतिर योजना बन्छ, असार १२ सम्म पीच हुन्छ र १५ गतेपछि उप्किन थाल्छ । असार मसान्तसम्म पुतलीसडकको पिच पुरै भत्किसक्छ । हरेक आर्थिक वर्षमा पुतलीसडकको पीचमा बजेट छुट्याइन्छ । सायद यसपालि चाहिँ छैन कि ?

सुरक्षा निकायलाई निर्देशनः हिंसा र पृथकतावाद अस्वीकार्य

प्रधानमन्त्री ओलीले सुरक्षा निकायका लागि पनि केही टिप्स दिए ।

सरुवा-बढुवाका लागि पेट्रोल खर्च नगर्नुस भनेर उनले आइजीपी बन्न नेता र सांसदहरुमार्फत भनसुन गराइरहेका डीआइजीहरुलाई सचेत गराए । त्यसका साथै सिके राउतदेखि विप्लवसम्मका समूहप्रति पनि नजर राख्ने बताए ।

उनले भने- कानुन उल्लंघन गर्न विल्कुल दिइन्न । स्थायित्व र शान्ति सुरक्षामा खलल पार्ने कुनै पनि गतिविधि स्वीकार्य हुन्नन् । सबैखाले साम्प्रदायिकता, पृथकतावादी गतिविधि, हिंसा र कानुन विपरीतका क्रियाकलापसँग सम्झौता हुँदैन । यस्ता सबैलाई कानुनको दायरमा ल्याउनुस् ।

अर्थशास्त्री लोभी हुन्छन् !

आफूले राजनीतिक नेतालाई अर्थमन्त्री नबनाई डा. युवराज खतिवडालाई अर्थको जिम्मा दिएकोमा विभिन्न टिप्पणी भइरहेका बेला प्रधानमन्त्रीले खतिवडालाई अर्थमन्त्री बनाउनुको राज पनि खोले ।

प्रधानमन्त्री ओलीले भने- अर्थशास्त्री लोभी हुन्छन्, त्यसैले अर्थशास्त्रीलाई अर्थमन्त्री बनाएको हो । नेता भनेको धेरैका कुरा सुन्छन्, कसैलाई पनि हुन्न भन्न सक्दैनन् । देशको अर्थतन्त्र जोगाउनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment