Comments Add Comment

टेस्ट अफ हार्मोनीबाट पोखरा घन्काउँदै गायिका

पोखरेली गायिकाको हार्मोनी द मोर्डन सङ स्टेसेस

पोखरा । पोखराका सुगम संगीतमा क्रियाशील महिलाहरुले खालेको संस्था छ, ‘हार्मोनी द मोर्डन सङ स्टेसेस अफ पोखरा’ । यो संस्थाले सुगम संगीत गाइरहेका महिलालाई संगठित गर्ने काम गर्दै आएको छ । २ वर्षअघि खुलेको यो संस्थाले सुगम संगीतको क्षेत्रमा लागेका महिलाहरुको अनुभव साट्ने र क्षमता विकास तथा आफ्ना लागि मञ्च आफैं निर्माण गर्ने गरेको छ ।

‘जसरी सुगम संगीतका गायकहरु बाहिर आएका हुन्छन्, मञ्च प्राप्त गरेका हुन्छन्, त्यसरी गायिकाहरुले चिनिन र मञ्च पाउन सकिरहेका छैनन्, हार्मोनीकी अध्यक्ष इतु जोजिजू भन्छिन्, ‘हाम्रा लागि हामी आफैं मञ्च निर्माण गर्नुपर्छ भनेर संस्था स्थापना गरेका हौं ।’ नेपाली सुगम क्षेत्रमा क्रियाशील पोखराका गायिकाहरुको यो संस्थाले नयाँ पुस्ता र पुराना पुस्ताका गायिकालाई जोड्ने सेतुको काम पनि गर्दै आएको छ ।

‘सुगम संगीतमा लागेका हामी संगठित भएपछि धेरै कुरामा छलफल गर्छौं । अनुभव साट्छौं,’ संस्थाकी उपाध्यक्ष कौशल्या गुरुङले भनिन्, ‘पुरानाको सम्मान र नयाँको प्रोत्साहन गर्दै कसरी सुगम संगीतलाई माथि उठाउन सकिन्छ भनेर हामी लागिरहेका छौं ।’

जसरी लोमसंगीतमा लागेका महिलाहरुले मेलामहोत्सवमा अवसर पाउँछन्, त्यसरी सुगम संगीतमा लागेका महिलाले कम अवसर पाउने उनीहरुको भनाइ छ । ‘सुगम संगीत मन पराइन्छ तर महिलाले मञ्च कम पाउँछन्,’ अध्यक्ष जोजिजूले भनिन्, ‘क्वालिटी नबढाइकन र ननिखारिइकन अवसर पाइँदैन भनेर हामी सचेत छौं र नयाँ पुस्तालाई त्यही अनुरुप प्रशिक्षित गरिरहेका छौं ।’

सुगम संगीत सम्बन्धी स्टुडियो प्राय काठमाडौंमै छन् र गायिकाहरु पनि बढी काठमाडौं केन्दि्रत नै भएको अवस्थामा मोसफलबाट उठ्न बढी संघर्ष गर्नुपर्ने उनीहरुको अनुभव छ । देश प्रादेशिक संरचनामा गइसकेको अवस्थामा अब त्यही अनुरुपमा सुगम संगीतको नेतृत्व गर्न लाग्ने बेला आएको यी महिला गायिकाहरु बताउँछन् ।

हार्मोनीमा सुगम संगीतमा गीत गाइरहेका, चलेकादेखि नयाँ पुस्तासम्मका १५ जना गायिका यसमा आवद्ध छन् ।

टेस्ट अफ हार्मोनीबाट पोखरा घन्काउँदै

संस्थाको परिकल्पना र मर्मअनुसार गएको वर्ष लेजेन्डरी हार्मोनी इभिनिङ गरेको यो संस्थाले यसपटक भने टेस्ट अफ हार्मोनी नाम दिएर पोखरा घन्काउँदै छ । लेजेन्डरी हार्मोनी इभिनिङमार्फत पुराना पुस्ताका लायिकालाई सम्मान र विशेष सांगीतिक कार्यक्रम गरेको हार्मोनी द मोर्डन सङ स्टेसेस अफ पोखराले यसपटक पनि सम्मान र नयाँ पुराना सुगम संगीत पस्कँदैछन् ।

पोखरा सभागृहमा चैत १० गते टेस्ट अफ हार्मोनी हुन लागेको हो । यसपटक नेपाली चलचित्रमा पहिलो संगीत भर्ने शान्ति ठटाललाई हार्मोनीले पोखरेली मञ्चमा उभ्याएर सम्मान गर्दैछ । नेपाली चलचित्र तथा सुगम संगीतमा उचाइ प्राप्त गरेकी प्रशिद्ध गायिका ठटालसँगै लोकगायिका हरिदेवी कोइराला र गीतकार उषा शेरचनलाई यसपटक हार्मोनीले सम्मान गर्दैछ ।

टेस्ट अफ हार्मोनीमा संस्थाकै गायिकाहरुले नयाँ पुराना गीत गाउने छन् । इतु जोजिजु, कौशल्या गुरुङ, बबी सुनार, अजुदा थापा, रुबी गौली, शितल थापा, मितु पल सिंह, रजनी रिदम राई, मालती गुरुङ, प्राप्ती तुलाचन, आँचल लामा, रितु लामा र मुस्कान रानाभाटले सुगम संगीतका चर्चित र सदाबहार गीत संगीत पारखीमाझ पस्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment