Comments Add Comment

मोदीमुक्त भारत बनाउने भन्दै राज ठाकरेले थाले अभियान

५ चैत, काठमाडौं । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)का प्रमुख राज ठाकरेले ‘मोदीमुक्त भारत’ बनाउने भन्दै अभियान सुरु गरेका छन ।

मुम्बईको शिवाजी पार्कमा आयोजित एक र्‍यालीलाई सम्वोधन गर्दै ठाकरेले तेस्रो स्वतन्त्रताको लागि तयार रहन भने । उनले सन् २०१९ भित्र ‘मोदी मुक्त भारत’ बनाउन सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘भारतलाई पहिलो स्वतन्त्रता १९४७ मा, दोस्रो पटक १९७७ मा मिल्यो र २०१९ मा मोदी मुक्त बनाएर भारतलाई तेस्रोपटक स्वतन्त्रता मिल्न सक्छ ।’

उत्तर प्रदेशको उपचुनावमा मोदीको पार्टी भाजपाले नराम्रो पराजय व्यहोरेको र सन् २०१९ मा हुने लोकसभा चुनावबाट मोदीलाई सत्ताच्युत गर्नका लागि विपक्षी पार्टीहरु एकजुट हुने चर्चा चलिरहेको बेला ठाकरेको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

ठाकरेले भने, ‘देश नरेन्द्र मोदी र उनको सरकारको झूठा आश्वासनबाट आजित भइसकेको छ ।’

यस्तो अवस्थामा केही तत्वले भारतभर दंगा भड्काउने प्रयास गरिरहेको भन्दै सचेत रहन ठाकरेले आह्वान पनि गरे ।

ठाकरेको ‘मोदी मुक्त भारत’को नाराले यसअघि भाजपाले सारेको ‘कांग्रेस मुक्त भारत’ नारालाई सम्झाइ दिएको छ ।

मोदीलाई सत्ताबाट हटाएर नोटबन्दी सम्बन्धमा अनुसन्धान गर्ने हो भने सन् १९४७ पछिको सबैभन्दा ठूलो घोटाला भएको तथ्य पत्ता लाग्नसक्ने ठाकरेले बताए ।

ठाकरेले अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ हालै महाराष्ट्र सरकारले गरेको अन्त्येष्टिको विषयमा पनि प्रश्न उठाए । उनले भने, ‘श्रीदेवी एक शानदार अभिनेत्री थिइन् । तर देशका लागि उनले त्यस्तो के गरेकी थिइन् र उनको शवलाई राष्ट्रिय झण्डा ओढाउनु पर्‍यो ।’

ठाकरेले निरव मोदी, पन्जाब नेशनल बैंक घोटालाबाट ध्यान मोड्न श्रीदेवीलाई धेरै महत्व दिएर अन्त्येष्टि गरेको दावीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment