Comments Add Comment

सेनाका ‘विद्रोही’ झलकुमारको रिट खारेज

नेपाली सेनाको पोशाक र हतियारसहित माओवादीमा प्रवेश गरेका झलकुमारलाई स्वागत गर्दै जनमुक्ति सेनाका एक कमाण्डर ।

५ चैत, काठमाडौं । जनयुद्धकालमा नेपाली सेनाबाट भागेर अत्याधुनिक हतियारसहित माओवादीमा प्रवेश गरेका झलकुमार भगतको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

तत्कालीन शाही सेनाको विष्णु दलबाट हतियारसहित भागेर माओवादीको तत्कालीन जनमुक्ति सेनामा प्रवेश गरेका झलकुमार करिब १० वर्षपछि अर्थात् ८ मंसिर २०७४ मा मोरङस्थित आफ्नै घरबाट पक्राउ परेका थिए । उनलाई सैनिक अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । भगत गत पुस दोस्रो सातादेखि केन्द्रीय कारागार जनगन्नाथदेवलमा सजायँ भुक्तान गरिरहेका छन् ।

झलकुमारका दाजु नन्दुलालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सो रिट उपर न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासमा आइतबार सुनवाइ भएको थियो । तर, रिटलाई सर्वोच्चले खारेज गरिदिएको छ ।

‘माओवादी नेतामाथि नैतिकताको प्रश्न उठ्यो’

बन्दीका तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, मुक्तिप्रधान, रमणकुमार श्रेष्ठ, तुलसी भट्ट, एकराज भण्डारी, कपिलचन्द्र पोखरेल, दीनमणि पोखरेल, डा. पुन्यप्रसाद खतिवडा, कान्तिराम ढुङ्गानालगायतले बहस गरेका थिए ।

रिट खारेज गर्ने सर्वोच्चको फैसलाले जनयुद्धमा सामेल भएका सबैलाई मुद्दा चलाउँदै थुनामा राख्ने बाटो खोलिदिएको भगतको पक्षमा वकालत गर्नेहरुले टिप्पणी गरेका छन् ।

अधिवक्ता एकराज भण्डारीले भने, ‘यो फैसलाले एकातिर २०१६ सालको राजा सर्वोच्च कमाण्डर भएको सैनिक ऐनलाई ब्युँत्याएको छ भने अर्कातिर बिस्तृत शान्ति सम्झौतासमेतलाई इन्कार गरेको छ । यसले सत्तारोहण गरेका प्रचण्ड, जनमुक्ति सेनाका उच्च तहमा रहेका पूर्वकमाण्डर र अहिलेका उपराष्ट्रपतिसमेतमा नैतिकताको प्रश्न उठाएको छ ।’

को हुन् झलकुमार भगत ?

८ साउन २०६२ मा तत्कालीन शाही नेपाली सेनाको विष्णु दल गुल्मबाट गलिल, इन्सास राइफल, त्यसमा लाग्ने म्यागेजिन र हृयाण्ड ग्रिनेटसहित झलकुमार तत्कालीन माओवादी जनमुक्ति सेनामा प्रवेश गरेका थिए ।

उनलाई २०७४ साल मंसिर ८ गते राति मोरङको सिद्राहस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई सेनाको पूर्वी पृतनाको जिम्मा लगाइएको थियो । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमा राखेर काठमाडौं ल्याएर भद्रकालीस्थित सैनिक प्रहरी गण भद्रकाली हिरासतमा राखिएको थियो ।

दाजु नन्दुलाल थारु भगतले सर्वोच्च अदालतमा बन्दि प्रत्यक्षीकरणको मुद्दा दायर गरेपछि दीपकराज कार्कीको एकल इजलासले बन्दीसहित ३ दिनभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको थियो । यसबीचमा नेपाली सेनाको समरी जनरल सैनिक अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि उनी २०७४ पुसदेखि केन्द्रीय कारागार जनगन्नाथदेवल सजायँ काटिरहेका छन् ।

भगतका ९ र ३ वर्षीय छोराहरु वृद्ध हजुरबुवासँग बस्दै आएका छन् भने श्रीमती वैदेशिक रोजगारीमा छिन् । ९ वर्षीय छोरा रक्त क्यान्सरबाट पीडित रहेको उनको पारिवारिक स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment